Comments Add Comment

दशैं विदामा को के पढ्दैछन् ?

दशैंले छोपिसकेको छ । विदाका बेलामा किताबहरु किन्ने र पढ्ने नेपाली पाठकहरुको बानी नै बसिसकेको छ । यसैक्रममा यो वर्षको दशैंमा पनि नयाँ नयाँ किताबहरु बजारमा आएका छन् र विक्री भइरहेका छन् ।

दशैको लामो बिदामा आफ्नो कृति पाठकले पढिदिए हुन्थ्यो भन्ने लेखकहरुमा आश हुन्छ । तर, स्वयम् लेखकहरुचाहिँ दशैको विदामा कस्ता र कति किताब पढ्न चाहिरहेका छन् त ? र, उनीहरु पाठकलाई के कस्ता किताबहरु पढ्न सुझाव दिन्छन् ?

यसबारेमा हामीले केही लेखकहरुलाई दशैंमा के कस्ता किताबहरु पढ्दै हुनुहुन्छ भनेर सोधेका छौं ।

अभि सुवेदीः पाँच दिनमा पढ्न भ्याइँदैन

यो साह्रै छोटो विदा भयो विद्यार्थीलाई त । यो छोटो समयमा कति किताब पढ्ने भन्ने अन्योल पो छ त । यो पाँच दिनमा केही पनि नपढ्न पनि सक्नु हुन्छ पाठकले ।
धेरै किताब पढिन्छ कि पढिँदैन । तर, किताब उत्पादन त भइरहेको छ । मलाई त एक अंगालो किताब उपहार दिन्छन् ।

छाउघर नै सोसल डिस्कोर्स, राजनीतिक मुद्दा बर्निङ मुद्दा हो । यस खालका किताब पढ्दा पनि हुन्छ । संस्मरणभन्दा उपन्यास र कविताका किताब पढ्न सकियोस् । म आफू पनि अंग्रेजीका आख्यान किताब पढिरहेको छु । एकैपटक तीन चार किताब पढ्छु ।

पाठकले किताब पसलमा पुगेर छानेर मात्रै किताब लिन्छन् । मैले पनि पुस्तक पसलमै गएर छान्ने गर्छु । लिष्ट गरेर किताब पढ्दै छु भन्नेसँग म विश्वस्त छैन । लिष्ट गरेको सबै किताब पढिन्छ भन्ने पनि लाग्दैन । अंग्रेजी भाषामा राम्रा किताब आएका छन् । ती किताब पढ्न सकिन्छ । जानकारीका विषयहरु छन् ।

यो पाँच दिनमा केही पनि नपढ्न पनि सक्नु हुन्छ पाठकले । कमसेकम किताब पसलमा जाने बानी बसालौं र किताब विदामा मात्रै होइन अघिपछि पनि पढ्ने बानी बसाल्यौं भने दशै छुट्टी नै चाहिँदैन ।

म पनि अघिपछि जे जस्ता किताब पढ्दै आइरहेको छु तिनै किताब सक्छु र नयाँ किताब पढ्ने सोचमा पनि छु ।

अमर न्यौपानेः झोलामा यसपालि दुईवटा किताब छन्

किताब पढ्ने आफ्नो रुचीमा भर पर्छ । कसैलाई राजनीति, ऐतिहासिक, प्रेम कथा , सामाजिक किताब पढ्न रुचाउँछन् । मैले यसपालि दुईवटा किताब मगाएको छु । दुईवटा किताब झोलामा हालेर घर जान्छु । यो भन्दा बढी किताब पढ्न पनि भ्याउदिनँ होला ।

प्रत्येक मान्छे पनि किताब हो । केही टिपोट गर्न सकिन्छ । पहिला किताब मात्रै नजिक राखेर पढिन्थ्यो । तर, अहिले लेखक नजिकै राखेर किताब राख्न सकिन्छ ।
म एकदम ढिलो पढ्छु । सुरु सुरुमा त कापीमा टिपेर पढ्थे । अहिले किताबमै केरेर पढ्छु । कम किताब पढ्ने तर बुझेर पढ्र्नुपर्छ भन्ने लाग्छ । केही लेखक साथीहरु नजिक भइयो ।

फिक्सन र नन फिक्सन एकैपटक पनि पढ्नेहरु छन् । सोसल मिडियामा पनि पढ्न रुचाइएका बुकहरु पनि पोष्ट गरिरहेका छन् । छुटेको अनुहारले तानेको छ मलाई सायद सखीको आञ्चलिकताले तानेको छ । सुविनको पि्रय सुफी पनि पढ्न सकिन्छ । नयनराज दाइका किताब उलार लु पनि पढ्न सकिन्छ ।

राजेन्द्र पराजुलीः दशैंमा परिवारलाई समय दिनुपर्छ

मेरो अघोरी कथा संग्रह भर्खरै आएकाले यसैको तयारीमा लागेको छु । आˆनो किताबलाई अलि समय दिनु परेकाले अन्य किताबलाई कमै समय दिन पाउछु होला । तैपनि मैले गत बैशाख १३ गते परेको मेरो जन्मदिनमा पाएको उपहार अमिताभ घोषको ‘दि ग्लास प्यालेस’ पढ्ने मुडमा छु ।

दशै विदा उसै पनि घरपरिवारलाई दिनुपर्छ । वर्षभरि दिन नसकेको समय दशैको चाड पारेर घरलाई दिनुपर्छ । यो रमाइलो र अभिभावकसँगको आर्शिवाद लिने बेला भएकाले आनन्ददायी खालको पुस्तक पढ्न पर्‍यो । यसपटक दशैको छेको पारेर नेपाली साहित्यमा थुप्रै पुस्तक बजारमा आएका छन् ।

सबै पुस्तक पढ्न सम्भव त नहोला । तर, आफ्नो रुचिअनुसारको किताब छानेर पढ्ने छु म । अहिले दशैंका लागि भनेर चारवटा किताब किनेको छु सबै पढ्न सकुला या नसकुला तर ‘दि ग्लास प्यालेस’ चाहिँ अवश्य पढ्नेछु ।

राम लोहनीः दशैंमा धेरै किताब पढ्न सक्दिनँ

केही व्यक्तिहरु यति पढ्ने भनेर लिष्टै निकालेर सार्वजनिक गर्छन् । तर महिलाहरु चाडबाडमा व्यस्त हुने र पुरुषहरु भने पढ्ने अवसर हुन्छन् भनिन्छ । दशैको छुट्टी कोही तास खेलेर पनि बिताइदिन्छन् । म दशैको छुट्टीमा धेरै पढ्न भ्याउदिनँ । म ननफिक्सन नै पढ्छु होला । मेरो चासो पनि ननफिक्सनमा छ ।

चाडबाडको बेला बढी समय परिवारलाई दिनुपर्ने भएकाले मैलेचाहिँ धेरै किताब पढ्न सक्दिनँ । दर्शन र धार्मिक किताबहरु पढ्ने सोचमा छु । अघिपछि भन्दा दशैंका बेला म धेरै कम किताब पढ्न पाउदिनँ । एकपटक तीनचारवटा किताब पनि पढिरहेको हुन्छु । अहिले आएर आत्माकथ ामाथि मेरो रुची बढेको छैन् । तर, ‘न्याय’ पढ्दै छु । केही किताब मगाइ पनि रहेको छु ।

सुविन भट्टराईः आफ्नो रुची अनुसारको किताब रोज्नोस्

यसपालिको दशैअघि मेरो आफ्नै किताब पि्रय सुफी आउने भएकाले अलि विजी नै हुन्छ । दशैको विदामा भने म पाउलो कोएल्लोको हिप्पी र मिच एल्बमको फायब पिपल यू मिट इन हेभन पढ्ने बिचारमा छु ।

र, पाठकहरुलाई आˆनो रुची अनुसारको किताब खोज्न आग्रह पनि गर्छु । फिक्सन पढ्ने कि ननफिक्सन पढ्ने, त्यो आफ्नो रोजाइमा भर पर्छ । हिप्पीले संसारको मार्केट तताएको बेला छ अहिले । सायद राम्रै पनि होला । ननफिक्सन पढ्ने भए युवाल नोह हारारीको ‘सेपियन्स’ छान्दा पनि हुन्छ ।

महेश पौड्यालः नेपालीसँगै हिन्दी, अंग्रेजी पनि पढौं

यो दशैंमा म गैरआख्यानसतिर बढी लागेको छु । बसन्त बस्नेतको ‘७२ को विष्मय’ दुर्गा सुवेदीको ‘विमान विद्रोह’ तथा सुशीला कार्कीको ‘न्याय’ तालिकामा राखेको छु । सिर्जनातर्फ रामलाल जोशीको सखी पछि छ ।

भर्खर दिल्लीको भ्रमणबाट मैले केही अंग्रेजी पुस्तक ल्याएको छुु । जसमा गोपीकृष्ण कुट्टुरका कविता अजीत कौरको सम्पादनमा रहेको केही आख्यान र गैर आख्यान तथा उत्तराखण्डका आख्यानकार हरिसुमन विष्टको एउटा उपन्यास सामेल छन् । ती पनि पढ्ने योजनामा छु ।

कस्ता किताब पढ्न सुझाव दिउँ भनिरहनुपर्दैन । पाठकहरु पनि आफैं प्रबुुद्ध हुनुहुन्छ । फेरि पुस्तक छनोट पनि आ-आफ्नो रुची अनुसारको हुने पर्छ । तर, एउटा कुराचाहिँ भनौं – स्वदेशीसँगै विदेशी पुस्तक पनि पढ्ने बानी बसाउनुपर्छ । यसले समझको दायारा बढाउँछ ।

नेपालीसँगसँगै आफ्नो पहुँचमा भएका हिन्दी अंग्रेजी आदि भाषाका किताब पनि पढौं । तिनीहरूले हामीलाई थप फराकिलो बनाउँदै लैजान्छ । एउटा सानो पोल पनि खोलौं मेरा पाठकलाई थाहा छ, म छोटा-छोटा कविता पनि लेख्छु । यो दशैंमा तिनीहरुलाई पनि संकलन गर्ने र दशैपछि प्रकाशित गर्ने योजना पनि बनाएको छु ।

रामलाल जोशीः लिष्टमा न्याय र विमान विद्रोह

दशैंअघि मेरो आफ्नै कृति सखी बजारमा आएकाले उक्त किताबको प्रमोटका लागि हिँड्नुपर्ने छ । र आफूसँग दशैको कम विदा भएकाले साहित्यक र समाजशास्त्र सम्बन्धी केही किताबहरू पढ्ने छु ।

साथै सुशीला कार्कीको ‘न्याय’ दशै विदामा विशेष पढ्ने लिष्टमा रहेको छ । साथै दुर्गा सुवेदीको ‘विमान विद्रोह’ पनि पढ्ने छु ।

विदेशी लेखकमा पाउलो कोएल्लोको केही किताबलाई छानेको छु । साथै मनु शर्माको कृष्णको आत्मकथालाई पनि पढ्ने सोचमा छु ।

सगुना शाहः दशैंको रोजाइ फिक्सन

यसपालिको दशैमा फाष्र्ट रिडर्सका लागि दुईवटा किताबसम्म पढिन्छ होला । र, म एउटासम्म पढ्न सकुला । र, पढ्नेहरुलाई लागि छुट्टी नै चाहिन्छ भन्ने लाग्दैन मलाई । छुट्टी नहुँदा पनि मेरो झोलामा दुई चार किताब सधैं रहन्छन् । र, विद्यार्थीहरुलाई भने यस किसिमको छुट्टीले थप अन्य किताब पढ्न सहयोग पुर्‍याउँछ होला । म एकै समयमा धेरै किताब पढ्ने गर्छु । म फिक्सन पढ्ने छु । र पढिरहेको किताब ‘द बेस्ट एसियन सर्ट स्टोरी’, ‘जोय २४ एक्स सेभन’ हुन भने पाउलो कोइल्लोको ‘हिप्पी’ जस्ता किताब यसपालिको दशैंमा पढ्ने बिचारमा छु ।

पाठकलाई केले तान्छ भन्ने लागेर नै किताब छानिने गरिन्छ । त्यस्तै पाठक भएर म किताब छान्ने गर्छु । विभिन्न किसिमको पाठक हुन्छन् । तर, किताब पढ्ने अभ्यास बढाउनका लागि फिक्सन किताब नै पढ्नुस भन्न चाहन्छु । त्यसपछि आˆनो रुची अनुसार पढ्नुस् भन्न चाहन्छु ।

हरिमाया भेटवालः बजारमा आएका पढ्छु

बजारमा आएका केही किताब पढ्ने सोचमा छु । राजेन्द्र पराजुलीको अघोरी कथा, रमेश सायनको छुटेको अनुहार, मुक्तान थेवाको कविता सुशीला कार्कीको ‘न्याय’ लगायत यसपालिको दशैमा पढ्ने सोच छ । तर कति सक्छु भन्नेबारे पढ्दै गएपछि थाहा हुने कुरो न हो ।

दशैंको किताब पढ्ने भनेको सबैलाई खुशी बनाएर, मीठा परिकार खुवाउने खाने र आफन्तहरुसँग भेटघाटमा रमाएर बचेको समयमा पढ्ने हो । तैपनि केही किताबचाहिँ अवश्य पढ्ने छु । र, किताब पढ्ने समय अघिपछिको भन्दा दशैमा कम हुन्छ मसँग ।

पर्ल एस बकको कल्याणी धरतीलाई पढ्न अनुरोध गर्दछु र सामाजिक उपन्यासहरु पढ्न सके समाजलाई बुझ्न सकिन्छ भन्ने हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment