८ कात्तिक, जनकपुरधाम । सडक विस्तारका क्रममा बिद्यालय भवन भत्काएको विरोधमा सडकमै पठनपाठन सुरु भएको छ ।
जनकपुरधाम उपमहानगरपालिका २१ स्थित कुर्थामा रहेको राजर्षी जनक उच्च माध्यमिक विद्यालयका विद्यार्थीहरु सडकमै बसेर पढेका हुन् । सकडमै बोर्ड, डेस्कबेन्च राखेर पढाइएको थियो ।
विद्यार्थीहरुले जनकपुर लोहरपट्टी सडक खण्ड पूर्ण रुपमा अवरुद्ध गरेर सडकमै बसेर पढाई गरेका हुन् ।
गत वैशाख पहिलो साता सडक विस्तारका क्रममा कक्षाकोठाको पर्खाल र कम्पाउन्ड वाल डोजर लगाएर भत्काइको थियो ।
सडक विस्तारको नाममा वडाअध्यक्ष रामेश्वर महासेठले विद्यालयको भवन भत्काएको स्कुलको आरोप छ ।
विद्यार्थीहरुले भत्किएको कोठामा अध्ययन गर्दै आएका थिए । विद्यालयमा अध्ययनरत झण्ड ६ सय विद्यार्थी ६ महिनादेखि सडकको धुवाधुलो खाएर पढ्न बाध्य थिए । विद्यालय भवनसँगै जोडिएको जनकपुर लोहरपट्टी सडकमा अत्याधिक सवारी आवतजावत गर्ने भएकाले धुलोले स्वास्थ्यमा असर परेको कक्षा १० मा अध्ययनरत्त विद्यार्थी रामकुमार महासेठको गुनासो छ ।
गर्मीको समयमा जसोतसो पढाएपनि जाडोमा समस्या हुने भएकाले दबाव दिन सडकमा पठन पाठन गरिएको प्रधानाध्यापक वीरेन्द्र यादवले जताए ।
विद्यालयको कक्षाकोठा भवनको वाल भत्काएको विरोधमा स्थानीयबासीले जिल्ला प्रशासन कार्यालय समेत घेराउ गरेका थिए ।