Comments Add Comment

च्याङ्ग्राको स्वादमा पल्किए काठमाडौंबासी

२६ असोज, काठमाडौं । नेपाल खाद्य संस्थानले काठमाडौंमा दशैंका लागि खसी-बोका र च्याङ्ग्राको बिक्री शुक्रबारदेखि सुरु गरेको छ ।

विहानैदेखि संस्थानको थापाथलीस्थित कार्यालयमा भिड लागेका उपभोक्ता आफ्नो गच्छे र रोजाइअनुसारका ‘शिकार’ खरिदका लागि मोलतोल गरिरहेका छन् ।

बजारभन्दा केही सस्तोमा पाइने भएकाले संस्थानका खसीबोका र च्याङ्ग्रामा उपभोक्ताको आकर्षण हुने गर्छ । यद्यपि, संस्थानले थोरै परिमाणमा मात्र बेच्ने भएकाले बजारको पुरै माग धान्न सक्ने अवस्था भने छैन ।

चाबहिलका सागर लुईंटेल बिहान ९ बजेतिर संस्थानबाट खसी घिस्याएर निस्किदै थिए । च्याङ्ग्राको मासु हिजो खाइसकेकाले खसी किन्न आएको उनले बताए ।

‘१३ हजार चानचुन पर्‍यो, बजारभन्दा किलोमा ४० रुपैयाँ सस्तो पर्दो रैछ’, उनले भने ।

ताहाचलका अमित भुसालले भने यसपालिको दशैंका लागि च्याङ्ग्रा रोजेका छन् । विगतका हरेक दशैंमा घरमा खसीबोका लग्ने गरेका उनले यसपाली हिमाली जिल्लाको च्याङ्ग्रा रोज्नुको कारण सुनाउँदै भने,- ‘खसीबोकाको मासु त सधैं खाइन्छ, यो चोटी हिमालको जडिबुटी खाएर हुर्किएको च्याङ्ग्रा पौष्टिक हुन्छ भनेर हो ।’

च्याङ्ग्रा डोर्‍याउँदै बाहिरिन लागेका चितवनका सुशील देवकोटाको तर्क पनि उस्तै छ । हिमालका च्याङ्ग्राको पौष्टिक र स्वादिलो हुन्छ भन्ने सुनेका छन् उनले पनि । उनले ३५ किलोको च्याङ्ग्रा किनेर लगे ।

खसी-बोकाभन्दा २ सय रुपैयाँ प्रतिकिलो महंगो भए पनि संस्थानको कार्यालयमा च्याङग्रा किन्ने धेरै भेटिए । शुक्रबार बिहान अनलाइनखबरकर्मी पुग्दा ३०-३५ वटा च्याङग्रा बिक्री भएकोमा १०-१२ वटा मात्र खसीबोका बिकेका थिए । तर पूर्ण विवरण भने साँझ मात्रै आउने संस्थानका प्रवक्ता शंकर सापकोटाले अनलाइनखबरलाई बताए ।

संस्थानले यस वर्षका लागि जिउँदो च्याङ्ग्रा प्रतिकिलो ७१० रुपैयाँ र खसीबोका प्रतिकिलो ५१० रुपैयाँ मूल्य तोकेको छ । जसमा संस्थानले १० रुपैयाँ छुट दिन्छ । यो मूल्य बजार भाउभन्दा ४० देखि ५० रुपैयाँ सस्तो भएको प्रवक्ता सापकोटाले बताए । उनका अनुसार पहिलो चरणमा ५ सय वटा च्याङ्ग्रा र २ सय ५० खसीबोका ल्याइएको छ ।

‘भोलिसम्म थप पाँच सय च्याङ्ग्रा र २ सय ५० खसीबोका आउने छन्,’ उनले भने । संस्थानले खसी-बोका हेटौंडाबाट र च्याङ्ग्रा मुस्ताङबाट ल्याएको हो ।

झ्यापुल्ले च्याङग्राको स्वादै गजब !

जीउभरी लामा-लामा झ्यापुल्ले भुत्ला हुने र हिमाली इलाकामा पाइने एक जातको बाख्रा हो च्याङ्ग्रा । दशैंको एक छाक भए पनि हिमाली च्याङ्ग्राको मासु खान चाहनेहरु बढिरहेका छन् ।

बेजोड ‘चोपिलो’ हुने भएकोले महँगो मूल्य तिरेर पनि च्याङ्ग्राको मासु खाने प्रचलन बढेको छ । दशैंमा च्याङ्ग्राको मासुसँग भात खाँदाको स्वाद नै बेग्लै हुने यसका उपभोक्ता सुनाउने गर्छन् । निजी व्यवसायीले मुस्ताङसहित डोल्पा, मुगु र तिब्बतबाट च्याङ्ग्रा ल्याउने गरेका छन् ।

तस्वीरहरू : शंकर गिरी/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment