Comments Add Comment

निर्मलाका हत्यारालाई उम्काउने कोशिसमा सरकार: देउवा

१० कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार अपराधीलाई संरक्षण गर्न लागिपरेको आरोप लगाएका छन् । तरुण दलको ६५ औं स्थापना दिवसको अवसरमा शनिबार सानेपामा आयोजित कार्यक्रममा सभापति देउवाले अपराधीलाई कारवाही गर्नको सट्टा सरकारले संरक्षण गरेको बताए ।

कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा संलग्नलाई उम्काउने कोशिस सरकारले गरेको दाबी देउवाको थियो । बलात्कार जस्तो जघन्य अपराधमा संलग्न कुनै पनि व्यक्ति राजनीतिक संरक्षणमा उम्कन नहुने भन्दै उनले कांग्रेसले त्यसविरुद्ध निरन्तर खबरदारी गर्ने बताए ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाले मुलुकमा हत्या हिंसाका घटना बढ्दै गएको र अपराधीलाई संरक्षण गर्ने सरकारको कार्यशैलीले दण्डहिनता बढाएको दाबीसमेत गरे ।

सभापति देउवाले विभिन्न कालखण्डमा मुलुकमा भएका राजनीतिक परिवर्तनमा तरुण दलको विशेष योगदान रहेको स्मरण गर्दै भावी दिनमा पनि देशको जिम्मेवारी काँधमा लिन तयार रहन निर्देशन दिए । उनले देश र जनताको पक्षमा जिम्मेवारी पूर्वक दायित्व वहन गर्न तरुण दललाई निर्देशन दिए ।

तरुण दलका अध्यक्ष जीतजंग बस्नेतले राष्ट्र र राष्ट्रियता तथा जनहित विपरितका जुनसुकै कदम विरुद्ध तरुण उत्रने घोषणा गरे । हत्या हिंसा विरुद्ध लड्न सक्ने तागतको रुपमा तरुण दल स्थापित हुँदै गएको र सधैं वीपीको विचार तथा आदर्शको बाटोमा हिँड्ने कोसिसमा रहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment