Comments Add Comment

मलेसियासँग श्रम समझदारीः नेपाली कामदारले केके सुविधा पाउँछन् ?

१२ कात्तिक, काठमाडौं । नेपाल सरकार र मलेसिया सरकारबीच नेपाली कामदार लैजाने विषयमा समझदारी भएको छ । श्रम मन्त्री गोकर्ण विष्ट र नेपाल भ्रमणमा रहेका मलेसियाका मानव संशाधनमन्त्री एम कुलेसागरनले सोमबार समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।

समझदारीअनुसार नेपाली श्रमिक कुनै पनि शुल्क नतिरी मलेसिया जान पाउनेछन् । हवाई टिकट, भिसा शुल्क, स्वास्थ्य परीक्षण, सुरक्षा जाँच लगायत खर्च सम्बन्धित रोजगारदाताले नै व्यहोर्नेछन् । कामदारलाई लेभी पनि लाग्ने छैन ।

मलेसिया जाने कामदारको करार अवधि भने ३ वर्षबाट दुई वर्ष कायम गरिएको छ । अब कामदारको तलब प्रत्येक महिनाको ७ गतेभित्र बैंक खातामार्फत भुक्तानी गर्नुपर्नेछ भने मलेसिया सरकारले तोकेको न्यूनतम पारिश्रमिकभन्दा कम नहुने गरी तलब, भत्ता एवं सुविधा पाउने श्रम मन्त्रालयले जनाएको छ ।

अब रोजगारदाताले वासथानका साथै व्यवसायजन्य स्वास्थ्य र सुरक्षाको प्रवन्ध गर्नुपर्नेछ । कामदार विमानस्थलमा पुगेको ६ घन्टाभित्र गन्तव्य स्थलमा लैजानुपर्ने छ ।

कामदार र रोजगारदाताबीच कुनै विवाद भई मुद्धा विचाराधीन रहेसम्म मलेसियामा नै बस्न पाइनेछ । कामदारका परिवारका निकटतम समस्य (बाबु, आमा, श्रीमान वा श्रीमती, छोरा वा छोरी) को मृत्यु भएमा १५ दिनका लागि नेपाल आउने पाउने व्यवस्था समेत मिलाइएको मन्त्रालयले जनाएको छ ।

रोजगारीका क्रममा कामदारको अंगभंग वा मृत्यु भएमा रोजगारदाताले नेपाली दूताबासलाई जानकारी गराउनुपर्नेछ भने मृत्यु भएमा शव नेपाल पठाउने जिम्मेवारी सम्बन्धित रोजगारदाताको हुने गरी व्यवस्था गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment