Comments Add Comment

तेस्रो सैनामैना महोत्सव आजदेखि

८ कार्तिक, बुटवल । रुपन्देहीको सैनामैनाको मुर्गियामा आजदेखि तेस्रो राष्ट्रिय सैनामैना कृषि पर्यटन तथा औद्योगिक व्यापार मेला शुरु हुने भएको छ ।

‘देश निर्माणमा व्यापारको आवश्यकता, व्यावसायिक हितसँगै सामाजिक एकता’ नाराका साथ सञ्चालन हुने महोत्सवमार्फत् सैनामैना नगरपालिकालाई व्यापार ग्रामको रुपमा विकास गर्ने आयोजकको लक्ष्य छ ।

सैनामैनाको समग्र विकास र समृद्धिका लागि कृषि उत्पादनको बजार प्रवद्र्धन गर्नुका साथै सैनामैनामा रहेका ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्रलाई प्रचारप्रसार गर्नु मेलाको मुख्य उद्देश्य रहेकोे संघका अध्यक्ष एवं मेलाका संयोजक जीवनाथ पाण्डेले जानकारी दिए ।

११ दिनसम्म चल्ने मेलामा राष्ट्रिय तथा बहुराष्ट्रिय कम्पनी, कृषि, तयारी पोशाक, बैंक तथा वित्तीय संघ संस्था, अटो मोबाइल्सलगायतका दुई सय बढी स्टल रहेका छन् । १० करोड बराबरको आर्थिक कारोबार तथा डेढ लाख दर्शकले मेलाको अवलोकन गर्ने अनुमान गरिएको छ ।

महोत्सवमा अपांग, बालबालिका तथा ७० वर्षमाथिका जेष्ठ नागरिकलाई निःशुल्क प्रवेश दिइने प्रचारप्रसार समितिका संयोजक दीपेन्द्र ढकालले जानकारी दिए ।

सैनामैना व्यापार संघको आयोजनामा हुने मेलाको उद्घाटन प्रदेश ५ का माननीय मुख्यमन्त्री शंकर पोखरेलले बिहीबार दिउँसो गर्ने कार्यक्रम छ ।

महोत्सवको मुख्य प्रवेशद्वार सैनामैनामा अवस्थित ऐतिहासिक महत्त्व बोकेको पर्रोहा परमेश्वर बोलबम धाम मन्दिरको आकारमा निर्माण गरिएको छ ।

सैनामैनाको विशेषता एवं पहिचान झल्काउने र पशुपतिनाथपछिको पश्चिम क्षेत्रकै दोस्रो पशुपति भनेर चिनिने बोलबम मन्दिरलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा प्रर्वद्धन गर्नका लागि बोलबम मन्दिरको आकारको गेट निर्माण गरिएको आयोजकले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment