Comments Add Comment

प्यूठानको बाइसधारा ओझेलमा, पर्यटकीय गन्तव्य बनाउन स्थानीयको माग

६ कात्तिक, प्यूठान । प्यूठानको प्यूठान नगरपालिका-९ मरन्ठाना पाखाचीतिस्थित बाइसधारा बुलबुले मुल प्रचार प्रसारको अभावमा ओझेलमा परेको छ । आन्तरिक तथा बाहृय पर्यटकको गन्तव्य भएको बाइसधारा संरक्षण र लगानीको अभावले ओझेलमा परेको हो ।

पर्यटकीय सम्भावना बोकेको बाइसधारा बुलबुलेमा भौतिक पुर्वाधारको विकास र प्रचार प्रसारमा स्थानीय सरकारले प्राथमिकता नदिएको स्थानीयले गुनासो गरेका छन् ।

प्यूठानका स्वगद्वारी, गौमुखी, भित्रीकोट, ऐरावती, विजुलीकोट, मल्लरानीसँगै बाइसधारा बुलबुले मुल पनि पर्यटकीय गन्तव्य बन्न सक्ने स्थानीय अनबहादुर भण्डारीले बताए । उनले भने, ‘यहाँ आउनेहरुको संख्या बढ्दै गए पनि पर्यटकीय गन्तव्यमा पर्न सकेको छैन ।’

माघे संक्रान्तिको अवसरमा यहाँ विशेष मेला लाग्ने गर्दछ । माघे संक्रान्तिको दिन प्रायः नदी, खोला, कुवामा गएर स्नान गरी शुद्ध हुने भएकाले यस स्थानमा पनि नुहाउने पर्यटकहरुको घुइँचो लाग्ने गर्दछ । स्थानीयकै सक्रियतामा माघीकै अवसरमा प्रत्यक वर्ष लोक नृत्य, धनुषवाण प्रतियोगिता, नाचगान गरी पर्यटकहरुलाई मनोरञ्जन प्रदान गरिदै आएको स्थानीय बोमबहादुर भण्डारी बताउँछन् ।

साविकको मरन्ठाना गाविसले २०७१ सालमा १५ हजार अनुदान दिएसँगै उक्त क्षेत्रको संरक्षणमा स्थानीयबासी लागेका हुन् । २०७३ सालमा सांसद विकास कोषबाट २ लाख र प्यूठान नगरपालिकाको १ लाख लगानीमा उक्त स्थानमा २२ वटा धारा निर्माण गरिएको थियो । सिमसार क्षेत्र र पानी प्रयाप्त भएकाले सो क्षेत्रमा २२ वटा धारा निर्माण गरी आन्तरिक तथा बाहृय पर्यटनको केन्द्रको रुपमा विकास गर्न प्रयास गरिएको हो ।

पर्यटनको प्रचुर सम्भावना रहेको यस स्थानमा आवश्यक भौतिक संरचना निर्माण गरी स्थानीय तहले नियमित आन्तरिक आम्दानीको श्रोतको रुपमा विकास गर्न पहल गर्नुपर्ने प्रदेश सांसद कृष्णध्वज खड्काले बताए । प्यूठान नगरपालिका क्षेत्र भित्रका पर्यटकीय सम्भावना बोकेका क्षेत्रहरुको गुरुयोजना तयार गरी पर्यटन प्रवर्द्धनमा लगानी गर्ने मेयर अर्जुन कुमार कक्षपतीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment