News Summary
Generated by OK AI. Editorially reviewed.- यसपालि दशैंमा काठमाडौं उपत्यकामा ४० देखि ४२ हजार खसीबोका भित्रिने अनुमान गरिएको छ, जुन गत वर्षको भन्दा कम हो।
- सरकारी खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सडक अवरुद्ध र राजनीतिक अस्थिरता कारण दशैंमा खसीबोका बिक्री नगर्ने निर्णय गरेको छ।
- व्यावसायिक बाख्रापालक महासंघले अवैध खसीबोका आयात नियन्त्रण गर्न सक्रिय हुने र स्वस्थ मासु उपलब्ध गराउन निरीक्षण टोली बनाउने योजना बनाएको छ।
७ असोज, काठमाडौं । यसपालि दशैंमा काठमाडौं उपत्यकामा ४० देखि ४२ हजार खसीबोका भित्रिने भएको छ ।
नेपाल व्यावसायिक बाख्रापालक महासंघका अनुसार ६० हजार खसीबोका भित्र्याउने लक्ष्य भए पनि विविध कारण ४० देखि ४२ हजारको संख्यामा मात्रै ल्याउन सकिने अवस्था छ ।
महासंघ अध्यक्ष गोविन्द सुवेदीले सुरुमा ६० हजार खसीबोका भित्र्याउने योजना भए पनि बाटोको समस्या, मौसमी प्रतिकूलता र विभिन्न आन्दोलनका कारण लक्ष्य घटेको बताए ।
‘हामीले यसपालि उपत्यकामा व्यावसायिक बाख्रापालक महासंघ र सबै क्षेत्रबाट ६० हजार जति खसी भित्र्याउने भन्ने कुरा थियो,’ अध्यक्ष सुवेदीले अनलाइनखबरसँग भने, ‘तर, अहिले पहिरो गएर राजमार्ग बन्द, अनि बाख्रा ब्याउने सिजनको प्रभावले गर्दा र देशमा भएका आन्दोलनहरूले गर्दा खपतमा पनि अलिकति कमी आउँछ कि भन्ने छ ।’
गत वर्ष ५० देखि ५२ हजार खसीबोका काठमाडौं भित्र्याइएको थियो ।
राजमार्गहरूमा पहिरोका कारण सडक अवरुद्ध हुँदा खसीबोका ढुवानीमा ठूलो समस्या भएको सुवेदीको भनाइ छ । मुख्य राजमार्गहरूमा सवारीसाधन अलपत्र पर्दा ढुवानीका क्रममा खसीबोका मर्न सक्ने जोखिम पनि बढेको छ ।
‘अहिले किसानहरूले खसीबोका बिक्री गर्न ल्याउँदा अथवा व्यापारीलाई दिएर पठाउँदा पनि ढुवानीको समस्या भयो भने र बाटोमा नै रोकिनुपर्यो भने मर्ने सम्भावना धेरै हुन्छ ।’
महासंघका अनुसार यस वर्ष भित्रिने खसीबोकाको औसत तौल ३२ देखि ३३ किलो हुनेछ । एउटा खसीको अनुमानित मूल्य २५ हजारदेखि ३० हजार रुपैयाँसम्म पर्न सक्ने आकलन छ ।
महासंघले अनुमान गरेको जिउँदो खसीको भाउ हेर्दा प्रतिकिलो लगभग ९ सय ५० रुपैयाँ हाराहारी पर्ने देखिन्छ । यो हिसाबमा यसपालि दसैंमा जिउँदो खसी र तयारी मासुको भाउ बढ्ने देखिन्छ ।
कलंकी खसीबजारमा आज मंगलबार जिउँदो खसीको भाउ किलोको ७ सय २० रुपैयाँ छ । मासु पसलेहरूले भने तयारी मासु किलोको १ हजार ३ सय ५० रुपैयाँमा बेचिरहेका छन् ।
दशैंका लागि काठमाडौं उपत्यकामा मकवानपुर, धादिङ, रोल्पा, रुकुम, जाजरकोट, सल्यान, प्युठान लगायत पश्चिमी पहाडी जिल्ला तथा सिन्धुली, नुवाकोट, तेह्रथुम जस्ता पूर्वी पहाडी जिल्लाबाट पनि खसीबोका ल्याइन्छ ।
खाद्यले यसपालि खसीबोका नबेच्ने
यस वर्ष सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दशैंमा खसीबोका र च्याङ्ग्रा बिक्री नगर्ने निर्णय गरेको छ । मुख्य सडक खण्डहरू अवरुद्ध हुनु र देशमा देखिएको राजनीतिक अस्थिरता (जेनजी आन्दोलन) कारण देखाउँदै कम्पनीले यो निर्णय गरेको हो ।
यसअघि कम्पनीले दशैंका लागि करिब ४ करोड ७७ लाख रुपैयाँ बराबरका १ हजार ३ सय बढी खसीबोका र च्याङ्ग्रा खरिद गर्ने तयारी गरेको थियो । सरकारी कम्पनीले नल्याउने भएसँगै दशैं बजारमा खसीबोका आपूर्तिको दबाब निजी क्षेत्रमा थपिने निश्चित छ ।
अवैध आयात नियन्त्रण र गुणस्तर चिन्ता
व्यावसायिक बाख्रापालक महासंघले लामो समयदेखि भारतबाट अवैध रूपमा हुने खसीबोका आयात नियन्त्रणका लागि सरकारसँग आग्रह गर्दै आएको जनाएको छ ।
अध्यक्ष सुवेदीले अवैध आयातका कारण नेपाली किसानका उत्पादनले बजार नपाएको र रोगी पशुसमेत भित्रिने जोखिम रहेको बताए ।
यस वर्ष अवैध आयात रोक्न महासंघ आफैं सक्रिय हुने पनि उनले बताए । ‘यदि अवैध रूपमा भारतीय खसी भित्रियो भने व्यवसायी र किसानले त्यसलाई सहजै पहिचान गर्न सक्छन्,’ उनले भने, ‘यसपालि उनीहरूले त्यस्ता खसी नियन्त्रणमा लिई सरकारलाई बुझाउनेछन् ।’
यदि सरकारले कारबाही नगरेको खण्डमा किसानहरू आफैं सडकमा उत्रिएर अवैध खसीबोका नियन्त्रणमा लिने चेतावनी पनि उनले दिए ।
उपभोक्तालाई स्वस्थ मासु उपलब्ध गराउनका लागि महासंघले विशेष ध्यान दिने जनाएको छ । गाउँघरमै घाँस खुवाएर पालिएका खसी स्वाभाविक रूपमै स्वस्थ हुने उनको भनाइ छ ।
उनका अनुसार स्वस्थ मासु सुनिश्चित गर्न पशुसेवा विभाग र क्वारेन्टिनसँगको सहकार्यमा संयुक्त टोली बनाएर बजार अनुगमन तथा खसीबोका निरीक्षण गरिने व्यवस्था मिलाइएको छ ।
‘हामीले सकेसम्म महासंघ र पशुसेवा विभाग, क्वारेन्टिन सबै राखेर एउटा टोली बनाइ निरीक्षण गर्ने व्यवस्था गर्छौं,’ अध्यक्ष सुवेदीले भने, ‘हामी जसरी हुन्छ उपभोक्तालाई स्वस्थ मासु उपलब्ध गराउन लागि पर्छौं ।’
अवरुद्ध सडक, व्यवसायीको चिन्ता
कलंकी खसी बजारका व्यवस्थापक जीवन खतिवडा पहिरोले सडक अवरुद्ध हुँदा पश्चिमी क्षेत्रबाट खसीबोका ढुवानीमा समस्या आएको बताउँछन् ।
केही समयअघि मात्रै नारायणगढ-मुग्लिन सडकखण्डको तुइन खोलामा फेरि पहिरो खसेको छ । सुक्खा पहिरोले सडक पूर्णरूपमा अवरुद्ध भएको छ । आजै बिहान धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० जवाङखोलामा खसेको सुक्खा पहिरो झन्डै १० घण्टा लगाएर पन्छाएपछि अपराह्नदेखि सडक दुईतर्फी सञ्चालनमा ल्याइएको थियो ।
पहिरो निरन्तर खसिरहेकाले सडक नै भासिन सक्ने जोखिम रहेकाले सवारीसाधन फिर्ता गरेर वैकल्पिक बाटो प्रयोग गर्न अनुरोध गरिएको छ । यसले पनि ढुवानीमा झनै समस्या निम्त्याउने निश्चित छ ।
दशैं सुरु भइसकेको अवस्थामा खसीबोका बजारमा भित्रिन नसक्दा व्यवसायीमा अन्योल छाएको व्यवसायी खतिवडाको भनाइ छ ।
‘अहिलेको अवस्थामा हामी एकदम अन्योलमा छौं,’ खतिवडाले भने, ‘चार दिन भइसक्यो खसीबोका ल्याउन सकिएको छैन । बाटोमा सबै रोकिएका छन् र अहिलेसम्म बाटो खुलेको छैन ।’
उनले बाटोमा रोकिएका ५०–६० भन्दा बढी खसी मरिसकेको दाबी गरे । ‘बाटो कहिले खुल्ने, कहिले ल्याउने, कहिले बेच्ने भन्ने केही भन्न सकिने अवस्था छैन,’ उनले थपे ।
व्यवसायीहरूले पश्चिम नेपाललाई खसीबोकाको मुख्य आपूर्ति क्षेत्र मान्दै आएका छन्, तर बाटो अवरुद्ध हुँदा व्यापारीहरू खसी लोड गर्न समेत तयार नभएको खतिवडाको भनाइ छ ।
उनले धादिङतर्फको बाटोमा अवरोधका कारण ढुवानी रोकिएको र अन्य कुनै वैकल्पिक मार्ग नभएको स्पष्ट पारे ।
खपतको अनुमानित आँकडा
पशु सेवा विभागका अनुसार गत वर्ष दशैंमा काठमाडौं उपत्यकामा ५५ देखि ६० हजार खसीबोका खपत भएका थिए ।
यस वर्ष भने त्यो संख्या घटेर ५० देखि ५५ हजारमा सीमित हुने अनुमान छ । तर, व्यवसायीले भने यो वर्ष ४० देखि ४५ हजार पनि खपत नहुने अवस्था रहेको बताएका छन् ।
खतिवडाका अनुसार कलंकी खसीबजारबाट मात्रै पोहोर दशैंमा २५ देखि २६ हजार खसीबोका बिक्री भएका थिए । यस वर्ष पनि सोही अनुपातमा बिक्री गर्ने लक्ष्य राखिए पनि वर्तमान विषम परिस्थितिका कारण अन्योल बढेको छ ।
सामान्य अवस्थामा काठमाडौं उपत्यकामा दैनिक करिब १ हजारदेखि १२ सय खसीबोका खपत हुने गरेको खतिवडाले बताए ।
राष्ट्रिय पशुपन्छी स्रोत व्यवस्थापन तथा प्रवर्द्धन कार्यालय प्रमुख डा. चन्द्र ढकालले भने सडक अवरोधका कारण खसीबोका बजार ल्याउन व्यापारीहरूले केही समस्या बताए पनि वैकल्पिक मार्ग प्रयोग भइरहेको बताए ।
पूर्वी क्षेत्रबाट खसीबोका आपूर्ति सामान्य रहेको र पश्चिमी क्षेत्रका केही समस्या पनि सडक खुलेसँगै समाधान हुने उनले बताए । यस वर्ष दशैंमा विशेषगरी फुलपाती र अष्टमीका दिनमा खसीबोकाको अधिकतम भित्रिने अनुमान गरिएको छ ।
डा. ढकालका अनुसार पछिल्लो ८ देखि १० वर्षको प्रवृत्ति हेर्दा दशैंमा ३५ हजारदेखि ५५ हजार खसीबोका खपत भएको देखिन्छ । यसले दशैंमा हुने उच्च मागलाई धान्न सहयोग गर्ने छ ।
बढ्दो उत्पादन र घट्दो आयात
डा. ढकालका अनुसार नेपालमा खसीबोका उत्पादनमा उल्लेखनीय वृद्धि भएको छ । गत वर्ष १ करोड ४५ लाख हाराहारी उत्पादन भएकोमा यस वर्ष १ करोड ५२ लाख पुगेको तथ्यांक छ ।
यो वृद्धि ग्रामीण क्षेत्रमा सडक सञ्जाल विस्तार, गाउँमा बाख्रापालन गर्नेको संख्या बढ्नु र कम लगानीमा सहज चरिचरण उपलब्ध हुनु प्रमुख कारण रहेको ढकालले बताए ।
विगतमा वार्षिक करिब ४–५ लाख खसीबोका भारतबाट आयात हुने गरेकोमा हाल यो संख्यामा उल्लेख्य कमी आएको उनको दाबी छ ।
मूल्य निर्धारण र बिचौलियाको समस्या
खसीबोकाको संख्या बढे पनि मूल्य शृङ्खलामा भने चुनौती विद्यमान छन् । बिचौलियाका कारण किसानले कम मूल्य पाउने र उपभोक्ताले बढी मूल्य तिर्नुपर्ने अवस्था छ ।
डा. ढकाल उपभोक्ताका लागि मूल्य स्थिरता र किसानका लागि उचित मूल्य सुनिश्चित गर्न थप काम गर्नुपर्ने बताउँछन् ।
नेपालमा वार्षिक करिब ५ लाख टन मासुको कारोबार हुने गरेको छ, जसमध्ये आयातित मासुको हिस्सा १ प्रतिशतभन्दा पनि कम रहेको ढकालको भनाइ छ ।
उनको भनाइ अनुसार नेपाली मासु बजारमा स्वदेशी उत्पादनको प्रभुत्व रहेको र उत्पादनमा भइरहेको प्रगति सकारात्मक रहेको देखिन्छ । यद्यपि, किसान र उपभोक्ता दुवैलाई फाइदा पुग्ने गरी बजार व्यवस्थापन र मूल्य नियन्त्रणमा थप प्रयास आवश्यक छ ।
प्रतिक्रिया 4