Comments Add Comment

नेपाली फिल्मका दर्शकै छैनन् कि आउँदैनन् ?

निर्माताको दाबीलार्इ पत्याउने हो भने नेपाली चलचित्रको इतिहासमै सर्वाधिक व्यापार गर्ने चलचित्र हो, ‘छक्का पन्जा’ । निर्माता दीपकराज गिरीले दिएको आँकडालाई मान्ने हो भने, यो चलचित्रले नेपालभरबाट १६ करोड ग्रस कलेक्शन गरेको छ । २ बर्ष अगाडि रिलिज भएको चलचित्रले १६ करोड कमाउन कति दर्शकले चलचित्र हेर्नुपर्छ होला ?

अहिले मल्टिप्लेक्समा ३०० रुपैयाँ टिकट छ भने सिंगल हलमा ५० देखि २०० सम्म टिकट छ । ‘छक्का पन्जा’ मल्टिप्लेक्समा बढी चलेको चलचित्र हो । १६ करोड कमाउनका लागि यो चलचित्र हेर्ने दर्शकको संख्या १० लाखको हारहारीमा पुग्नुपर्छ ।

हुन त छक्का पञ्जाको व्यापारबाट राज्यलार्इ कति कर तिरिएला ? यसबाट पनि कति व्यापार भयो र कतिले चलचित्र हेरे भन्ने यकिन तथ्यांक अाउन सक्छ । किनभने, बक्स अफिस सिस्टम लागू भइसकेकाले अब कराेडाैंकाे ब्यापार भएकाे दाबी विगतमा जसरी पुष्टि गर्न नसकिने विषय चाहिँ होइन । करोडाैं कमाएकाे हो भने त्यसको मापन राज्यलार्इ तिरेकाे करबाट पनि मापन गर्न सकिन्छ ।

नेपालमा बनेका सबै चलचित्र  एकै प्रकारले  सफल बन्दैनन् । नेपालमा एक बर्षमा बन्ने एक सय चलचित्रमा ९० वटा चलचित्र असफल छन् । ५ वटाले लगानी उठाएका छन् भने ५ वटाले नाफा कमाएका छन् ।

त्यसैले एउटालाई मात्रै हेरेर नेपाली चलचित्र चल्यो, दर्शकहरू हलमा आउन थाले भनेर विश्लेषण गर्नु गलत हुन सक्छ ।

कति प्रतिशत दर्शक हलमा आउँछन् ?

नेपालको कुल जनसंख्या अहिले ३ करोडको हाराहारीमा होला । त्यसमध्ये आधा प्रतिशत जनसंख्या चलचित्र हेर्न आफैं हलसम्म जान सक्छ ? त्यो अवस्थामा करिब डेढदेखि २ करोड जनसंख्याले चलचित्र हेरेकाे मान्न सकिन्छ । तर, यस्तो दाबीलार्इ पत्याउन सकिँदैन ।

वास्तविकतामा नेपाली चलचित्र हेर्ने दर्शकको संख्या कति होला त ? चलचित्र संघका अध्यक्ष प्रदीपकुमार उदयका अनुसार, नेपाली चलचित्र हेर्ने दर्शक १ देखि २ प्रतिशत मात्रै छन् । यो भन्दा अझै पनि दर्शकको संख्या हलमा बढ्न सकेको छैन । यदि यो हिसाबलार्इ मान्ने हाे भने हलमा गएर चलचित्र हेर्नेको संख्या १ देखि २ लाखसम्म मान्नुपर्ने हुन्छ ।

नायक राजेश हमाल, निखिल उप्रेतीका जमानामा पनि हलमा आउने दर्शकको संख्या यति नै थियो । सिने क्षेत्रका विश्लेषकहरूका अनुसार अहिले पनि चलचित्र हेर्न आउने दर्शकको संख्यामा कुनै फेरबदल भएको छैन । मल्टिप्लेक्स हल खुलेसँगै टिकट दर बढेको छ । टिकट दर बढेकाले दर्शक कम भए पनि व्यापार बढी देखिन्छ । तर, दर्शकको वर्ग फेरिएको छ, संख्या उही नै छ ।

१६ करोड कमाएको चलचित्र हेर्न १० लाख दर्शक आउनुपर्ने हुन्छ ।  औषत चलेका चलचित्र हेर्न कति दर्शक आउलान् ? आफैं हिसाब निकाल्न सकिन्छ ।

दर्शक नआएका कि नभएका ?

यो बर्षकै आँकडा हेरौं । असोज महिनासम्म ४० बढी चलचित्र रिलिज भैसकेका छन् । त्यसमध्ये, कमाएका चलचित्रमा ‘नाई नभन्नु ल ५ र छक्का पन्जा ३’ अादि पर्छन् । ‘रामकहानी र इन्टु मिन्टु लण्डनमा’को ग्रस कलेक्शन ३ करोड हाराहारीमा छ । अरु, सबै चलचित्र असफल छन् । ४० वटा चलचित्रमा ३ दर्जन चलचित्र हेर्न १ प्रतिशत दर्शक पनि हलमा आएको देखिँदैन । यो आँकडा हेर्दा एउटा प्रश्न उब्जन सक्छ, के, नेपाली चलचित्र हेर्ने दर्शक नै नभएका हुन् त ? चलचित्र संघका अध्यक्ष प्रदीपकुमार उदय भन्छन्- ‘नेपाली चलचित्र हेर्न लायक नबन्नु नै यसको मुख्य कारण हो । दर्शकलाई नेपाली चलचित्रप्रति मोह नै छैन ।’

‘छक्का पन्जा’का निर्माता दिपकराज गिरी भन्छन्-‘९० प्रतिशत चलचित्र हलमा बसेर हेर्नु भनेको सजायँ पाउनु जस्तै हुन्छ । १० प्रतिशत चलचित्र हेर्न मात्र दर्शक हलमा आएका छन् ।’

कहिलेसम्म १ प्रतिशतमा अड्किने ?

जनसंख्या दिनानुदिन बढेको छ । देशभर सुविधायुक्त मल्टिप्लेक्स हल खुल्न थालिसकेका छन् । तर, हलमा दर्शक सधैं खाली हुन्छन् । हल संञ्चालकहरु बर्षमा रिलिज हुने सय चलचित्रमा एकाध चलचित्रले हल भरिदेला र व्यापार राम्रो होला भन्ने आशामा बस्छन् । निर्माताहरु खाली सिटलाई भरीभराउ दर्शक सोचेर झुटो प्रचार गर्न व्यस्त छन् ।

तर, कसैले पनि आफ्नो कमजोरी स्वीकार गर्न सकेको छैन । दर्शक नै नआएको चलचित्रले करोडौं कमायो भनेर केक काटेर सेलिव्रेशन गर्न हतार गर्ने निर्माताले चलचित्र स्तरीय बनाउन कहिल्यै पनि मिहेनत गर्न सकेका छैनन् । यसैको परिणाम, चलचित्रप्रतिको मोह हुँदाहुँदै पनि दर्शक हलसम्म आकर्षित छैनन् ।

हामी अझै पनि एक प्रतिशत जनताको भरमा चलचित्र क्षेत्रमा रमाइरहेका छौं । तिनै १ प्रतिशत दर्शक बर्षभर हलमा घुम्छन् । कसैकोमा बढी त कसैकोमा कम । दर्शकको स्वाद बदलिएको छ, नेपाली चलचित्रकर्मीको सोच बदलिएको छैन । चलचित्र गुणस्तरीय नबन्दा नेपाली चलचित्र हेर्न रुचि गर्दा गर्दै पनि दर्शक हलसम्म आएका छैनन् । किनकि, ३०० रुपैयाँ टिकट काटेर दर्शक हलसम्म सजायँ भोग्न आउँदैनन् ।

के दर्शक विदेश गएका हुन् ?

जब, नेपालमा राजेश हमाल, निखिल उप्रेती, विराज भट्टका चलचित्रले हलमा व्यापार गर्न छाडे, त्यसपछि अधिकांश चलचित्रकर्मीले एउटै रटान लगाए । त्यो के थियो भने, नेपाली चलचित्र हेर्ने दर्शक नेपालमा छैनन् । अधिकांश दर्शक कामको खोजीमा विदेश गएकाले हल शुन्य हुन थाल्यो भनेर विश्लेषण गरियो ।

तर, अब यो कुरा भनेर आफ्नो गल्ती ढाकछोप गर्ने अधिकार चलचित्रकर्मीलाई छैन । किनकि, अहिले दर्शकको बर्ग फेरिएको छ । चलचित्रकर्मीकै कुरा मान्ने हो भने, हरेक १० बर्षमा दर्शक बदलिन्छन् । अब, राजेश हमाल युगका दर्शक पर्खिएर बस्ने समय छैन ।

यो पनि पढ्नुहोस् 

नेपाली चलचित्रको बजार राम्रो, नायिकालार्इ हेर्ने नजर नराम्रो- रेखा थापा

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment