+
+

हिमआँधीमा मृत्यु भएका ८ जनाको शवलाई आजै काठमाडौं ल्याइँदै

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज २८ गते ११:२०

२८ असोज, काठमाडौं । म्याग्दीको धौलागिरी गाउँपालिका–१ स्थित गुर्जा हिमाल आरोहणमा जाँदा हिमआँधीमा ज्यान गुमाएका ९ जनाको शवलाई वेस क्याम्पमा ल्याइएको छ ।

आइतबार बिहान सिम्रिक एयरको हेलिकोप्टरमार्फत उनीहरुलाई वेस क्याम्पसम्म ल्याइएको हो ।

जिल्ला प्रहरी कार्यालय, म्याग्दीका प्रमुख डिएसपी वीरबहादुर बुढा मगरले अनलाइनखबरलाई दिएको जानकारी अनुसार मृतक मध्ये ६ जनाको शवलाई वेस क्याम्पबाट पनि सुरक्षित स्थानमा सारिसकिएको छ ।

‘६ जनाको शवलाई गुर्जा गाउँमा ल्याइसकिएको छ’, मगरले भने, ‘अन्य शवलाई पनि ल्याउने क्रम जारी छ ।’

दिउँसो १२/१ बजेदेखि हावा, हुरी चल्ने भएकाले शवलाई नजिकै रहेको गुर्जा गाउँसम्म ल्याइएको प्रहरीले जनाएको छ ।

‘गुर्जु गाउँमा हेलिप्याड पनि छ, त्यहीँ शवको मुचुल्का गर्ने क्रममा पनि थालिएको छ’, मगरले थपे, ‘मुचुल्कापछि आजै शवलाई काठमाडौं पठाउने तयारी गरेका छौं ।’

उनका अनुसार मृतक ८ जनाको शवलार्इ काठमाडौं ल्याइनेछ भने एक जना म्याग्दीकै भएकाले त्यहीँ जिम्मा लगाइनेछ ।

यसअघि काठमाडौंको ट्रेकिङ क्रयाम्प नेपाल नामक एजेन्सीबाट पाँच जना कोरियन नागरिक र चार जना नेपाली भरियाहरु गुर्जा हिमाल चढ्न गएका थिए ।

गुर्जा हिमाल चढ्नका लागि आरोहण टोली गुर्जा गाउँबाट २१ गते बेसक्याम्पतर्फ हिँडेको थियो । टोलीमा भरिया गुर्जा गाउँकै बासिन्दा थिए । तर, उनीहरु सम्पर्कमा नआएपछि स्थानीयबासी खोजीका लागि शुक्रबार बेसक्याम्प गएका थिए ।

त्यहाँ जाँदा टेन्टहरु उडाएको, चिन्न नसकिने शवहरु फेला परेको देखेपछि उनीहरु शुक्रबार साँझ गाउँ फर्किएर प्रहरीमा खबर गरेका थिए । त्यसपछि प्रहरीले खोजी थालेको थियो ।

पश्चिम हिमालको नामले समेत चिनिने गुर्जा ७ हजार १९३ मिटर अग्लो छ ।

गुर्जा, चुरेन, गुर्जा पश्चिम, म्याग्दीमाथा, पुथा हिमाल रहेको गुर्जामा २०६५ सालपछि यस वर्ष मात्र हिमाल आरोहीको टोली आएपछि स्थानीयवासी उत्साहित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?