Comments Add Comment

रमेशको बोन्साइ प्रेम : बेच्दा छोरी अन्माएझैं लाग्छ !

७ असोज, काठमाडौं । पेशाले प्राध्यापक हुन् रमेश कुँवर । चित्रकलामा समेत रुची राख्ने उनको नयाँ परिचय थपिएको छ, ‘बोन्साइ’ अध्येता ।
बोन्साइ कल्चर नेपालमा झाँगिसकेको छैन । त्यसैले यसबारे धेरैलाई थाहा नहुन सक्छ । कुँवर यसलाई फैलाउने अभियानमा छन् ।

कुँवरको बोन्साइलाई एउटा कला मान्छन् । अझ खुलेर भन्छन्, ‘यो कला मात्रै हैन, जीवन जिउने कला (आर्ट अफ लिभिङ) हो । बोन्साइले एउटा सानो माटोको भाँडोमा सुन्दर देखिएर बाँच्न सिकाउँछ । हामी पनि साँघुरो घेराभित्र बाँच्ने गर्छौं, यही घेराभित्रको जीवनलाई सुन्दर बनाउने तरिका यसले बुझाउँछ ।’

बोन्साइसँग रमेशको जीवनका प्रत्येक दिनहरु जोडिएका छन् । उनका लागि बोन्साइ आर्ट अफ दि लाइफ मात्रै हैन, पार्ट अफ दि लाइफ पनि हो । हरेक दिन केही घण्टा बोन्साइसँग बिताउँछन् उनी । फुर्सद मिल्यो कि बोन्साइका गमला मिलाउँछन्, पातहरु सुम्सुम्याउँछन्, धुलो मैलो पखाल्छन् । बोन्साइलाई सुन्दर बनाउने अनेक तरिकाहरु खोज्छन् र सजाउँछन् ।

‘शहरमा प्रकृति छैन, तर यसले शहरवासीको सामुन्नेमा प्रकति ल्याइदिन्छ,’ बोन्साइमै पीएचडी गर्ने तयारीमा रहेका रमेश भन्छन्, ‘मेरो लागि यो रानीबारीको जंगल छिरेजस्तै हो ।’

के हो बोन्साइ ?

बोन्साइ जापानमा विकास भएको बोटानिकल प्रविधि हो । ठूला-ठूला बन्ने रुखका प्रजातिलाई एउटा सानो गमलामा राखेर रुखकै स्वरुप दिनुलाई नै ‘बोन्साइ’ भनेर बुझिन्छ ।

यो जति गाह्रो छ, त्यति नै विशेष पनि छ । जापानमा एउटै बोन्साइ १.३ मिलियन डलर (करिब १५ करोड रुपैयाँ) मा बिक्री भएको रेकर्ड छ । बाबुबाजेले बनाएको बोन्साइलाई सन्तानले यति ठूलो मूल्य लिएर बिक्री गरेका थिए ।

जंलगमा खुला प्रकृतिसँग भिज्दै, झाँगिँदै र उचाइ लिँदै जाने रुखका प्रजातिहरुलाई वर्षौसम्म गमलामै सजाउने काममा रमेशको दख्खल छ । उनी गमलामा ल्याएर रोपेको सानो बोन्साइलाई हुकाउँछन् ।

बोन्साइ गर्दा एउटा-एउटा हाँगा र पातको सुन्तुलन मिल्नुपर्छ । यसका लागि काँटछाँट गर्न साना उपकरण प्रयोग गरिन्छ भने हाँगाबिँगालाई कलात्मक स्वरुप दिन तामाको तार प्रयोग हुन्छ । रमेशले यसरी नै तयार गरेका २ सयभन्दा बढी बोन्साइ घरको छतमा हुर्काइरहेका छन् ।

बेच्ने हो भने उनीसँग अहिले लाखौंको बोन्साइ छन् । तर, उनी हत्तपत्त बेच्न तात्दैनन् । किनभने उनलाई लाग्छ, बोन्साइ पैसाभन्दा बढी भावना हो ।

५० हिँउद काटेका रमेशसँग ५० वर्षभन्दा पुराना बोन्साइ पनि छन् । उनी आफैंले तयार गरेको केही बोन्साइले नै ३० वर्ष काटिसके । आफूभन्दा पुराना बोन्साइहरु भने उनले सिक्ने क्रममा दार्जीलिङबाट ल्याएका थिए ।

कसरी थाले ?

रमेशको एसएलसी दिने समय थियो, एउटा फिल्ममा बोन्साइ सजाइएको दृश्य देखे । उनलाई अच्चम्म लाग्यो, सानो गमलाका बुढो देखिने रुख कसरी सम्भव भयो ? त्यसप्रति चासो राखे र निकै समयपछि एउटा किताबमा यसबारे तथ्य फेला पारे । त्यसपछि उनलाई पनि बोन्साइ गर्ने रहर जाग्यो । सुरुमा उनले समीको विरुवालाई ‘बोन्साइ’ गरे, जुन आज पनि उनीसँग सुरक्षित छ ।

रमेशलाई त्यो बोन्साइ बाबुबाजेले ढुकुटीमा राखेको सुनको गहना जस्तै लाग्छ । त्यसैले उनले यो बोन्साइ अहिलेसम्म बिक्री गरेका छैनन् । त्यसपछि बनाएका बोन्साइ भने बेच्छन् पनि । उनीसँग अहिले ५ देखि ५० हजारसम्मका बोन्साइहरु छन् ।

‘जो पायो उहीलाई म बोन्साइ बिक्री गर्दिनँ, बोन्साइबारे केही नजानी किन्नु बेकार हुन्छ,’ उनी भन्छन्, ‘वर्षौं लगाएर तयार गरेको रुख मर्ने वा यसको सुन्दरता हराउने अवस्था आउन दिन हुन्न । त्यसैले यसको स्याहार गर्न जान्ने बनाएर मात्रै बिक्री गर्छु ।’

केही दिनअघि मात्रै उनले तीन वटा बोन्साइ बिक्री गर्ने निधो गरे । एक धनाढ्यले राम्रै मूल्य दिए तर, लिन ड्राइभरलाई पठाए । ड्राइभरको हातमा बोन्साइ थमाउन रमेशलाई मन लागेन । उनले भनिदिए, ‘मलाई माफ गर्नुस्, तपाईंको मालिक नआई म बोन्साइ गाडीमा हालेर पठाउन सक्दिन ।’ बोन्साइ बेचेर पठाउँदा छोरी अन्माए जस्तै अनुभव हुने उनी बताउँछन् ।

व्यवसायिक सम्भाव्यता

रमेशका अनुसार सामान्यतया बोन्साइ बनाउन सुरु गरेको ५ वर्षपछि मात्रै कमाउन सकिन्छ । त्यसैले बोन्साइलाई पेन्सन जस्तै मान्छन् उनी ।

रमेश भन्छन्, ‘घरको छतमा सानो लगानीमै बोन्साइ सुरुआत गर्न सकिन्छ । विरुवा र गमला किन्न थोरै रकम खर्चिनुपर्छ । तर, कम्तीमा एक महिना यसबारे आधारभूत ज्ञानहरु लिनुपर्छ । बोन्साइ बनाउन पातका मुन्टा कुन समयमा निमोठ्ने, कस्तो माटो र बालुवा राख्ने, कति समयमा माटो र बालुवा फेर्ने, दैनिक कति समय स्याहारमा खर्चिने र कसरी कलात्मक रुपमा बनाउने भन्ने जान्नुपर्छ ।’

उनका अनुसार यो घरेलु काममा व्यस्त हुने गृहिणीका लागि सबैभन्दा उपयुक्त काम हुनसक्छ ।

धुपी र सल्ला प्रजातिका बोन्साइ अलि सजिलो किसिमबाट गर्न सकिने भएकाले त्यस्तैबाट सुरुआत गर्दा उपयुक्त हुने रमेशको सुझाव छ । सिउँडी प्रजातिका बोन्साइ पनि अहिले प्रचलनमा छन् । धेरै वर्ष नटिक्ने भए पनि त्यसमा त्यसमा आकर्षण छ ।

तस्वीरहरु : शंकर गिरी/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment