Comments Add Comment

वामदेव प्रकरणको ‘साइड इफेक्ट’: ओली सरकारको प्रशंसा गर्दै प्रचण्ड

२६ असोज, काठमाडौं । शुक्रबार एक कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘अस्वभाविक’ ढंगले सरकारको प्रशंसा गरे । जबकी सरकारको कामकारवाहीबाट उनी असन्तुष्ट बन्दै गएको आँकलन गरिएको थियो ।

सार्वजनिक रुपमा सरकारको आलोचना नगरे पनि प्रचण्डले बचाउमा पनि खासै बोलेका थिएनन् । बरु पार्टी बैठकमा सामान्य असन्तुष्टि जनाउँथे । तर, एकाएक ओलीभन्दा पनि अघि बढेर सरकारको प्रतिरक्षा गर्ने स्थितिमा उनी किन पुगे त ?

जानकारहरु यसलाई वामदेव गौतम प्रकरणको ‘साइड इफेक्ट’ का रुपमा व्याख्या गर्छन् । आफूलाई गुमराहमा राखेर वामदेवका लागि सांसद रामवीर मानन्धरको राजीनामाको योजना बनाइएपछि ओली अर्का अध्यक्ष प्रचण्डसँग रुष्ट छन् । यही बुझेर प्रचण्डले ओलीलाई खुशी पार्न चिप्लो घसेको हुन सक्ने केही नेताहरुको आँकलन छ । नेकपामा ओलीको साथ लिएरै आफ्नो भविश्य सुरक्षित गर्न खोजेका प्रचण्ड यति चाँडै उनीसँग सम्वन्ध बिगार्न चाहँदैनन् पनि ।

प्रचण्डलाई ब्याकफायर

नेपाल कम्युनिष्ट पार्टीमा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डको सम्बन्ध विगतदेखि नै विश्वास र आशंकाको दोसाँधमा मडारिँदै आएको छ ।

कहिले एकअर्कामै विलिन भए झै हुन्छन् त कहिले सार्वजनिक रुपमा नै एकअर्काविरुद्ध उत्रन्छन् । तत्कालीन एमाले र माओवादीको पार्टी एकतापछि भने प्रचण्डले केपी ओलीसँग विश्वासको सम्बन्ध बनाउने भरपुर प्रयास गरेका थिए । तर, वामदेव गौतम प्रकरणले ओली र प्रचण्डबीच दुरी बढाएको छ ।

गौतमले बर्दिया-१ मा आफूलाई षड्यन्त्रपूर्वक हराइएको भन्दै संसदमा आउने प्रयास गरेका थिए । त्यसैले उनले काठमाडौं ७ का सांसद रामवीर मानन्धरलाई राजीनामा दिन सहमत गराउनुलाई नेताहरुले आश्चर्यका रुपमा लिएका छैनन् ।

तर, गौतमका लागि जसरी प्रचण्ड कार्ड प्रयोग भयो, त्यसले ओलीलाई झस्काएको छ । सांसदबाट राजीनामा दिन तयार रहेको रामवीरको पत्र खुमलाटारमा तयार भएको थियो भने सचिवालयमा प्रचण्डमार्फत नै पुगेको थियो ।

तर, जब रामवीरको राजीनामाको विषय बाहिर आयो, जनस्तरमा यसको चर्को आलोचना भयो । स्वयंम प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले ‘विदेशी खेल’का रुपमा ब्याख्या गरेपछि गौतमसँगै प्रचण्डलाई नराम्ररी ‘ब्याकफायर’ गरेको छ ।

प्रचण्डप्रति वामदेवको अपेक्षा

वामदेवले कहिले डोल्पा त कहिले दैलेख र कहिले बाँके रोजे । तर, पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीले ‘भइहाल्छ’ भन्ने बाहेक खास पहल गरेका थिएनन् । त्यसैले उनी अर्का अध्यक्ष प्रचण्डको शरण परे । यो अस्वभाविक पनि होइन ।

दुई पार्टीको एकता हुनुअघि नै एमालेका वरिष्ठ उपाध्यक्ष रहेका गौतम प्रचण्डका विश्वास पात्र थिए । उनले पार्टीमा हुने चर्का आलोचनाको परबाह नगरी प्रचण्डको पक्षमा वकालत गर्थे । एमाले र माओवादीको गठनबन्धन सरकार टुट्दा पनि उनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई नै दोषी देखाएका थिए ।

अहिले एउटै पार्टी भएको बेला संसदमा आउने आफ्नो हुटहुटी पुरा गर्न पार्टीका अध्यक्ष मध्येका एक प्रचण्डबाट सहयोग खोज्नु स्वभाविक भएको नेकपाका एक नेता बताउँछन् । प्रचण्डले गौतमको अपेक्षा अनुसार प्रयास गरे पनि ढंग नपुर्‍याउँदा आफैं अप्ठ्यारोमा पर्ने खतरा देखिएको ती नेताकोे विश्लेषण छ ।

उनले अघि भने, ‘वामदेवले सांसद हुन चाहेको कुरा कसैबाट लुकेको थिएन । त्यसका लागि रामवीरले राजीनामा दिने विषयमा ओलीसँगै बसेर छलफल गरेको भए राम्रो हुन्थ्यो ।’

तर, आफूलाई थाहै नदिई योजना बनाउँदा प्रचण्डमाथि पनि ओलीले शंका गर्ने अवस्था बनेको छ ।

माओवादी पृष्ठभूमिका नेताहरु भने प्रधानमन्त्री ओलीले प्रचण्डको बाध्यता बुझ्नुपर्ने बताउँछन् । ‘पार्टीले निर्णय नगर्दासम्म प्रचण्डले चाहेर मात्र वामदेव सांसद हुने होइन । उहाँले त वामदेवको इच्छा व्यक्त गरिदिनुभएको मात्र हो’ एक नेताले भने, ‘यसलाई अर्का अध्यक्ष केपी ओलीले पनि बुझ्नुपर्छ र बुझ्नुहुन्छ ।’

उनका अनुसार यदि यो बीचमा ओली र प्रचण्डबीच सम्वाद नभएको भए यो घटनाले अकै रुप लिनसक्थ्यो । तर, निरन्तर सम्वादमा रहेकाले कुनै असमझदारी छैन ।

माओवादी पृष्ठभूमिकै अर्का नेताले पनि सबैलाई समेट्नुपर्ने प्रचण्डको बाध्यता भएको बताए ।

ओलीले देखे ‘विदेशी खेल’

माओवादी पृष्ठभूमिका नेताहरुले वामदेव प्रकरणमा प्रचण्डको भूमिकालाई बाध्यताको नाम दिए पनि अर्का अध्यक्ष केपी शर्मा ओलीले भने त्यसरी लिएका छैनन् ।

स्रोतका अनुसार ओलीले आफूलाई बेखबर राख्दै गरिएको प्रयासलाई ‘विदेशी खेल’को संज्ञा दिएका छन् । त्यसमा गौतमका लागि राजीनामा दिन तयार रहेको पत्र बुझाएका रामवीरको बोलीले थप मलजल गरेको नेताहरु बताउँछन् । उनले ओलीसामू नै गौतमलाई प्रधानमन्त्री बनाउनुपर्ने मत मात्र राखेनन्, आफूलाई शक्ति केन्द्रका मित्रहरुको साथ रहेको बताएका थिए ।

नेकपाका कतिपय नेताहरुले भने यदि केपी ओलीले प्रचण्डमाथि अविश्वास गर्दै गए उनीविरुद्ध नै मोर्चाबन्दी हुन सक्ने आंकलन गरेका छन् । नेकपामा पछिल्लो समय ओलीसँग वरिष्ठ नेता माधवकुमार नेपालसहितका नेताहरु असन्तुष्ट छन् ।

उनीहरुले यो विचारको नेतृत्व गर्न प्रचण्डलाई आग्रह नगरेका पनि होइनन् । तर, ओलीसँग विश्वासको सम्बन्ध बनाउन चाहेका उनले त्यो आँट गरेका थिएनन् । तर, वामदेव प्रकरणसँगै प्रचण्डमाथि अविश्वास गरे ओली इतरको समूहको मोर्चाबन्दी हुने र स्वयंम ओलीकै लागि प्रत्यापादक पनि हुन सक्ने नेताहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment