Comments Add Comment

दशैंलाई रुपान्तरण गर्ने कि बहिस्कार ?

नेपाली समाज अहिले पनि राजनीतिक, आर्थिक तथा सांस्कृतिक क्षेत्रमा सामन्तवादका अवशेषहरुबाट आक्रान्त छ । सामन्तवादका अवशेष हाम्रो सोचमा छन्, क्रियामा छन् र प्रतिक्रियामा छन् । नेपाली समाज सामन्तवादबाट मुक्त भइसकेको भए पनि यसका अवशेषहरु धर्म, संस्कृति, संस्कारजन्य व्यवहारमा यथावत छन् । जसका कारणले समाजमा व्यापक शोषण तथा विभेदहरु अझै विद्यमान छन् ।

गणतन्त्र नेपालका जनता आधारभूत आवश्यकता, सामाजिक न्याय र सूरक्षाबाट समेत बञ्चित भइरहेका छन् । समाज परिवर्तनको नियम के हो भने समाजमा रहेका स्रोतहरुमाथिको स्वामित्वको कारणबाट वर्गहरु विकास हुन्छन् र स्रोतहरु नियन्त्रण गर्ने बर्गले शोषण र विभेद सृजना गर्छन् । यसबाट वर्ग संघर्षको विकास हुन्छ । र, नयाँ सामाजिक सम्बन्ध र नयाँ संस्कृतिको निर्माण हुन्छ ।

हाम्रो समाजको प्रगतिशल रुपान्तरणका लागि सबैभन्दा पहिले हाम्रा चाँडपर्वहरु पनि नेपालको संविधानको प्रगतिशीलतामा आधारित भएर परिवर्तनको शुभारम्भ गरिहाल्नुपर्छ । परिवर्तनको पहिलो हकदार आधारभूत जनता हुन् भन्ने मान्यताका आधारमा चालचलन तथा संस्कृतिको रुपधारण गरिसकेका चाडपर्वहरुको जडताबाट आधारभूत जनताहरुलाई मुक्त गर्न सक्नुपर्छ । यसका लागि अब हामीले गाउने गीत, भनिने कथाहरु, लेखिने उपन्यासहरु, कविताहरु, महाकाव्यहरु, हाम्रा गाथाहरु अनुसन्धानमा आधारित वैज्ञानिक ढंगले लेखिनुपर्दछ । र, हाम्रा रहनसहन, चालचलन, धर्मसंस्कृतिका नामका जडताबाट मुक्त हुंदै हाम्रा संस्कारगत प्रणालीमा पनि नयाँपन ल्याउनुपर्छ । यस्तो ऐतिहासिक कार्य स्वयं आफैबाट शुरुवात गरिनुपर्दछ ।

हाम्रो समाजमा दशैं पर्वका सम्बन्धमा पहिलो रामले रावणलाई बध गरेको वा दुर्गा भवानीले महिषासुरलाई मारेको दिन भएकोले विजयको दिनका रुपमा मनाइनुपर्ने धार्मिक मान्यता र अर्को किसानहरुले बाली भित्र्याइ सकेकोमा उत्सव मनाउने दिनको प्रचलनका रुपमा मनाउने चलन रहेको छ । आजको दिनमा दोस्रो मान्यता वैज्ञानिक र तथ्यपूर्ण भएकोले हामीले त्यही रुपमा दशैंपर्व मनाइनुपर्दछ ।

यद्यपि हाम्रो राज्यप्रणाली अहिले पनि हिन्दूधर्ममा आधारित सामन्तवादको अवेशेषले थिचिएको हुनाले पहिलोलाई नै उत्सवका रुपमा मनाउँदै आएको छ । यसलाई आजको राजनीतिक शक्ति सम्बन्धले बदल्न सक्ने साहस देखाउन सक्नुपर्दथ्यो । यद्यपि बर्तमान कम्यूनिष्ट पार्टीको नेतृत्वको सरकारले समेत धर्मनिरपेक्षता र नेपालको संवैधानिक मान्यता विपरीत दशैंलाई राष्ट्रिय पर्वका रुपमा घोषणा गर्दै यस पर्वलाई विशेषाधिकार प्रदान गर्नु र पुरानो सरकारको मान्यतालाई क्रमभंग गर्न नसक्नु दुर्भाग्यका रुपमा लिनुपर्दछ । हामी परिवर्तनका पक्षधरहरुले भने विकृत संस्कृतिको दास बन्ने गम्भिर गल्ति गर्नुहुँँंदैन ।

हाम्रो मुलुकका कम्युनिष्ट पार्टीमा संलग्न व्यक्तिहरु होउन् वा नेपाली कांग्रेसमा लागेका व्यक्तिहरु होउन् वा अन्य मधेसकेन्द्रित लगायतका दलहरुमा संलग्न व्यक्तिहरु नै किन नहुन समाजको अनिवार्य संस्कृति बनिसकेका हाम्रा दशैंलगायतका चाँडपर्वहरुलाई बहिष्कार गर्नुभन्दा प्रगतिशील रुपान्तरण गर्दै आजको दिनको सन्दर्भमा नयाँ ढंगले मनाउनु उपयुक्त विकल्प हुने देखिन्छ । यसका लागि विशेष गरी यूवा साथीहरुले बदलिएको परिस्थितिमा आफू बदलिने र आफ्नो परिवारलाई बदल्ने ऐतिहासिक साहस बटुल्नुपर्दछ । र राजनीतिक नेतृत्वमा रहेका प्रगतिशील तथा क्रान्तिकारीहरुले आफ्ना दल तथा सामाजको विभेदकारी अनुशासनको पर्खाल नाघेर भएपनि आफूलाई प्रगतिशील रुपान्तरणको पक्षमा उभ्याउनुपर्छ । यसो गर्दा आफ्नो समाज विखण्डन होला, आफ्नो भोट बैंक रित्तिएला र पार्टीको मूल्याँकनभन्दा बाहिर परिएला भन्ने दास मनोवृतिबाट मुक्त हुनुपर्छ ।

नेपाली समाजमा विशेष गरी राजसंस्थाका प्रमुख राजाहरुले हिजो शक्तिको आडमा राजनीतिक सत्ता टिकाउनका लागि विभिन्न साँस्कृतिक मान्यता बनाएर लाद्ने काम गरे ।

दशैंका सन्दर्भमा अस्वस्थामा जस्तो दीर्घजीवी, रामजस्तो महापुरुष, राजाको जस्तो राजगाज, हावा जस्तो गतिवान, दर्योधन जस्तो सम्मान, पाण्डवपिता जस्तो सुरो, युधिष्ठिर जस्तो सत्यवादी, विदूर जस्तो बद्धिमानी र नारायण जस्तो किर्तिमानी हुनु भनेर आशिक दिनु भनेको राज्यसत्ताको आकाँक्षा प्रष्ट बुझिन्छ । अर्थात समाजमा समेत जसका भैसा उसका पैसा, जसका भाई उसका गाई, जसका छोरा उसका बोरा जस्ता आख्यानहरु निर्माण भएका छन् । पृथ्वीनाराण शाहले उपत्यका कब्जा गरेपछि आफ्नो शासन व्यवस्था स्थापित गर्न गोरखाबाट फूलपाती भित्र्याउने, बढाइँ गर्नेलगायतका चलनहरु गोरखा राजनीतिको निरन्तरता हो । पछि यो क्रमशः पृथ्वीनाराण शाहको एकीकरणसंगै देशव्यापी र अनिवार्य संस्कृति बन्न पुग्यो, जुन आज प्रयन्त जारी छ ।

हाम्रा तत्कालीन शासकहरुले अंग्रेजको बहिर्गमन पश्चात भारतबाट केही विशेषज्ञहरुलाई बोलाएर शाहवंश कायम रहने गरी राजतन्त्रात्मक एकात्मक शासन, हिन्दू धर्म, जातीय विभेद, भूमिको असमान वितरण र भाषागत विभेदलाई संस्थागत गर्ने काम गरिएको थियो । जुन सत्ता हटाउन हाम्रो पुस्तालाई अढाई सयवर्ष पर्खनुपर्‍याे ।

यसरी इतिहासका गलत तथा कठोर संस्कार र संस्कृतिबाट शिक्षा लिँदै हामीले यसलाई बदल्न सक्नुपर्छ ।

अर्को पार्टो पनि त्यतिकै डरलाग्दो छ जसलाई रुपान्तरण गर्न जरुरी छ । त्यो हो आर्थिक पाटो । आयो दशैं ढोल बजाई, गयो दशैं ऋण बोकाईं भन्ने हाम्रो अनुभवले प्रचलनमा आएको चर्चित नेपाली उखान हो । दशैंको नाममा भाग्यवाद, उपहारवाद र उपभोक्तावादको सृजना गरिने आर्थिक तथा बजार अर्थतन्त्रको पाटो डरलाग्दो छ । आर्थिक विषमताले आर्थिक संकट ल्याउँछ भने यसैको जगमा लुटपाट, चोरी, घुसखोरी, जुवातास, यतिसम्मकि जुवाको खालमा श्रमतिलाई धरौटी राख्ने, जाँडरक्सी, धर्मको नाममा श्रीमतिका गहना धरौटी राखेर भएपनि बली दिने, अन्न बेचेर जात्रा भर्ने, भूदान, पैसा दान, तुलादान, अन्न हवन गर्ने, सुनचाँदी चढाउने, दशैंको बेला केही सम्पति जोड्नैपर्ने, लुगा कपडा, गहना किन्नुपर्ने, खसी, बोका, रागा काट्नुपर्ने, चढाउनुपर्ने, व्यापक रुपमा खानपान गर्नुपर्ने, दशैंका नाममा जिब्रोमा प्वाल पार्नुपर्ने, नांगैं नाच्नुपर्ने, भोकभाकै जग्य बस्नुपर्ने, धामी झाँक्रीको अलग पीडा खेप्नुपर्ने, जातीय छुवाछूत, फेरि एक दिन मात्र होइन, महिनादिनसम्म अर्थात दशैंदेखि तिहार अनि अन्य पर्वसम्म मनाउनुपर्ने, विद्यालय बन्द, कार्यालय बन्द, बजार बन्द, सबै जनजीवन दशंैमय भएपछि सबै बाध्य हुनुपर्नेजस्ता विकृतिहरु हाम्रा खतरनाक संस्कृति बन्दै जानु र पुँजीवादले यसलाई अवसरका रुपमा उपयोग गर्ने हुनाले हामीले यसका सन्दर्भमा नयाँ रुपान्तरणको बाटो अवलम्बन गर्नुपर्दछ ।

समाजमा पारिवारिक मूल्य मान्यताको निरन्तरता, टाढा टाढाका परिवारका सदस्यहरुको जमघट, उपहार आदानप्रदान, कुलदेउताको पूजापाठ, पारिवारिक तथा सामाजिक सदभाव, पुर्नउत्पादन, हार्दिकताको आदानप्रदान प्रमुख सामाजिक सांस्कृतिक आयाम हुन् । भने सामाजिक तथा साँस्कृतिक पाटोले निर्माण गर्ने विभेदहरुमा दलितहरु विष्ट कहाँ जानु, मोही र मजदूरहरु जमिन्दारकहाँ जानु, गाउँलेहरु मुखियाकोमा जानु, तल्लो दर्जाका कर्मचारी हाकिमकोमा जानु, पूर्वपञ्चहरु पूर्वराजाकहाँ जानु, कार्यकर्ताहरु पार्टी नेताकोमा जानुलाई लिन सकिन्छ । यस्ता चाडपर्वहरुले श्रमजीवी वर्गीय चरित्रलाई समेत नकारात्मक प्रभाव पारेको छ । दशैपर्व जस्ता चाडपर्वले दलितलगायत भूमिहीन, सुकुम्वासी तथा गरिवहरुलाई टिक्नै नसकिने अवस्था सिर्जना गरिदिएको छ । सामन्तवाद अन्त्य भएको भनिए पनि यसले हिजोका सामन्तहरुसंग अंगालो हालेर पूजीवादमा पनि जातीय छुवाछूत र विभेदलाई वैधानिकता दिएको मात्र होइन, अहिलेको दलाल पँुजीवादले हाम्रा विचार र सिद्धान्तलाई समेत भ्रष्टीकरण गरिरहेको छ ।

सामाजिक तथा सांस्कृतिक जीवनका अभिन्न अंग बनिसकेका हाम्रा चाँडपर्वहरुको महत्व ठूलाठूला राजनीतिक परिवर्तनको फेरबदलसँगै परिवर्तन हुदै जाने विश्वास गर्न सकिन्छ ।

ठूलाठूला परिवर्तनसँगै चाँडपर्वहरुमा पनि परिवर्तन गरिएन भने यिनीहरु सोतः लोप भएर जान्छन् । त्यसैले अब दशैंलगायतका चाँडपर्वहरुलाई हिन्दूहरुको मात्र होइन, आम नेपालीहरुको साझा पर्वका रुपमा मनाइने नौलो र सिर्जनात्मक चलनको विकास गरिनुपर्दछ । यसका लागि धर्मनिरपेक्षताको मूल्य र मान्यतानुसार सबैप्रकारका चाँडपर्वहरुलाई सम्बन्धित धर्महरुबाट पृथक बनाइनुपर्दछ र खास जातिका पर्वहरुलाई राज्यले दिदै आएको विशेष अधिकारको पूर्णरुपमा कटौति गरिनुपर्दछ ।

दशैं लगायतका चाडपर्वहरुमा गरिने अन्धाधुन्ध खर्चलाई किफायती बनाउने अभियान सम्बन्धित समुदायका गुठी तथा आन्दोलनहरुले सञ्चालन गर्नुपर्छ । समाजको डर तथा निर्वाचनमा मत प्रभावित नहोस् भन्ने गलत र अवैज्ञानिक चिन्तनमा फेरबदल गर्दै वैज्ञानिक र मानवीय मूल्य र मान्यता स्थापित गरिनुपर्छ । अबको नयाँ संस्कृति निर्माण गर्दा विभिन्न गौरवपूर्ण आन्दोलनबाट स्थापना गरेका शहिद दिवस, मानवअधिकार दिवस, सामाजिक न्याय दिवस, समाज सेवा दिवस, नारी दिवस, लोकतन्त्र दिवस, गणतन्त्र दिवस, छुवाछुतमुक्त राष्ट्र दिवसजस्ता दिवसहरुलाई राष्ट्रिय चाँडपर्वका रुपमा मनाउनुपर्छ ।

यसका लागि हामीले हाम्रा पार्टी, संगठन तथा आन्दोलनहरु राष्ट्रव्यापी, जनव्यापी, अनुशाशित, एकताबद्ध, समावेशी र सबैको स्वामित्व र अपनत्व हुने अभियानको योजनासहितको कार्यान्वयनको नेतृत्व गर्न सक्नुपर्छ । समाजको संरचनाप्रतिको असन्तुष्टिको संगठीत रुप सामाजिक आन्दोलन हो ।

सामाजिक आन्दोलन केवल कसैको विरुद्घको आन्दोलन मात्र नभई संरचना र संस्कृति फेर्ने प्रगतिशील रुपान्तरणको आन्दोलन हो । संकिर्ण र पुरातन समाजलाई सुसंस्कृत र समृद्ध समाजमा रुपान्तरण गर्दै शोषण, उत्पीडन र सवैखाले विभेदहरुको अन्त्य गर्न प्रगतिशील सुधारका कार्यक्रमहरुबाट जनमत र जनचेतनामार्फत सामाजिक रुपान्तरण गर्नुपर्छ । यस काममा नेपालका सबै राजनीतिक पार्टीहरुले आफ्ना आफ्ना जनसंगठनहरु र बिभिन्न गैरसरकारी सामाजिक संघ÷सस्थाहरुको व्यापक परिचालन गरेर मात्र सम्भव छ । यसरी नेपालले आर्थिक विकासको आफ्नै मौलिक बाटो अवलम्वन गर्दै सामाजिक न्यायसहितको समृद्धि ल्याउन सक्छ र समृद्ध नेपाल सुखी नेपालीको नारा सार्थक बन्न सक्छ । यसका लागि आजको सामाजिक–आर्थिक क्षेत्रलाई व्यापक रुपले पुनर्गठन र रुपान्तरण गर्दै भूमिसुधारमार्फत व्यापक कृषि क्रान्ति र औद्योगिक क्रान्तिको बाटो हिड्नैपर्छ । यो बाटोबाट नै राष्ट्रिय अर्थतन्त्रलाई समाजवादतिर उन्मुख बनाउन सकिन्छ ।

यसरी सुसंस्कृत र समृद्ध समाजको निर्माणका लागि समाजमा व्याप्त सबैप्रकारका शोषण, उत्पीडन र विभेदको अन्त्य हुनुपर्दछ । यसको लागि सामाजिक चेतनाको विकास गर्दै श्रमजीवी जनताको सक्रिय सहभागितामा नीति निर्माण गर्ने र कार्यान्वयन गर्ने व्यहारिक संरचना निर्माण गरिनुपर्छ ।

जब सबै तहका जनतालाई केन्द्रबिन्दु बनाई संचालन गरिने गतिविधिहरुको समग्रता र जनतालाई सशक्तीकरण गर्ने आधार निर्माण हुन्छ, तब सामाजिक विकासको निम्ति विकास कार्यहरुमा जनसमुदायको स्वामित्व, सहभागिता र साझेदारीमा समाजको प्रगतिशील रुपान्तरणको निम्ति मानवअधिकार, सामाजिक न्याय र दिगो विकास हुन सक्छ । अनि गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशीता र समानुपातिकताको प्रकाशमा धर्म र संस्कृतिको आडमा बाँचेका विभेदकारी चाडपर्वहरु सोतः विस्थापित हुुँदै जान्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment