+

माछापुच्छ्रेको काखमा ‘क्रिकेट उत्सव’

२०७५ कात्तिक  ८ गते १३:४९ २०७५ कात्तिक ८ गते १३:४९
माछापुच्छ्रेको काखमा ‘क्रिकेट उत्सव’

८ कात्तिक, पोखरा । नेपालकै उत्कृष्ट पर्यटकीय गन्तव्य मानिने पोखराले अबका दुई साता देशभरका क्रिकेटप्रेमीहरुको ध्यान तान्ने छ । पहिलोपटक आयोजना हुन लागेको पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट भोलिदेखि यहाँ सुरु हुँदैछ ।

मर्मत सम्भारपछि काँचुली फेरेको पोखरा रंगशालामा नेपालको सर्वाधिक पुरस्कार राशीको टी-२० फ्रेन्चाइजको रुपमा पीपीएलको पहिलो संस्करण आयोजना हुन लागेको हो । प्रतियोगिताको आयोजक क्विन्स इभेन्ट म्यानेजमेन्ट प्रालीले सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । माछापुच्छ्रेको काखमा चौका र छक्का हान्न खेलाडीहरु उत्साहित छन् ।

केही समयअघिसम्म बगरजस्तो लाग्ने क्रिकेट मैदान अहिले चिटिक्क र मनमोहक देखिन्छ । उत्तरतर्फ फर्केर ब्याट घुमाउँदा माछापुच्छ्रे ठिक्क सामुन्ने पर्छ । त्यसैले अहिले पोखराको क्रिकेट मैदान विश्वकै नमुना भएको दाबी गर्छन् नेपाली क्रिकेट टिमका प्रशिक्षक जगत टमाटा ।

‘पीपीएलले पोखरालाई अझ ब्रान्डिङ गर्नेछ’ टमाटाले अनलाइनखबरसँग भने, ‘हिमाललाई हिमाललाई पृष्ठभूमिमा राखेर ब्याटिङ-बलिङ गर्ने अवसरमा संसारमै दुर्लभ हो ।’

पीपीएलकै क्रममा विश्वकप क्रिकेटको ट्रफी पनि पोखरा लगिनेछ । यसले पनि पोखरा मैदानलाई विश्वसामू पुर्‍याउन मद्दत गर्ने पीपीएल आयोजक क्विन्ट इभेन्ट म्यानेजमेन्टका प्रबन्ध निर्देशक छुम्बी लामा बताउँछन् ।

प्रतियोगिताका लागि ६ वटै टिमका खेलाडीहरु पोखरा पुगिसकेका छन् । केही दिनदेखि पोखराको आकास खुलेको छ, यसले गर्दा क्रिकेट मैदानको पृष्ठभूमिमा अन्नपूर्ण हिमश्रृंखला प्रष्ट देखिन्छ ।

‘पोखरामा खुलिरहेको हिमाल, अनुकुल बन्दै गएको मौसम, चिटिक्क बनेको मैदानले उत्साही बनाएको छ’ चितवन राइनोजको नेतृत्व गर्दै मैदान उत्रन लागेका राष्ट्रिय टोलीका कप्तान पारस खड्का भन्छन्, ‘पोखराको स्वच्छ वातावरणमा स्वच्छ खेल प्रदर्शन गर्ने र आफैंलाई चिन्ने यो सुनौलो अवसर हो ।’

पीपीएलले नेपाली क्रिकेट र पोखराको सम्भावनालाई समेत उजागर गर्न सहयोग पुग्ने उनको विश्वास छ । उनले भने, ‘झण्डै ७ हजार मिटर अग्लो हिमालको काखमा विदेशी खेलाडीलाई समेत सहभागी गराएर प्रतियोगिता हुनु आफैंमा महत्वपूर्ण हो ।’

राष्ट्रिय टोलीका उपकप्तान ज्ञानेन्द्र मल्ल पनि उत्तिकै जोशमा छन् । ‘यहाँबाट देखिने हिमाल र प्रकृतिले मलाई मोहित बनाउँछ,’ पीपीएलमा काठमाडौं रोयल्सको मार्की प्लेयर रहेका मल्लले भने, ‘त्यही पोखराको क्रिकेट मैदानमा खेल प्रदर्शन गर्न एक्साइटेड छु ।’

पीपीएल खेलाडीहरुका लागि मात्र होइन, नेपाली क्रिकेट र पोखरेलीका निम्ति एउटा अवसर भएको धनगढी ब्लुजका कप्तान दिपेन्द्रसिंह ऐरी बुझाइ छ । यसैगरी बुटबल ब्लास्टरका कप्तान सोमपाल कामीले आफ्नो परीक्षा आफैं लिर्ने अवसरका रुपमा यस प्रतियोगितालाई बुझेका छन् ।

नेपाल क्रिकेट संघ (क्यान) का पूर्व उपाध्यक्ष दीपक कोइराला पीपीएलले गण्डकी प्रदेशलाई नै चिनाउने बताउँछन् । ‘यो प्रतियोगिताले पोखरा मात्रै होइन, गण्डकी प्रदेशलाई नै ब्रान्डिङ गर्न सघाउने छ’ प्रदेशसभा सांसदसमेत रहेका कोइरालाले भने, ‘गण्डकी प्रदेशले सन् २०२२ सम्म २० लाख पर्यटक भित्र्याउने लक्ष्यलाई पीपीएलले पनि मद्दत गर्छ ।’

तस्वीरः सुदर्शन रञ्जित/अनलाइनखबर

क्रिकेट पोखरा

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय