Comments Add Comment

सर्लाहीमा नेकपा र कांग्रेस कार्यकर्ताबीच झडप, गोली लागेर एकको मृत्यु

१३ कात्तिक, काठमाडौं । सर्लाहीको रामनगर–४ मा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली कांग्रेसका कार्यकर्ताबीच भएको झडपका क्रममा गोली चल्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ५० वर्षीय रामविलास महतो छन् ।

प्रदेश २ का प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआईजी) हरिबहादुर पालले अनलाइनखबरलाई दिएको जानकारी अनुसार थप ४ जनालाई पनि गोलीको छर्रा लागेको छ । यद्यपि, उनीहरुको अवस्था सामान्य रहेको पालले बताए ।

यसअघि सोमबार नागरिकता बनाउनका लागि सिफारिस लिन गएको नेकपाको एक समूहको वडाध्यक्ष रामनरेश महतोसँग विवाद भएको थियो । महतो कांग्रेसबाट निर्वाचित वडाध्यक्ष हुन् ।

विवादका क्रममा उनीमाथि आक्रमण समेत भएको थियो । सोही विवादलाई लिएर कार्यकर्ताबीच मंगलबार बिहान झडप भएको जिल्ला प्रहरी कार्यालय, सर्लाहीका एक अधिकारीले बताए ।

अज्ञात व्यक्तिले भरुवा बन्दुक चलाउँदा रामविलासको मृत्यु भएको प्रहरीले जनाएको छ । गोली चलाउने व्यक्तिको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।

व्यापक प्रहरी परिचालन

घटनापछि सर्लाहीमा व्यापक प्रहरी परिचालन गरिएको छ ।

प्रदेश प्रहरी कार्यालय, जनकपुरबाट ६५ जनालाई त्यहाँ पठाइएको छ भने जिल्ला प्रहरी कार्यालय, रौतहटबाट पनि १५ जनाको टोली पठाइएको छ ।

स्रोतका अनुसार हाल त्यहाँ २ सय बढी सुरक्षाकर्मी खटिएका छन् । यद्यपि, हालसम्म गोली चलाउने व्यक्तिको पहिचान भएको छैन ।

स्थानीयले हाल मृतकको शव उठाउन दिएका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment