Comments Add Comment

कात्तिक ९ र १० गते काठमाडौंमा पण्डित सम्मेलन

६ कात्तिक, काठमाडौं ।  राष्ट्रिय धर्मसभा नेपालले कात्तिक ९ र १० गते राजधानीमा पाँचौँ पण्डित सम्मेलन गर्ने घोषणा गरेको छ । मंगलबार धर्मसभा नेपालले पत्रकार सम्मेलन गरी पण्डित सम्मेलनमा हिन्दू, बौद्ध, जैन, सिख समुदायका पण्डित, पुरोहित, लामा, ज्योतिषी गरी ५०० भन्दा बढी व्यक्ति सहभागी हुने जानकारी गराएको हो ।

सम्मेलनमा भाग लिन भारतबाट समेत ३० जना पण्डितको समूह आउने जनाइएको छ । नेपालका मौलिक धर्म, संस्कार, संस्कृति र परम्परालाई जीवन्त राख्ने उद्देश्यले सम्मेलन आयोजना गर्न लागिएको कार्यक्रम संयोजक पवित्रबहादुर खड्काले जानकारी दिए ।

सम्मेलनमा नेपालको धार्मिक तथा सामाजिक क्षेत्रमा देखिएका समस्या र समाधानका उपाय, धर्मशास्त्रसँग बाझिएका महिलासम्बन्धी कानूनी व्यवस्थाको चिरफार र चौथो पण्डित सम्मेलनको समीक्षा गरिनेछ । सहभागीले उठाउने धर्मशास्त्रीय विषयका जिज्ञासाको समाधान धर्मशास्त्रविद्ले गर्ने गरी व्यवस्था मिलाइएको जनाइएको छ ।

काजक्रिया घटाउने, आशौच र व्रत खण्डित गर्नेलगायत गतिविधिले मौलिक धर्म संस्कृतिमाथि आघात पुग्न थालेकाले संरक्षणका उपायका बारेमा सम्मेलनमा छलफल गरिने आयोजक समितिका सदस्य कृष्णप्रसाद खनालले बताए ।

पत्रकार सम्मेलनमा दशैँ, तिहारजस्ता महत्वपूर्ण पर्वको साइत नेपाल पञ्चाङ्ग निर्णायक समितिले स्वीकृत गर्ने पात्रो (पञ्चाङ्ग) मै राख्न माग गरिएको छ ।  समितिले केही व्यक्तिको परामर्शमा मात्र साइत निकाल्दा त्रुटि बढ्न थालेकाले बृहत् भेलाबाट साइतलगायत महत्वपूर्ण निर्णय गर्नुपर्नेमा जोड दिइएको हो । विसं २०७६ को पञ्चाङ्गमा सबै साइत राख्ने व्यवस्था गर्न माग गरिएको हो ।

धर्मसभाका अध्यक्ष एवं समितिका पूर्वअध्यक्ष प्रा. डा. माधव भट्टराईले घटस्थापनाका दिन चित्रा र वैधृति शान्ति गरेर जमरा राख्नुपर्नेमा साइत मात्र सार्वजनिक गर्दा सर्वसाधारण अन्योलमा परेको बताए ।

‘पहिले सरोकार भएका सबैलाई राखेर बैठक गरी निर्णय गरिन्थ्यो, त्यो परम्परा तोडिएकाले विजयादशमीका दिन ९ : ३९ बजे देवी विसर्जन गरेर ९ : ५१ मा देवीको प्रसाद लगाउने साइत दिइयो,  हनुमानढोकामा देवी विसर्जन गरेर १२ मिनेटमा राष्ट्रपति निवास पुग्न सकिन्छ कि सकिँदैन भन्नेसम्म पनि विचार गरिएन’, उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment