Comments Add Comment

पाइप फुटेपछि बोडे खानेपानी प्रणाली प्रभावित

१४ कात्तिक, काठमाडौं । काठमाडौंको बानेश्वर, त्रिपुरेश्वर र भक्तपुरको मध्यपुर थिमी क्षेत्रमा एक साता खानेपानी वितरण रोकिने भएको छ । सडक निर्माणका क्रममा खानेपानीको ट्रान्समिसन मेन पाइपमा क्षति पुगेपछि वितरण प्रभावित भएको हो ।

बानेश्वर शाखा, मध्यपुर थिमी शाखा र त्रिपुरश्वर शाखा अन्तर्गतका केही क्षेत्रमा पानी वितरणमा हुने अवरोध हुने काठमाडौं उपत्यका खानेपानी लिमिटेडले एक सूचना जारी गरी जानकारी दिएको छ ।

उपत्यका खानेपानी लिमिटेडका अनुसार बानेश्वर शाखा अन्तर्गत भक्तपुर बोडे खानेपानी प्रणालीबाट आएको १४ इन्चको ट्रान्समिसन मेन पाइप बानेश्वर, बागमति पुलमुनि पुल निर्माण गर्ने क्रममा पूर्ण क्षति भएको जनाइएको छ ।

उक्त पाइपमा क्षति पुग्दा बोडे प्रणालीबाट वितरण हुने सुविधानगर, गैरीगाउँ, शान्तिनगर, श्रीनगर, आलोकनगर, शंखमुल रोड, कुरियागाउँ, बुधनगर, थापागाउँ, सिडिओटोल, बिनायाकनगर, हनुमानस्थान आदि क्षेत्रमा खानेपानी वितरण रोकिएको छ ।

यस्तै मध्यपुर थिमी शाखाको कौशलटार तथा गठ्ठाघर लगायतका क्षेत्रमा पनि एक साता खानेपानी आउनेछैन । लिमिटेडको थिमी शाखाका कार्यालय प्रमुख मनिष ढुंगानाका अनुसार पुल निर्माणका क्रममा एक्स्टाभेटरले ठूलो पाइप फुटाइदिएकाले मर्मतमा कठिनाइ भइरहेको छ । ‘हामीले मर्मतको काम थालिसकेका छौं, ठूलो पाइप फुटेकाले केही दिन लाग्न सक्छ’, उनले भने ।

यो पाइपलाइन नबनुन्जेलसम्म लोकन्थलीको खानेपानी प्रशोधन केन्द्रबाट पनि निर्धारित १० घण्टाभन्दा थप पम्पिङ गरेर गठ्ठाघर, कौशलटार वितरण गर्ने काम भइरहेको उनले जानकारी दिए । तर, यसले प्रभावित क्षेत्रको माग पूर्णरुपमा धान्न नसक्ने उनको भनाइ छ ।

यस्तै, त्रिपुरेश्वर शाखा अन्तर्गत सुन्दरीघाट पानी प्रशोधन केन्द्रबाट वितरण हुने ८ इन्चको पाईप बल्खु पुलमा फूटपाथ निर्माण गर्ने क्रममा बिग्रिएको जनाइएको छ ।

जसले गर्दा कुलेश्वर, कालिमाटी, सोल्टीमोड, वाफल, ताहाचल, टेकु, सस्बहाल आदी क्षेत्रमा खानेपानी वितरण रोकिएको लिमिटेडले जनाएको छ । बिगि्रएको खानेपानीको पाइपलाइन मर्मतमा करिब एक साता लाग्ने सूचनामा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment