Comments Add Comment

प्रधानमन्त्री ओली अस्वस्थ : स्वास्थ्य अवस्था स्थिर

१२ कात्तिक, काठमाडौं । शिक्षण अस्पतालमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य स्थिर रहेको चिकित्सकहरुले बताएका छन् ।

प्रधानमन्त्री ओलीलाई सोमबार विहान साढे ४ बजे शिक्षण अस्पताल, महाराजगञ्जको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको थियो ।

उनको छातीमा संक्रमण देखिएको छ भने शरीरमा चिनीको मात्र असन्तुलित पाइएको छ । ‘उहाँको पछिल्लो परीक्षणका रिपोर्टहरु सुधारोन्मुख रहेको र स्वास्थ्य स्थिति स्थिर रहेको जानकारी गराइन्छ’ सेन्टरका कार्यकारी निर्देशक प्रा. डा. उत्तमकृष्ण श्रेष्ठले साँझ ६ बजेको अपडेटमा भनेका छन् ।

निमोनियाको डर

नेकपाका अध्यक्ष समेत रहेका ओली केही दिनदेखि अस्वस्थ थिए । उनी सार्वजनिक कार्यक्रम मात्र होइन, दशैं, तिहार र छठको अवसरमा आफ्नै पार्टी नेकपाले आयोजना गरेको चियापान कार्यक्रममा समेत सहभागी नभएर रेष्टमा थिए ।

तर, राष्ट्रपति विद्या भण्डारीको कतार भ्रमण स्वीकृत गर्नुपर्ने भएपछि आइतबार साँझ केही मिनेट मन्त्रिपरिषद् बैठकमा सहभागी भए ।

सोमबार राति भने स्वासप्रस्वासमा अप्ठ्यारो भएपछि अस्पताल भर्ना गरिएको हो । उनको छातीमा संक्रमण देखिएको छ । यो निमोनिया हुनसक्ने भएकाले अस्पताल भर्ना गरेरै निगरानीमा राख्नु परेको एक चिकित्सकले बताए ।

साथै चिनीको मात्र असन्तुलित हुनुपनि चिन्ताजनक भएको चिकित्सकहरु बताउँछन् ।

प्रधानमन्त्री ओलीको करिव १२ वर्षअघि दुवै मिर्गौला प्रत्यारोपण गरिएको थियो । उनी अहिले पनि नियमित फलोअपका लागि बैंकक जाने गरेका थिए । चिकित्सकहरुले उनलाई भीडभाड, धुँवाधुलो र धेरै तनावबाट टाढा रहन सुझाव दिएका थिए । तर, उनी निरन्तर राजनीतिमा सक्रिय रहँदै आएका छन् ।

नेकपाका एक नेताका अनुसार १०/१२ वर्ष पहिले नै दुबै मिर्गौला प्रत्यारोपण गरेका ओलीमा चिनीको असन्तुलित हुनुलाई चिकित्सकहरुले बढी गम्भीर मानेका हुन् ।

ओलीलाई शीर्ष नेताहरुले मात्र भेट्न दिइएको छ । डाक्टरहरुले कम कुरा गर्न भनेका छन् । तर, ओलीले भने भेट्न आउने नेताहरुसँग कुराकानी गर्ने गरेका छन् । सोमबार विहान आफूलाई भेट्न पुगेका पार्टीका नेता माधवकुमार नेपाललाई उनले ‘म ठीक छु, शुभेच्छा प्रकट गर्ने सबैलाई धन्यवाद’ भनेका थिए ।

प्रधानमन्त्री केही दिन अस्पतालमै रहनेछन् । उनको उपचारमा डा. अरुण सायमीको नेतृत्वमा डा. दिब्यासिंह शाह, डा. सन्तकुमार दासको टोली संलग्न छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment