Comments Add Comment

युट्युबमा भिडियो हालेर अर्बौं कमाउँछन् २७ वर्षे तन्नेरी

फुर्सदको समयमा रिफ्रेस हुन र विभिन्न सूचनाको लागि विश्वभरका मानिसले भिडियो सेयरिङ साइट युटयुबको प्रयोग गर्ने गर्छन् । यही युट्युबबाट कैयन युट्युबरले करोडौं पैसा कमाइरहेका छन् ।

युट्युब भनेको भिडियोहरु हेर्नको लागि मात्रै हो भन्ने हाम्रो मान्यता रहेको छ । तर, युट्युबमा सिर्जनात्मक भिडियोहरु राखेर अथाह पैसा पनि कमाउन सकिन्छ । त्यसको उदाहरण हुन्, बेलायतका २७ वर्षीय तन्नेरी डेनियल रोबर्ट मिडलटन ।

विश्वचर्चित फोब्र्स म्यागेजिनले सन् २०१७ मा उनलाई विश्वकै सबैभन्दा धेरै पैसा कमाउने युट्युबरको सूचीमा पहिलो स्थानमा राखेको छ । फोर्ब्सका अनुसार उनले सन् २०१७ मा मात्रै युट्युबबाट १६ दशमलब ५ मिलियन डलर अर्थात एक अर्ब नब्बे करोड रुपैंयाभन्दा धेरै कमाएका थिए ।

को हुन् मिडलटन ?

सन् १९९१ नोभेम्बर ८ मा बेलायतमा जन्मिएका डेनियल रोबर्ट मिडलटनलाई धेरैले उनको युट्युब च्यानल ‘ड्यानटिडिएम’बाट चिन्ने गर्छन् । उनको भिडियो च्यानलमा भिडियो गेम माइनक्र्याफ्टहरुको बारेमा आधारित कन्टेन्टहरु रहेका छन् ।

मिडलटनको जन्म बेलायतको अल्डरसटमा भएको थियो । उनको एक भाइ पनि छन् । उनी सानै हुँदा उनको आमाबुबाले डिभोर्स गरेका थिए ।

उनी युट्युबरमात्रै नभई एक लेखकसमेत हुन् । उनले दुई वर्षअगाडि ‘टायारुस एण्ड द इनच्यान्टेड क्रिस्टल’ नामको एक ग्राफिक उपन्यास प्रकाशित गरेका थिए ।

उक्त उपन्यासको पात्रहरुमा उनको युट्युब च्यानलकै पात्रहरु अर्थात डानटिडिएम आफैं, उनको कुकुर ग्रिम र डाक्टर टायारुस रहेका छन् । उक्त उपन्यास द न्यूयोर्क टाइम्सको बेस्टसेलर लिस्टमा धेरै समयसम्म नम्बर एक स्थानमा रहिरहन सफल भयो । त्यस्तै जापानमा पनि उक्त उपन्यास धेरै चर्चित भयो ।

आफ्नो च्यानलको सब्सक्राइबर १ लाख पुगेको उपलक्ष्यमा उनले सन् २०१३ मा पहिलोपटक भिडियोमार्फत आफ्नो वास्तविक अनुहार सार्वजनिक गर्दै फ्यानहरुलाई धन्यवाद दिएका थिए ।

मिडलटनले आफ्नी प्रेमिका जेम्मासँग सन् २०१३ मार्चमा विवाह गरेका थिए ।

यसरी सुरु गरे युट्युव च्यानल

युनिभर्सिटी अफ नर्थह्याम्पटनबाट शिक्षा लिएका मिडलटन सानैदेखि सिर्जनशील थिए । विश्वविद्यालयमै रहँदा उनले सन् २०१० मा पोकेमन खेल्नेहरुलाई लक्षित गरेर युट्युव च्यानल सञ्चालनमा ल्याएका थिए जसमा उनले आफूलाई ‘पोकेम्यान ड्यानएलभी ४५’ नामले चिनाएका थिए ।

पछि सन् २०१२ मा उनले ‘द डायमण्ड माइनक्राफ्ट’ युट्युव च्यानल सञ्चालनमा ल्याए जसको धेरैजसो दर्शक ५–१० उमेर समूहका बच्चाहरु रहेका छन् ।

विस्तारै उनको भिडियो मन पराउनेको संख्या बढ्दै गयो र उनको च्यानल सब्सक्राइब गर्नेको संख्या पनि दिन दुई गुणा रात चौगुणाले बढ्न थाल्यो । सन् २०१५ जुलाईमा उनको च्यानल दर्शक संख्याको आधारमा विश्वभरको लोकप्रिय युट्युव च्यानलमध्ये एक बन्यो ।

मिडलटनले सन् २०१६ मा च्यानलको नाम ‘द डायमण्ड माइनक्राफ्ट’लाई परिवर्तन गरेर ‘डानटिडिएम’ राखे । सुरुमा उनको च्यानल माइनक्राफ्ट गेममा मात्रै आधारित थियो तर पछि उनले च्यानलको नाम परिवर्तनसँगै अन्य भिडियो गेमका पनि भिडियोहरु राख्न थाले ।

दुई करोडभन्दा धेरै प्रयोगकर्ताहरुले सब्स्क्राइब गरेको उनको च्यानल बेलायतमा टप युट्युब च्यानलको रुपमा सूचीकृत छ । उनको च्यानलमा राखिएका भिडियोहरु १३.४ अर्ब पटक हेरिएको छ ।

उनले आफ्नाे अर्को च्यानल मोर टिडिएमबाट भिडियो गेमबाहेक आफ्नो दैनिक र व्यक्तिगत जीवनको भिडियोहरु सार्वजनिक गर्ने गरेका छन् । उक्त च्यानलमा पनि ३२ लाखभन्दा धेरै सब्सक्राइबरहरु रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment