Comments Add Comment

गृहमन्त्रीले गरे अध्यागमन कार्यालयको निरीक्षण

९ कात्तिक, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले शुक्रबार त्रिभुवन विमानस्थलस्थित अध्यागमन विभागको अनुगमन गरेका छन् ।

गृहसचिव प्रेमकुमार राईसहितको अधिकारी लिएर पुगेका थापाले विमानस्थलस्थित अध्यागमन कार्यालय, भन्सार कार्यालय, प्रहरी कार्यालयको अनुगमन निरीक्षण गरेका थिए ।

अनुगमनका क्रममा उनले विदेशी नागरिक नेपाल प्रवेश गर्दा पहिलोपटक अध्यागमनसँग ठोक्किने भएकोले यो क्षेत्रमा सुधार अनिवार्य रहेको बताए ।

‘विदेशीले नेपाल टेक्नेबित्तिकै हुने उसको फस्ट एक्सपिरियन्स महत्वपूर्ण हुन्छ । पहिलो अनुभव नै नराम्रो भयो भने उ फर्केर फेरि नेपाल आउँदैन । साथीहरुलाई पनि नजान सुझाव दिन्छ’ उनले कर्मचारीलाई निर्देशन दिँदै भने ‘तर अनुभव राम्रो भयो भने उ पनि दोहोरिएर आउँछ र अरुलाई पनि नेपाल जान सुझाव दिन्छ भन्ने कुरालाई मनन् गरेर तपाईहरुले काम गर्नुहोस् । ‘

विमानस्थल र सीमा नाकाका कर्मचारीलाई राज्यले संवेदनशील जिम्मेवारी दिएकोले त्यसलाई गम्भीर रुपमा लिएर निष्ठापूर्वक काम गर्न गृहमन्त्री थापाले आग्रह गरे ।

‘यहाँ काम गर्ने कर्मचारीको मुख्य तीन जिम्मेवारी रहेको छ । पहिलो राष्ट्रिय सुरक्षाको जिम्मेवारी, दोस्रो देशको अर्थतन्त्रको विकासको जिम्मेवारी र तेस्रो मुलुकको सभ्यता, सस्कृतिलाई स्थापित गर्ने जिम्मेवारी रहेको छ’ उनले भने ।

गृहसचिव प्रेमकुमार राईले अध्यागमनका लागि आवश्यक स्रोत, साधनमा कमी हुन नदिने प्रतिवद्धता जनाए ।

अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलले अध्यामनका लागि आवश्यक नयाँ सफ्टवेयर जडानका लागि काम अघि बढिसकेको जानकारी दिँदै छ महिनभित्र अध्यामन प्रणालीलाई थप आधुनिक प्रविधिमार्फत काम गर्ने गरी प्रक्रिया अघि बढेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment