Comments Add Comment

सेलिब्रेटीको फेसबुक दशैंमय, को भन्दा को कम ?

दशैंको रौनक चढ्दै गर्दा एउटा ठट्यौली ट्रोल भएको थियो, जसमा लेखिएको थियो, ‘टिकाको साइत ९ः५१ मा, फेसबुकमा फोटो अपलोड गर्ने साइत १०ः०० बजे ।’

हुन त जमाना नै फेसबुकको छ । त्यसैले त फेसबुक दशैमय भएको छ । यस्तो लाग्छ, दशैंको टिको थाप्नेभन्दा पनि फेसबुकमा फोटो अपलोड गर्ने हतारो छ सबैलाई । यस्तो काममा सेलिब्रेटीहरु किन पछि पर्थे ?

धेरैजसो नेपाली सेलिब्रेटीले पनि ‘दशैं स्पेशल फोटो’ले फेसबुकलाई रातै बनाएको छ । यसमा अभिनेत्री रेखा थापादेखि केदार घिमिरे माग्नेबुढासम्मको तँछाड-मछाड चलेको छ ।

अभिनेत्री रेखा थापाले यसपाली पारिवारिक रमझममा टिका थापेको तस्विर पोस्ट गरेकी छिन् । रातो कुर्तामा सजिएकी रेखाले केही थान तस्विर पोस्ट गर्दै दुई शब्द लेखेकी छिन्, ‘ह्याप्पी टिका ।’

अर्की अभिनेत्री प्रियंका कार्कीले यसपाली हुनेवाला श्रीमान्सँग टिका थापेकी छिन् । अभिनेतासमेत रहेका आयुशमान देशराज जोशीसँग उनले आफ्ना आमाबुबाको हातबाट टिका थापेको तस्विर फेसबुकमा अपलोड गरेकी छिन् । प्रियंका ले यस मेसोमा विभिन्न पोजको फोटो खिचाएकी छिन् ।

तेस्रो पुस्ताकी अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह आफ्ना समकक्षीभन्दा एक कदम अघि छिन् । उनले रातो कुर्तामा रातै टिका र जमरा लगाएको तस्विर फेसबुकमा राखेकी छिन् । यसो भन्दै, ‘टिका २०७५’

अब लागौं माग्नेबुढातर्फ । माग्नेबुढा अर्थात केदारप्रसाद घिमिरेलाई यसै दशैं, उसै दशैं । फिल्म ‘छक्का पञ्जा-३’को ह्याङओभरकै बिच उनले टिका थापेका छन् । ढाका टोपीमा मख्ख पर्दै उनले श्रीमती सीतादेवी तिमल्सिनासँगको तस्विर पोस्ट गरेका छन् । उनले लेखेका छन्, ‘ल है, टिका लगाइयो, आर्शिवाद पाइयो । हजुरहरुको पनि आर्शिवाद पाउँ ।’

धुर्मुस सुन्तली अर्थात सीताराम कट्टेल-कुञ्जना घिमिरेले फेसबुकका असली प्रयोगकर्ता नै हुन् । उनीहरुले पलपलका तस्विर फेसबुकमा अपलोड गर्ने गरेका छन् । दशैंको तस्विर किन छुटाउथे ?

उनीहरुले यसपाली आफ्ना जोडीको मात्र होइन, छोरी र समग्र परिवारकै तस्विर पोस्ट गर्दै फेसबुकलाई दशैंमय बनाइदिएका छन् । सीताराम दौरा सुरुवाल र टोपीमा खास्सा देखिएका छन् । कुञ्जना रातो कुर्तामा निकै खुलेकी छिन् ।

अब लागौं, मेलिना राईतर्फ । अहिलेका सर्वाधिक व्यस्त गायिका मेलिनालाई टिका थाप्ने फुर्सद मिलाउन पनि गाह्रै परेछ । उनले टिका थाप्दै गरेको तस्विर पोस्ट गरेकी छिन् र आफु निकै हतारमा रहेको उल्लेख गरेकी छिन् । मेलिनाले सेतो टिका लगाएकी छिन् । आफु कुनै कन्र्सटका लागि जानुपर्ने भएकाले राम्ररी टिका लगाउन र फोटो खिच्न नपाएको उल्लेख गरेकी छिन् । लेखेकी छिन्, ‘हतारमा राम्ररी फोटो लिन नपाएको अवस्था ।’

यता वर्षा सिवाकोटीले पनि दशैं तस्विर पोस्ट गर्नमा अल्छी गरेकी छैनन् । उनले हरियो पृष्टभूमीको कुर्ता लगाएर टिका थाप्दै गरेको तस्विर खिचाएकी छिन्, ‘दशैं २०७५’ भन्दै । त्यसै त अभिनेत्री, फोटोको पोज दिने कुरामा किन पछाडि हट्ने ?

वर्षाले थरीथरीका पोजमा तस्विर अपलोड गरेकी छिन् । एउटा तस्विरमा उनका परिवारका सम्पूर्ण सदस्यले एकमुष्ठ टिका लगाइदिदै गरेको तस्विर राखेकी छिन् ।

कलाकार हरिवंश आचार्यले श्रीमती रमिला, छोरो मोहितबंश र बुहारीसहितको तस्विर पोस्ट गरेका छन् । र, लेखेका छन्, ‘हाम्रा दशैं सुरु भयो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment