Comments Add Comment

के होला रोनाल्डो र मेस्सीबिनाको एल क्लासिको ?

११ कात्तिक, काठमाडौं । विश्व फुटबलमा सबैभन्दा धेरै हेरिने क्लब फुटबल एल क्लासिको अर्थात रियल मड्रिड भर्सेस बार्सिलोनाको खेल स्पेनिस ला लिगामा नेपाली समयअनुसार आइतबार राति ९ बजे हुँदै छ ।

प्रतिक्षाको बिषय बन्ने एल क्लासिकोमा यसपटक दुई स्टार खेलाडी क्रिष्टियानो रोनाल्डो र लियोनल मेस्सी भने छैनन् । यसअर्थमा २००७ पछिको मेस्सी र रोनाल्डोबिनाको एल क्लासिको भिन्न हुँदै छ ।

२००७ मा मेस्सी घाइते हुँदा एल क्लासिकोमा खेल्न सकेका थिएनन् । रोनाल्डो म्यानचेस्टर युनाइटेडबाट २००९ मा रियल मडि्रड आएपछि एल क्लासिको मेस्सी या रोनाल्डोविहीन भएको थिएन ।

यसपटक मडि्रडबाट क्रिष्टियानो रोनाल्डो युभेन्टस गएपछि एल क्लासिकोमा मेस्सी हाबी रहने अनुमान भइरहेका बेला सिजनकै पहिलो एल क्लासिकोमा मेस्सी पनि नहुने भएका हुन् । मेस्सी हातमा लागेको चोटका कारण आराममा छन् ।

मेस्सीले एल क्लासिकोमा खेलेका ३८ खेलमा २६ गोल गरेका छन् भने १४ गोलमा असिस्ट गरेका थिए । रोनाल्डोले एल क्लासिकोका ३० खेलमा १८ गोल गरेका थिए भने एक असिस्ट गरेका थिए ।

मेस्सी र रोनाल्डोसहितको एल क्लासिकोका ३० खेलमा १ सय १ गोल भएका छन् । जसमा ४९.५ प्रतिशत गोल उनीहरुमा नै केन्दि्रत रहेको थियो ।

२००४ पछि मेस्सीबिनाको एल क्लासिको बार्सिलोनाले जितेको छैन । यसले यसपटक बार्सिलोनाका लागि इतिहास बनाउने मौका पनि छ ।

ला लिगामा ९ खेलमा पाँचमा जित, तीन बराबरी र एक खेल हारेको बार्सिलोना १० खेल खेलेको एथ्लेटिको मडि्रडपछि दोस्रो स्थानमा रहेको छ । रियल मड्रिड ९ खेलमा चारमा जित, दुई बराबरी र तीन हारसहित आठौं स्थानमा रहेको छ ।

केही तथ्य

गएका २१ एल क्लासिकोमा बार्सिलोना गोलविहीन भएको छैन । आइतबारको खेलमा पनि बार्सिलोनाले गोल गरेमा १९५९ देखि १९६९ को बीचमा रियल मडि्रडले लगातार २२ एल क्लासिकोमा गरेको गोलको कीर्तिमानसँग बराबरी हुनेछ ।

यो २००७ डिसेम्बर २३ पछि रोनाल्डो र मेस्सीबिनाको एल क्लासिको हुँदै छ ।

अलिहेसम्म रियल मडि्रडले ९५ एल क्लासिको जितेको छ भने बार्सिलोनाले ९३ एल क्लासिको जितेको छ । ५० खेल बराबरी भएका छन् ।
लुइस स्वारेज २०१४ मा बार्सिलोना आएपछि एल क्लासिकोमा सबैभन्दा धेरै गोल गर्ने खेलाडी उनै हुन् । स्वारेजले एल क्लासिकोमा ६ गोल गरेका छन् ।

सम्भावित सुरुवाती ११

रियल मड्रिड – कोर्टुवा, नाचो, भाराने, रामोस, मार्सेलो, मोडरिक, क्यासेमिरो, क्रुस, बेल, बेन्जेमा र एसेन्सियो ।

बार्सिलोना – टेर स्टेगेन, रोबर्टो, पिके, लेङलेट, अल्बा, र्‍याकिटिक, बुस्केट्स, आर्थर, राफिन्हा, स्वारेज र कोटिन्हो ।

के भन्छन् प्रशिक्षक ?

जुलेन लोपेटेगी (रियल मड्रिड) – हामी परिवर्तन नै हुन नसक्ने अवस्थामा छैनौं । अहिले आइरहेका नतिजा फेर्न सक्ने क्षमता खेलाडीमा छ । हामी भर्खर अक्टोवरमा छौं । अगाडि अझ धेरै नै बाँकी छ ।

एर्नेस्टो भालभर्दे (बार्सिलोना) – रियल मड्रिड अहिले घाइते बाघजस्तो छ । जुन झनै खतरनाक हुन्छ । उनीहरुसँग राम्रो गर्ने क्षमता पनि छ । मलाई आश छ उनीहरुले राम्रो खेल्ने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment