Comments Add Comment

चक्र वास्तोलालाई नजिकबाट चिन्नेहरु भन्छन् : खतरा मोल्ने नेता हुनुहुन्थ्यो

२८ असोज, काठमाडौं । कांग्रेस नेता तथा पूर्वमन्त्री चक्र वास्तोला ६ वर्ष लामो अर्द्धचेत अवस्थापछि ब्रम्हलिन भएका छन् । बजोड खुबी नभए पनि कांग्रेसभित्र उनी औसतभन्दा माथिका नेता मानिन्थे ।

नजिकबाट चिन्नेहरुले बास्तोलालाई ‘साहसिक’ र ‘बौद्धिक’ नेताको रुपमा चित्रित गर्छन् । नेपालको मात्र नभएर विश्व राजनीतिमै उनी गहिरो चाख राख्थे । कोइराला परिवारसँग नजिक भएर पनि खराब कुराको विरोध गर्न पछि हट्दैनथे । भारतको विरोध गर्दा पार्टीभित्र कोपभाजनमा परेको पनि उनी निकटस्थहरु बताउँछन् ।

हामीले यहाँ बास्तोलासँग निकट रहेका तीन व्यक्तित्वहरुको उनीप्रतिको धारणा पेश गरेका छौंः

वीपीले प्रशंसा गरेका नेता

पूर्णानन्द शर्मा,
झापाका पुराना कांग्रेस नेता

उहाँ सानैदेखि तिक्ष्ण प्रतिभा भएको व्यक्ति हुनुहुन्थ्यो । बनारसमा बस्दा सान्दाजु -बीपी कोइराला) भन्नुहुन्थ्यो कि चक्रमा विलक्षण प्रतिभा छ । उहाँ सुक्ष्म रुपमा राजनीतिक विश्लेषण गर्न माहिर हुनुहुन्थ्यो ।

प्रतिवन्धितकालमा बनारसमा बस्दा मेरो नियमित भेट भइरहन्थ्यो । २०३८ सालमा म झापा जिल्लाको कांग्रेस सभापति भएँ । गिरिजाबाबुको आग्रहमा मैले चक्रजीलाई सचिब बनाएँ । त्यो बेला पहिलोपटक उहाँ र मेरो सहकार्य भएको हो । उहाँमा राष्ट्रिय र अन्तर्राष्ट्रिय राजनीतिको गहिरो ज्ञान थियो । कहिलेकाहीँ हाम्रो मत फरक भएको बेला पनि उहाँले आफ्नो सुक्ष्म राजनीतिक विश्लेषणमार्फत मलाई प्रभावित पार्नुहुन्थ्यो ।

कांग्रेसका निम्ति क्रान्ति र शान्तिकालमा महत्वपूर्ण भूमिका खेल्नु भएको छ उहााले । पछिल्लो समय भने कांग्रेसमा मौलाउँदै गएको विकृतिहरुप्रति असन्तुष्ट हुनुहुन्थ्यो । त्यही भएर भीमबहादुर तामाङ, नरहरि आचार्य र उहाँले तेस्रो धार बनाउनु भएको थियो । मलाई लाग्छ, ६ वर्षअघि उहाँ अर्धचेत नहुनु भएको भए कांग्रेसमा सैद्धान्तिक रुपमा सबैलाई समेटेर लैजाने परिस्थिति बनाउनुहुन्थ्यो ।

भारतको विरोध गर्दा कोपभाजनमा

पुरुषोत्तम बस्नेत
पुराना कांग्रेस नेता

चक्र बास्तोलासँग मेरो भेटघाट र परिचय भएको २०२०/२२ सालतिर हो । उहाँ बनारस हिन्दू विश्वविद्यालयमा पढ्नुहुन्थ्यो । त्यतिबेला वीपी, किसुनजीहरु जेलमा हुनुहुन्थ्यो । बास्तोलाजी र हामीहरु सम्पर्कमा थियौं । कांग्रेसका गतिविधिहरु उहाँहरुमार्फत हामी अघि बढाउथ्यौं ।

पछि तरुण पत्रिका निकाल्ने बेला हामी नजिक भयौं । २०२९ सालमा तरुण दल पुनर्गठन गर्दा बनारसमा उहाँहरु सक्रिय हुनुभयो । यताबाट हामी गएका थियौं । विमान हाइज्याक गर्ने बेला उताबाट सबै व्यवस्थापन सुशील दा र चक्र बास्तोलाले गर्नुभएको थियो ।

हाइज्याक केसमै उहाँहरु पक्राउ पर्नुभयो । २०३७ वैशाखमा आममाफी पाउनुभएको हो । मैले बुझेको चक्र बास्तोला आँटी र खतरा मोल्न सक्ने क्रान्तिकारी नेता हो । उहाँ बौद्धिक व्यक्तित्व पनि हुनुहुन्थ्यो । आफूलाई लागेको कुरा वीपी र गिरिजाबाबुसँग पनि कडा स्वरमा राख्न सक्ने थोरै नेतामा पर्नुहुन्थ्यो ।

निर्वासनमा बस्दा हतियार संकलन गर्ने कामको नेतृत्व उहाँले नै गर्नुभएको हो । पछि ती हतियार बंगलादेशी स्वतन्त्रता सेनानीलाई दिइयो । जयप्रकाश नारायणले नयाँ हतियारसहित ती हतियार फिर्ता आउने भनेका थिए । तर उनीहरुले धोखा दिए । न हतियार फिर्ता आयो, न त्यसको पैसा आयो ।

पार्टीभित्र त चक्रजी सधैं कोइराला समूहमै हो । उहाँ केन्द्रीय कार्य समितिमा लामो समय रहनुभयो । भारतको हस्तक्षेपकारी सोचको बिरोध गर्दा उहाँ कोपभाजनमा पनि पर्नुभयो ।

तत्काल निर्णय क्षमताका धनी

हरि शर्मा, विश्लेषक

मैले चक्र बास्तोलासँग नजिक रहेर काम गर्ने मौका पाएँ । धेरै पटकसँगै विदेश भ्रमण पनि गर्‍यौं । उहाँले लामो समय निर्वासनमा बसेर राजनीति गर्नुभयो । नेपालमा विमान अपहरणदेखि बंगलादेशको स्वतन्त्र संग्राममा पनि सघाउनुभयो ।

वैचारिक क्षमता भएका नेता हुनुहुन्थ्यो उहाँ । सिघ्र निर्णय गर्न सक्ने खुबी थियो । तुर, निर्णय विचार पुर्‍याएरै लिनुहुन्थ्यो । सम्झौतापरस्त कहिल्यै हुनुभएन । इन्डियन एयरलाइन्सको नेपाल उडान सुचारु गर्न उहाँको सक्रिय भूमिका छ ।

२०६४ को निर्वाचनमा पराजित हुनु भयो । त्यसको केही वर्षपछि विरामी हुनुभयो र स्वभाविक रुपमा सक्रिय हुन सक्नुभएन ।

विरामी हुनुभन्दा पहिला पनि राजनीतिमाभन्दा सामाजिक क्षेत्रमा बढि सक्रिय हुन थाल्नुभएको थियो । खासगरी मेडिकल शिक्षाको क्षेत्रमा उहाँको सक्रियता बढेको थियो । आफूले गरेको कामलाई सैद्धान्तिकरण गर्ने क्षमतामा पनि उहाँमा थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment