Comments Add Comment

उपप्रधानमन्त्री पोखरेलको उपलब्धिपूर्ण चीन भ्रमण

नेपालका उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले यसैसाता चीनको भ्रमण गरेका छन् । यसक्रममा चीन सरकारका रक्षामन्त्री जनरल वाई फँगीसँग द्वीपक्षीय भेटघाट र वार्ता भएको छ ।

नेशनल पिपुल्स कांग्रेसका अध्यक्षसमेत रहेका चिनियाँ कम्युनिष्ट पार्टीका तेस्रो स्थानमा रहेका नेता ली झान सुसँगको समेत भेट र वार्ताले उपप्रधानमन्त्री पोखरेलको यो भ्रमणलाई चीनियाँ कम्युनिष्ट पार्टी एवं सरकार दुवैले निकै महत्व दिएको पाइएको छ ।

चीनका रक्षा मन्त्रीसँगको भेटमा उपप्रधानमन्त्री पोखरलले प्रधानमन्त्री केपी शर्मा ओलीको २०१८ जूनमा भएको चीन भ्रमण त्यसले नेपाल चीन सम्वन्धमा पारेको प्रभावका साथै सैनिक सहकार्य, तालिम, मानवीय सहयोग, मेडिकल सामाग्री सहयोग पिस किपिङ मिशन र नेपालमा डिफेन्स विश्वविद्यालयको चीन सरकारको सहयोगका विषयमा कुराकानी गरेका छन् ।

पाँच वर्षका लागि नेपालको प्रकोप व्यवस्थापनमा चीन सरकारले नेपाललाई १५० मिलियन आर्थिक सहयोग गर्ने समझदारी पत्रमा हस्ताक्षर हुनु पोखरेलको भ्रमणको अर्को उपलव्धी हो ।

त्यस्तै चीनपक्षबाट नेपाल सेनासँग सहकार्य गर्ने प्रस्ताव आउनु, र नेपालले लिएको र देखाएको एक चीन नीतिको प्रशंशा हुनुले पनि यो भ्रमण निकै महत्वपूर्ण रहेको देखिएको छ ।

त्यस्तै मन्त्री पोखरेलले अन्तराष्ट्रिय सैन्य सम्मेलनको फोरममा संयुक्त राष्ट्र संघ चुनौती र सहकार्य विषयमा जुन धारणा व्यक्त गरे, त्यसले नेपाल र नेपाली सेनाले संयुक्त राष्ट्रसंघका विभिन्न मिसनहरुमा खेलेको भूमिका र छविलाई एकपल्ट विश्वसामु उजागर गरेको छ ।

पोखरेलको अभिव्यक्तिले संयुक्त राष्ट्र संघमा नेपाली सेनाको आवश्यकतालाई अझै बढाएको छ । त्यसैले उनको यो भ्रमण नेपाल चीन सम्वन्धमा मात्र सीमित नरहेर संयुक्त राष्ट्र संघ र विश्व समुदायसँग नेपाल र नेपालीलाई चिनाउने र सम्वन्धहरुलाई थप मजवुद बनाउने फोरमका रुपमा समेत उपयोग हुनु भ्रमणको अर्को सफलता हो ।

नेपालीसँग देउसी भैलो

नेपालीहरुको महान चाड दशैं सकिन लागेको र तिहार एवं छठ भित्रिन लागेको अवस्थामा चीनमा रहेका नेपालीहरुका वीचमा मन्त्री पोखरेलको छलफल निकै महत्वपूर्ण रह्यो । चीनको बेइजिङमा रहेको नेपाली दुतावासमा चीनमा रहेका करिव ३०० नेपाललीले उपप्रधानमन्त्री पोखरेलसँग दशैं मनाउन पाए ।

चीनको कम्युकेशन युनिभर्सिटीमा नेपाली भाषा पढ्दै गरेका विद्यार्थीहरुले पोखरेलको सम्मानमा ‘यो मन त मेरो नेपाली हो’ भन्ने गीत गाएका थिए । नेपाली विद्यार्थीहरुले मादल ठोकेर तिहारको देउसी भैलोको शुरुवात गरेका थिए । त्यो भेटघाटको सन्दर्भ हाम्रा राष्ट्रिय चाडहरुसँग जोडिएको थियो ।

चीनमा रहेका करिव तीन सय नेपालीले उपप्रधानमन्त्री पोखरेलसँग यी चाडहरु मनाउन पाउनु नेपालीहरुका लागि र स्वयं भ्रमण टोलीका लागि निकै महत्वपूर्ण थियो । त्यसैले उहाँको यो भ्रमणले नेपाल चीन सम्वन्धमा मात्र नयाँ उचाइ थपेन कि नेपालीहरुका वीचमा सांस्कृतिक र भावानात्मक सम्वन्ध स्थापित गर्ने कुरामा समेत कोसेढुंगा बन्न पुग्यो ।

घरभित्र सरकारले अपेक्षाअनुसार काम गर्न नसकेको भनेर व्यापक आलोचना भइरहेका बेला नेपालले चीनसँगको सम्वन्धका क्षेत्रमा उचाइ प्राप्त गरिरहेको छ । चीनको बेइजिगमा आयोजित अन्तरराष्ट्रिय सैनिक सम्मेलनमा भाग लिन आउनु भएका नेपालका उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलको भ्रमणलाई चीनले निकै महत्व दिएको छ ।

चीनसँगमात्रै होइन अरु कूटनीतिक क्षेत्रमा पनि केही प्रगतिहरु देखिएका छन् । नेपालले आयोजना गरेको विमष्टेक सम्मेलन, राष्ट्र संघमा नेपालको सशक्त उपस्थिति, प्रधानमन्त्री केपी शर्मा ओलीको जून २०१८ मा भएको चीन भ्रमण, त्यो भ्रमणमा नेपालले प्राप्त गरेको उपलव्धी र गत सेप्टेम्वर ७ मा चीनसँग भएको प्रोटोकल हस्ताक्षर आदिको शिलशीलामा उपप्रधानमन्त्री ईश्वर पोखरेलको चीन भ्रमणले नेपाल चीन सम्वन्धमा नयाँ आयाम थपेको दुवै देशका सरकारी अधिकारीहरुको भनाइ छ ।

(विदेश मामिलाका जानकार रोका चीनमा विद्यावारिधि गर्दैछन्)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment