+
+

दशैंमा चन्दन दिवस, तिहारमा रुद्राक्ष दिवस

मोहन तिम्सिना मोहन तिम्सिना
२०७५ कात्तिक १२ गते १६:०२

यसपालिको दशैं त सकियो । तर, दशैंमा राज्य सञ्चालनको शीर्ष स्थानमा रहेका पात्रहरुले देखाएको साँस्कृतिक भद्रगोलको तरंग भने कायम छ । राष्ट्रपति, प्रधानमन्त्री र मुख्यमन्त्रीहरुले दशैंको टीका लगाउँदै गरेका अनेकौं भंगिमाका तस्वीर सामाजिक सञ्जालमा सार्वजनिक भएका छन् । जसमाथि अहिले व्यापक आलोचना भइरहेको छ ।

राष्ट्रपतिले आफू कुर्सीमा बसेर, टीका लगाउन आएका केही पात्रलाई पनि कुर्सीमै बसाएर टीका लगाइदिनु भएछ । यस्ता पात्रमा बहालवाला मन्त्रिहरु परेछन् । कसैलाई धनुषटंकार निहुराएर, कसैलाई घुँडा टेकाएर टीका लगाइदिनुभएछ । यस्ता पात्रमा कर्मचारी र केही नेता पनि परेछन् । राष्ट्रपति आफूले टीका ग्रहण गर्दा चाहिँ आफ्नी बृद्धा आमालाई उभ्याएर आफू कुर्सीमा बसेरै टीका ग्रहण गर्नुभएछ ।

उता प्रधानमन्त्री ओली कमरेडले पनि आफू कुर्सीमा बसेर र टीका थाप्ने पात्रलाई पनि कुर्सीमै बसाएर टीका लगाइदिनुभएछ । आफ्ना बाबुको हातको टीका ग्रहण गर्दा भने ओली कमरेडले बृद्ध बुबालाई उभ्याएर आफू मस्त कुर्सीमा बसेरै टीका ग्रहण गर्नुभएछ ।

पूर्व राष्ट्रपति र केहि मुख्य मन्त्रीहरुले पनि उभिएर दशैंको टीका लगाउँदै गरेका तस्वीर सार्वजनिक भएका छन् । तर, उपराष्ट्रपति नन्द पुनबाहेक सत्तारुढ माओवादी नेताहरुको भने यस्ता समारोहमा ‘नाक-मुख’ देखिएन ।

दशैंको टीकाका सम्बन्धमा सत्तारुढ नेताहरुका आ-आफ्ना तर्क होलान् । तर, जनताले भने यस्तो संस्कारलाई अलिकति पनि पचाएनन् । फलस्वरुप यस्तो रितिमाथि सामाजिक सञ्जालमा व्यापक आलोचना भयो । अधिकाँश आलोचना जननिर्वाचित शासकहरुले सामन्ती राजतन्त्रकै संस्कार पछ्याएको भन्ने आशयका छन् । जनताको तहबाट आएको यो प्रतिकृया अस्वभाविक छैन ।

मोहन तिम्सिना

किनकि गणतान्त्रिक र धर्मनिरपेक्ष राज्यले आफ्नो मौलिक सांस्कृतिक परम्पराको बिजारोपण गर्न जरुरी हुन्थ्यो । नवस्थापित गणतन्त्रमा चाडबाड तथा संस्कृति सम्बन्धी राज्यको नीति के हुने ? यस बिषयमा स्पष्ट पार्न जरुरी थियो । तर, यस बिषयमा पुरै मौन बसेर पूर्वराजाकै शैलीमा भद्रगोल पाराले दशैं मनाउँदा यस्तो प्रतिकृया आउनु स्वभाविक हो ।

यसको अर्थ टीका लगाइदिने र लाउनेहरु गलत अनि नलगाउनेहरुचाहिँ सही भन्ने पनि होइन । हचुवा तरिकाले टीका लगाइदिने र चाडबाड र संस्कृतिसम्बन्धी प्रष्ट नीति नबनाई टीकाबाट भागी-लुकी हिँड्ने दुबैखाले सत्तारुढ पात्रहरु गैरजिम्मेवार हुन् । त्यसैले यस मामलामा दुबै दोषी छन् ।

अरु कुरा छाडौं, राष्ट्रपति र प्रधानमन्त्री भएपछि कुर्सी छोड्नै हुन्न, बाबुआमाका अगाडि समान आसनमा बस्नै हुन्न भनेर हाम्रा यी मान्छेलाई कसले सिकायो ? धर्मनिरपेक्ष राज्यको संस्कृति नै यस्तै हुन्छ भनेर देखाउन खोजेको हो ? टीकाका तस्वीरहरुले साधारण मानिसको दिमागमा यस्ता प्रश्न पनि पैदा भए ।

चिन्तनगत समस्याः

राज्यका केही पुराना संस्थाहरुको खारेजी र नयाँ संस्थाको स्थापना मात्रैले गणतन्त्र र धर्मनिरपेक्षताको सार्थकता स्थापित हुँदैन । यस अनुकुलको सांस्कृतिक अभ्यासले मात्र यो सार्थक र बलियो हुन्छ । गणतन्त्र स्थापना भएयता देशमा पालैपालो ‘भौतिकवादी’ दलहरुले सरकार चलाइरहेका छन् । तर, यिनीहरुले आफ्नो चिन्तन अनुकुलको मौलिक संस्कृति कस्तो हुन्छ ? यसको उदाहरण पेश गर्न सकेका छैनन । बरु कलाविहीन नौटंकी मात्र प्रदर्शन गरिरहेका छन् ।

भौतिकवादीहरु पुराना परम्पराको विरोध गर्न मात्र जान्दछन्, उनीहरुसँग आफ्नो मौलिक संस्कृति नै हुँदैन भन्ने आलोचनालाई यस घटनाले थप बलियो बनाइदिएको छ । वास्तवमा दशैंको टीकाको निहुँमा जे बिजोग र बेइज्यती देखियो, यो हाम्रा शासकहरुको बैचारिक दिवालियापनको प्रमाण हो ।

पूर्वीय सभ्यता मूलतः योगी/तपस्वीहरुले निर्माण गरेको सभ्यता हो । यो ‘इश्वरवादी’ र ‘भौतिकवादी’चिन्तन भन्दा फरक चिन्तनमा आधारित छ । योगी/तपस्वी बिश्वदृष्टिकोण आफैंमा बैज्ञानिक छ । जो भौतिकशास्त्रको आधुनिक धारासँग निकट छ । आजभोली पुर्वीय समाजमा मनाईनेअधिकाँश चाडबाड तथा संस्कृति योगी/तपस्वी चिन्तनको भ्रष्टीकरणबाट बनेका छन् । यो तथ्यलाई अनुभुत नगरेसम्म पुर्वीय समाजमा मौलिक संस्कृतिको अभ्यास गर्ने कुरा केवल ‘गफाडीको गफ’ मात्र हुन्छ ।

तर हाम्रा भौतिकवादी नेताहरुको समस्या नै के हो भने यिनीहरुको चिन्तनको श्रोत पाश्चात्य भौतिकवाद हो । आफ्नो सभ्यताको सुगन्धबाट कट्नु नै यिनीहरुको दुःख हो । बुर्जुवा भौतिकवादीका गुरु जोन लक वा कम्युनिष्ट भौतिकवादीका गुरु कार्ल माक्र्स,दुवैजना टीका लगाउने सभ्यतामा जन्मिएका होइनन् । त्यसैले उनीहरुले टीका लगाउने वा यसबारे केही लेखिदिने कुरै भएन ।

यहि कुरा हाम्रा दुवैखाले (बुर्जुवा र कम्युनिस्ट) नेताका लागि संकट बनिदियो । आज बुर्जुवा र कम्युनिष्ट भएर उनीहरुले टीका लगाउने सभ्यतालाई परिभाषित गर्नु परेको छ । तर उनीहरुका शास्त्रमा यसको कुनै सन्दर्भ सामाग्री छैन । त्यसैले यो बिषयमा यिनीहरु ‘कुहिरोको काग’ जस्ता भएका छन् ।

राजतन्त्रकालमा दशैंमा राजाबाट टीका लगाइदिने चलन थियो । राजतन्त्र यस मामलामा स्पष्ट थियो । सामन्तवादी सोच नै भए पनि उसले यस पर्वलाई आफ्नो सत्ता अनुकुल परिभाषित गरेको थियो । आज राष्ट्रपतिले उक्त परम्परालाई निरन्तरता नदिँदा कतै गणतान्त्रिक नेपालको ‘सांस्कृतिक राष्ट्रप्रमुख’को बिरासत शाही परिवारमै रहिरहने त होइन ? सत्तारुढहरुमा यो प्रश्न पक्कै उठेको होला ।

यस्तो अवस्था सिर्जना हुन नपाओस् भनेर राष्ट्रपति, प्रधानमन्त्री र मुख्यमन्त्रीसम्मले दशंमा टीका लगाइदिने चलनलाई निरन्तरता दिएको कुरा सहज अनुमान गर्न सकिन्छ । शाही राजाहरुले जस्तै राष्ट्रपतिद्वारा उपत्यकाका मन्दिर, जात्रा धाउने चलनलाई पनि यही अर्थमा बुझ्न सकिन्छ । अर्को कुरा, गणतन्त्र आएपछि परम्परा मासियो भनेर आम जनतामा नपरोस भनेर पनि यसो गरिएको हुन सक्छ । यदि यो आसय हो भने यसलाई निरपेक्ष बिरोधै गर्नुपर्छ भन्ने होइन ।

तर, टीका लाउने चलनलाई निरन्तरता दिने हो भने गणतान्त्रिक सरकारले सर्वप्रथम राजनीतिक परिवर्तन अनुकुल यसको परिभाषा गर्नु पर्दथ्यो । यसको नीति र प्रकृया सुनिश्चित गर्नु पर्दथ्यो । त्यसो नगरी हचुवामा भद्रगोल पाराले टीका लगाउने अभ्यास गर्नु सरकारको पहिलो गल्ती हो ।

दोस्रो कुरा, राष्टप्रमुख भएपछि बाबुआमा वा सर्वसाधारणसँग खास साँस्कृतिक समारोहमा समान आसनमा बस्नै हुन्न भन्ने परम्परा पूर्वीय सभ्यताको हुँदै होइन । यसले त सिँगो देशको संस्कारगत बेइज्यतीमात्र भएको छ । अर्थात खास सांस्कृतिक समारोहको विधि र प्रकृया सुनिश्चित नगरी भद्रगोल खडा गरेर मुलुककै बेइज्यती हुने काम गर्नुसरकारको दोश्रो गम्भीर गल्ती हो । यी गल्ती मामुली प्राविधिक त्रुटि हुँदै होइनन्, चिन्तनगत समस्याका उपज हुन् । अर्थात आफ्नो सभ्यताको विज्ञानसँग बेखबर हुँदा यस्ता गल्ती भएका हुन् ।

टीका संस्कृतिको अन्तरकथाः

पूर्वीय समाजलाई बुझ्न सर्वप्रथम तपश्चर्याको विज्ञान बुझ्नुपर्ने रहेछ । यो नबुझ्दा सारा ज्ञान नै अधकल्चो हुने रहेछ । पूर्वीय समाजको बनावट र विषेशता विश्वका अन्य समाजभन्दा भिन्न किन भयो ? यसको संस्कृति र परम्परा अन्य समाजको भन्दा फरक किन भयो ? यसको कारण एउटै रहेछ । त्यो हो तपश्चर्याको विज्ञान । तिलक, टीका र माला लगाउने संस्कृतिको श्रोत पनि त्यही रहेछ ।

तपश्चर्याको विज्ञान पूर्वीय सभ्यताको मौलिक आविश्कार हो । यसको खास क्षेत्र हिमालय पर्वत र खास प्रवर्तक आदि योगी शिवलाई मानिन्छ । त्यस अर्थमा तपश्चर्याको बिज्ञान नेपालको मौलिकता हो । प्राचिन कालदेखि आजसम्म आउँदा यो अनेकौं विधामा बिस्तार भएको छ ।

‘तन्त्र बिज्ञान’ यस भित्रको एउटा मुलभुत आधार स्तम्भ हो । तन्त्र साधनाका ११२ विधिमध्ये ‘तेश्रो नेत्र’ (आज्ञा चक्र) को साधना गर्दा साधकको खास प्रयोजनका लागि दुई आँखाको बिचमा कालो -तिलक) लगाउने चलन चलेको रकालान्तरमा त्यही कुरा भ्रष्टीकरण भएर हिन्दु कर्मकाण्डमा लगाइने ‘तिलक’ भएको रहेछ ।

आयुर्वेद पूर्वीय सभ्यताको अर्को मौलिक आविस्कार हो । आधुनिक प्रयोगशालाको अभावमा पनि प्राचिन कालमा खास बनस्पति खास प्रयोजनमा काम लाग्छ भनी कसरी पत्ता लाग्यो होला ? पाश्चात्य भौतिकवादीका लागि यो निकै कठिन प्रश्न हो । पुर्वीय सभ्यताका लागि भने यो खास समस्या होइन । यो सब तपश्चर्याको बिज्ञानको देन हो । अर्थात सम्पूर्ण आयुर्वेद तपस्वीको अन्तरप्रज्ञाको परिणाम हो ।

मानव स्वास्थ्यको क्षेत्रमा हितकर वनस्पतिप्रति अहोभाव प्रकट गर्ने, वनस्पतिको लेप लगाउने, बनस्पतिका फल शरिरमा धारण गर्ने चेतना र संस्कृति तपस्वीहरुले बसाएका हुन् । जस्तो कि श्री खण्ड, चन्दन, बेल जस्ता बनस्पतिको लेप निधारमा लगाउने चलन । रुद्राक्ष वा तुलसी शरीरमा धारण गर्ने चलन । यही परम्परा कालान्तरमा चामलको टीका लगाउने, जमरा लगाउने, चन्दन लगाउने, फूलको माला लगाउने चलनसम्म विस्तार भयो ।

टीका संस्कृति यतिमै सीमित छैन । टीकासँगै जोडिएको ढोग्ने प्रचलनको पनि खास पृष्ठभूमि छ । प्राचिन समाजमा अरु सामु झुक्ने संस्कृति स्थापित गर्नुको खास उद्येश्य व्यक्तिभित्रको अहंकार बिसर्जन गर्नु थियो । अर्थात यो व्यक्तिको अहंकार बिसर्जनको औजार (टुल्स) थियो । तत्कालीन योगीहरुले समाजको लोकतान्त्रीकरणको बाधा व्यक्तिगत अहंकार भएको महसुस गरे । उन्नत समाज निर्माण गर्न गुरु वा शिष्य, शासक वा व्यवसायी, श्रमिक वा चिन्तक सबैले एकले अर्कोलाई झुकेर सम्मान गर्ने संस्कृति बसाइयो । यतिसम्म कि प्रकृति सामु पनि झुक्ने संस्कृतिको अभ्यास भयो । त्यही परम्परा कालान्तरमा टीका लाउँदा खुट्टामा ढोग्ने, खोला, वनस्पति, पहाड पूजा गर्ने परम्परासम्म विस्तार भयो ।

काठमाण्डाै शहर तान्त्रिक नगरी हो । हिन्दु र बौद्ध दुवैका तान्त्रिक धाराको खास केन्द्र हो यो । यहाँका मन्दिर, गुम्बा, मुर्ती, रथयात्रा, जात्रा, टीका, माला, नृत्य, र संगीत प्राय सबै खास तान्त्रिक परम्परासँग जोडिएका छन् । यहाँको सामाजिक बनावट र मनोबिज्ञानमा पनि योग एवं तन्त्रको प्रभाव छ ।

काठमाण्डौंमा शासन गर्न आएका शाह राजाहरुको कुलवंशको परम्परा यो थिएन । तर, तान्त्रिक नगरीमा आइसकेपछि आफ्नो राज्य सुरक्षित गर्न चलाखीपूर्ण तरिकाले उनीहरुले यो अपनाए । यो बिल्कुलै बैज्ञानिक परम्परा हुँदाहुँदै शाहवंशीय राजाहरुले यसलाई क्रमशः आफ्नो सत्ता स्वार्थ अनुकुल सामन्तवादी संस्कृतिको रंग दिए । दशैंमा राजाद्वारा टीका लगाउने चलन, बर्षेनी पशुपतिको दर्शन गर्ने चलन, रथयात्रा र जात्रामा राजा सहभागी हुने चलनको भित्री अभिष्ट सत्ता स्वार्थ नै थियो ।

अन्ततः शाहवंशीय दरबारसम्म आउँदा पूर्वीय बिज्ञान टाउकाले टेकेर उभिएको अवस्थामा पुग्यो । गणतान्त्रिक सरकारको काम यसलाई खुट्टामा उभ्याउने हुनु पर्दथ्यो । अर्थात, शाह वंशीय राजाहरुको भ्रष्टीकरणलाई सच्याउने हुनुपर्दथ्यो । तर, गणतान्त्रिक सरकार पनि विनातयारी र सुझबुझ, राजतन्त्रीय पदचिन्हमा हिँड्नु बिल्कुलै उदेकलाग्दो कुरा हो । यसले आम जनतालाई निराश बनाएको छ ।

अब के गर्ने ?

आजको आधुनिक समयमा टीका लगाएको वा नलगाएको कुराकै आधारमा कसैलाई सही वा गलत भन्न मिल्दैन । पूर्वीय सभ्यतामा कृयाकलाप मुख्य हुँदैन, यससँग जोडिएको चिन्तन मुख्य हुन्छ । यदि कसैले निश्चित स्वार्थ प्रेरित भएर टीका लगाएको ढोंग गर्छ भने टीका लगाए पनि त्यसको महत्व हुँदैन । तर, कोही भित्रैदेखि जागृत छ, वा त्यसतर्फ अभिप्रेरित छ, तर खास कर्मकाण्डमा चासो राख्दैन भने टीका नलगाए पनि उ सही ठाउँमा हुन्छ ।

तर, सरकारको त निश्चित दायित्व हुन्छ । सरकारले हचुवामा काम गर्न पनि मिल्दैन । मौन बस्न वा भाग्न-लुक्न पनि मिल्दैन । त्यसैले राष्ट प्रमुखको हकमा केवल भय प्रेरित वा राजनीतिक स्वार्थ प्रेरित टीका लगाउने चलनको खास महत्व हुँदैन । तर, विज्ञान र सभ्यताको पुनःजागरण गराउने सुझबुझ र उद्देश्यद्वारा यसको अभ्यास गरिन्छ भने यो सकारात्मक कुरा हुन्छ ।

सरकारले यस क्षेत्रमा निश्चित नीति र योजना अगाडि बढाउन सक्छ । अर्थात यसो गर्नु जरुरी छ । संस्कृतिको क्षेत्रमा सरकारले गर्नुपर्ने काम धेरै छन् ।

यहाँ टीका संस्कृतिसँग जोडिएका बिषयमा मात्र केही प्रस्ताव गरिएको छ-

पहिलो, राष्टप्रमुखले दशैंमा मातहत निकाय र सर्वसाधारण सम्मलाई टीका लगाइदिने परम्परालाई निरन्तरता दिउन् । तर, नयाँ परिभाषासहित । यसमा चामलको टीकाको सट्टा चन्दन, मालामा फूलको सट्टा रुद्राक्षको उपयोग गर्ने चलनलाई राजकीय परम्पराका रुपमा स्थापित गर्न सकिन्छ । यदि यसो गरियो भने योबिज्ञान र सभ्यताको पुनःजागरण त हो नै, यसले मानव स्वास्थ्यका लागि महत्वपूर्ण हुने वनस्पति संरक्षणको संस्कृति बसाउँछ । व्यवसायिक दृष्टिकोणले पनि यो आम जनताको हितमा हुन्छ । यसले परस्पर सम्मान गर्ने मौलिक परम्पराको संरक्षण हुन्छ । सबैखाले संस्कृति र धर्मावलम्बीका लागि यो खुशीको कुरा हुन्छ । मूल कुरा यो नेपाली गणतन्त्रको मौलिक संस्कृतिको रुपमा स्थापित हुन्छ ।

दोस्रो, टीका लगाउने प्रकृया पनि मौलिक र बैज्ञानिक हुनुपर्छ । यस सम्बन्धमा केही तथ्य हेरौंः 

पूर्वीय सभ्यतामा ध्यान गर्दा, यज्ञ अनुष्ठान गर्दा, अध्ययन गर्दा, प्रवचन गर्दा, गायन गर्दा, सामाजिक छलफल र न्याय निरुपण गर्दा अधिकांशतः पलेटी आसनको प्रयोग गरिन्छ । टीका लाउँदा पनि पलेटी आसन नै प्रयोग गर्ने परम्परा छ ।

पूर्वीय सभ्यताका बाद्ययन्त्र जस्तो कि सितार, बिणा, तवला, ढोलक, नाल, सारंगी प्राय सबै पलेटी आसनमा बसेर बजाइन्छ । पश्चिमबाट आयातित हार्मोनियम पनि पूर्वका साधकहरुले पलेटी आसनमै बसेर बजाउँछन् । के पूर्वका मानिसले कुर्सी बनाउन नजानेर यसो गरेका हुन त ? पक्कै होइन ।

यसको खास कारण के हो भने चिन्तन र आसनको अन्योन्याश्रति सम्बन्ध छ । चित्तसुद्धि, अध्ययन र श्रृजनाका लागि पलेटी आसनको ठूलो महत्व छ । पूर्वका चिन्तक ऋषिहरुले पलेटी आसनलाई महत्व दिनुको कारण नै यही हो । त्यसैले दशैंको टीकामा मात्र होइन, हरेक राजकीय सांस्कृतिक समारोहमा नेपालका राज्य प्रमुखले पनि पलेटी आसनको परम्परा बसाउनु उपयुक्त हुन्छ । यसो गर्दा इतिहास, परम्परा र बिज्ञान सबैको अभियक्ति हुन्छ ।

तेश्रो कुरा, यस सम्बन्धमा अझ फराकिलो सोच बनाउन सकिन्छ । बिश्वस्तरमा आएको आयुर्बेदिक जागरणसँगै श्री खण्ड, चन्दन, बेल, रुद्र्राक्ष जस्ता वनस्पतिको महत्व विश्वव्यापी बन्दैछ । यो चेतना र परम्परा नेपालकै हिमालय पर्वतबाट शुरु भएकाले यसको सांस्कृतिक स्वामित्व नेपालले नै लिनुपर्छ । यसका लागि पहिलो चरणमा हरेक बर्ष दशैंको टीकाको दिनलाई राष्ट्रिय टीका (चन्दन) दिवस, तिहारको टीकाको दिनलाई राष्ट्रिय माला (रुद्राक्ष) दिवस र शिवरात्रीलाई राष्ट्रिय तन्त्र दिवशका रुपमा मनाउन सकिन्छ ।

स्वामी आनन्द अरुणले बुद्ध पूणिर्माको दिनलाई ‘अन्तरराष्ट्रिय ध्यान दिवस’ घोषणा गर्ने प्रस्ताव संयुक्त राष्ट्र संघमा लैजान सरकारलाई सुझाउनुभएको छ । यो स्वागतयोग्य प्रस्ताव हो । ठीक यसैगरी दोस्रो चरणमा टीका दिवस (चन्दन), माला दिवस (रुद्राक्ष) र तन्त्र दिवस (शिवरात्री) लाई पनि विश्वव्यापी बनाउने प्रस्ताव संयुक्त राष्ट्र संघमा लगेर यसको सांस्कृतिक स्वामित्व नेपालकै पक्षमा पार्न ढीला गर्नु हुँदैन ।

यो त नवसंस्कृति निर्माणको रुपगत पक्ष मात्र हो । यसको गुणगत क्षेत्रमा काम गर्न देशको शिक्षा प्रणालीमा क्रान्ति जरुरी छ । राष्ट्रिय शिक्षाको अन्तरवस्तु नै बदल्न जरुरी छ । नेपालजस्तो देशका राज्य सञ्चालकहरुमा यो जानकारी हुनुपर्‍यो कि नेपालको आफ्नै मौलिक विश्वदृष्टिकोण छ । नाम नै खोज्ने हो भने यसलाई ‘जैविक चिन्तन’ (अर्गानिक वल्र्ड भ्यु) वा ‘सर्वाङ्गीण चिन्तन’ (होलिस्टिक वर्ल्ड भ्यु) भन्न सकिन्छ ।

आधुनिक विज्ञानका अनेकन विधाहरुले जे आविस्कार गरिरहेका छन्, ती प्रायः सबै तपस्वीहरुका अन्तरप्रज्ञालाई नै पुष्टि गरिरहेका छन् । त्यसैले पूर्वीय र पाश्चात्य विज्ञान अब अन्तरसम्बन्धित भई सकेका छन् । यही अन्तरसम्बन्धसहितको नयाँ मानव चेतनालाई नै जैविक वा सर्वाङ्गीण चिन्तन भनिएको हो ।
यस प्रकारको नयाँ मानव चेतनालाई हाम्रो शिक्षा प्रणालीमा समावेश गराएर मात्रनवसंस्कृति निर्माणको राष्ट्रिय आवश्यकता सम्वोधन हुन सक्छ । राज्यले औपचारिक र संस्थागत तरिकाले नै यसतर्फ कदम चाल्नु जरुरी छ । यसो गर्दा मात्र गणतान्त्रिक नेपालको दिगो सांस्कृतिक व्यवस्थापन सम्भव छ ।

यसो गरियो भने टीका लगाउनेले सामन्ती संस्कारको पक्षपाती भन्नेे आरोप खेप्नु पनि पर्दैन । र, टीका लगाउँदा सरम मान्ने वा भागी लुकी हिँड्नुपर्ने खण्ड पनि आइलाग्दैन ।

लेखकको बारेमा
मोहन तिम्सिना

लेखक वैकल्पिक विचार र जैविक दर्शनको विषयमा कलम चलाउँछन् । उनको नियमित स्तम्भ 'मन्थन' प्रकाशित हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?