Comments Add Comment

राजपा उपाध्यक्ष भन्छन्– अध्यक्ष मण्डल अस्वीकार्य, सरकारलाई समर्थन जारी

१३ कात्तिक, काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) का वरिष्ठ उपाध्यक्ष वृषेशचन्द्र लालले ओली सरकारलाई दिएको समर्थन तत्काल फिर्ता नलिने बताएका छन् । साथै अब राजपा ६ तिर मुख फर्काएर चल्न नसक्ने भन्दै अध्यक्ष मण्डल स्वीकार्य नहुने बताएका छन् ।

निर्वाचनका बेला प्रधानमन्त्रीमा राजपाले केपी शर्मा ओलीलाई मत दिएको थियो । त्यस हिसाबले राजपा सत्ता समर्थक दल हो । तर, आफूहरूले संविधान संशोधन गर्ने शर्तमा सरकारलाई समर्थन गरेको लाल बताउँछन् ।

संविधानलाई सर्वस्वीकार्य बनाउन संशोधनको आग्रह गरेको भए पनि त्यसलाई सरकारले आलटाल गरिरहेको उनको बुझाइ छ ।

सरकारलाई दिएको समर्थनको विषयमा उपयुक्त समयमा उपयुक्त निर्णय लिइने उनको भनाइ छ । ‘तर अहिले समर्थन फिर्ता लिँदैनौ’, उनी भन्छन्, ‘समर्थन फिर्ता गर्छु भन्नु अनावश्यक हल्ला मात्रै हो ।’

अध्यक्ष मण्डल स्वीकार्य छैन

वरिष्ठ उपाध्यक्ष लाल राजपाले अब अध्यक्ष मण्डललाई निरन्तरता दिन नहुने बताउँछन् । यो प्रणालीले एकीकृत र बलियो बनाउन नसक्ने उनको बुझाइ छ ।

अध्यक्ष मण्डलले गर्दा समयमा बैठक बस्न नसकेको र आवश्यक पर्दा तत्कालै पार्टी धारणा बनाउन नसकिएको उनको अनुभव छ । उनी भन्छन्, ‘६ जना अध्यक्षको मुख ६ तिर भएपछि राजपा कसरी अगाडि बढ्ला ?’

मधेस केन्द्रित ६ वटा दल एकीकरण भएर बनेको राजपा महाधिवेशनको तयारीमा छ । राजपाले निर्वाचन आयोगमा बुझाएको विधानमा अध्यक्ष मण्डललाई नै निरन्तरता दिने उल्लेख छ ।

फोरमले मधेसका मुद्दा तिलाञ्जली दिइसक्यो

उपाध्यक्ष लालले संघीय समाजवादी फोरम, नेपालले आफ्नो सबै एजेण्डा बिसाइसकेको बताएका छन् ।

मधेसी, आदिवासी जनजातिको मत पाएर सत्तामा पुगेको पार्टी भए पनि फोरमले ती समुदायसँग सबन्धित मुद्दा उठाउन छाडेको लालको भनाइ छ ।

‘फोरमले मधेसी र जनजातिको मुद्दालाई तिलाञ्जली दिइसकेको छ’ राष्ट्रियसभा सदस्यसमेत रहेका वरिष्ठ उपाध्यक्ष लालले अनलाइनखबरसँग कुराकानी गर्दै भने, ‘सत्तारुढ दल र फोरमको भाषामा कुनै अन्तर छैन ।’

फोरमले नचाहेकै कारण संविधान संशोधनको कुरा अगाडि बढ्न नसकेको लालको दाबी छ । उनी भन्छन्, ‘फोरम नै विपक्षमा भएकाले यो सरकारले हामीसँग गरेको सम्झौता अनुसार संविधान संशोधन गर्दैन भन्ने निश्कर्षमा पुगेका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment