+
+
Shares

युट्युबले अमेरिकाका डेस्कटप प्रयोगकर्ताका लागि उपलब्ध गरायो ‘आस्क युट्युब’ एआई असिस्टेन्ट

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २५ गते १६:५२

युट्युबले आफ्नो एआई सञ्चालित ‘आस्क युट्युब’ लाई अमेरिकाका डेस्कटप प्रयोगकर्ताहरूका लागि पनि उपलब्ध गराएको छ। सन् २०२३ मा पहिलो पटक मोबाइल एपमा सार्वजनिक गरिएको यो फिचरले प्रयोगकर्ताहरूलाई प्रश्नहरू सोधेर नयाँ सामग्रीहरू खोज्न मद्दत गर्दछ।

युट्युबका अनुसार आस्क युट्युब एउटा नयाँ सर्च अनुभव हो । जसलाई जटिल प्रश्नहरूको खोज गर्न र प्रयोगकर्ताको जिज्ञासा भएका विषयहरूको गहिराइमा पुग्न सहयोग गर्ने गरी डिजाइन गरिएको हो।

यो सामान्य सर्च बारको पूरकको रूपमा रहनेछ । जसले प्रयोगकर्ताका प्रम्प्टहरूको जवाफ दिनका लागि सान्दर्भिक भिडियो क्लिपहरू, मुख्य भिडियोहरू र सर्ट्सहरूलाई उपयोगी टेक्स्ट विवरणका साथ प्रस्तुत गरी सबैभन्दा उपयोगी सामग्रीसम्म छिटो पुर्‍याउँछ।

युट्युबले प्रयोगकर्ताहरूलाई सामान्य सर्चका शब्दहरू मात्र प्रयोग गर्नुको सट्टा अझ लामा प्रश्नहरू सोधेर यस टुलको प्रयोग गर्न सुझाव दिएको छ। कम्पनीले यसका लागि केही प्रम्प्टका उदाहरणहरू पनि प्रस्तुत गरेको छ।

जस्तै कुनै भ्रमणको योजना बनाउँदा ‘के तिमी मलाई सान फ्रान्सिस्कोदेखि सान्टा बार्बरासम्मको तीन दिने कम बजेटको सडक यात्राको योजना बनाउन मद्दत गर्न सक्छौ?’ भनी सोध्न सकिन्छ। त्यसैगरी कुनै सिप सिक्नका लागि ‘बच्चालाई साइकल चलाउन सिकाउने चरणबद्धिक निर्देशनहरू के-के हुन्?’ भनी प्रश्न गर्न सकिन्छ।

सामानहरूको तुलना गर्नका लागि ‘ट्राभलका लागि सबैभन्दा उत्कृष्ट नोइज-क्यान्सिलिङ हेडफोनहरूको तुलना गर’ भन्न सकिन्छ भने कुनै सामग्रीको भित्री अर्थ बुझ्नका लागि ‘यो गीतको शब्द पछाडिको अर्थ के हो?’ भनी सोध्न सकिनेछ। प्रयोगकर्ताले कुनै पनि विषयमा अझ विस्तृत जानकारी पाउनका लागि ‘आस्क अ फलो-अप’ सेक्सन अन्तर्गत थप उप-प्रश्नहरू पनि सोध्न सक्नेछन्।

यो आस्क युट्युब फिचर एउटा वैकल्पिक एड-अनको रूपमा मात्र रहनेछ, जसले गर्दा युट्युबको परम्परागत सर्च बारले सधैँ जस्तै सामान्य रूपमै काम गरिरहनेछ। पछिल्लो समय अधिकांश डिजिटल प्लेटफर्महरूमा एआईमा आधारित सर्च टुलहरू एउटा मानक बनिसकेका छन् ।

यद्यपि, युट्युबले यस फिचरलाई कम्प्युटर वा डेस्कटप संस्करणमा ल्याउन भने निकै समय लगाएको छ। यो फिचर अमेरिकाका १३ वर्ष वा सोभन्दा माथिका र अकाउन्ट लग-इन (साइन-इन) गरेका सबै प्रयोगकर्ताका लागि उपलब्ध भएको छ।

युट्युबका अनुसार यसको प्रयोग सुरु गर्नका लागि सर्च बारमा रहेको आस्क युट्युब बटनमा क्लिक गरी आफ्नो भाषामा प्रश्न टाइप गर्नुपर्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?