Comments Add Comment

मानसिकता नफेरिएसम्म परिवर्तन महसुस हुन्न : मुख्यमन्त्री पौडेल

१५ कात्तिक, हेटौंडा । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले राजनीतिक परिवर्तनले मात्र मुलुकको विकास सम्भव नहुने बताएका छन् ।

मुलुकको विकासका लागि राजनीतिक परिवर्तनसँगै समाजका अन्य धेरै विषयमा पनि परिवर्तन हुनुपर्ने उनको भनाइ छ ।

‘मानसिकता, चिन्तन र सोचमा परिवर्तन आएको छैन, अहिलेको नयाँ परिवेशमा आफूलाई परिवर्तन गर्न सकेमात्र सबैले परिवर्तनको महसुस गर्न सक्छन्’ उनले भने ।

राष्ट्रिय युवा परिषदको आयोजनामा बिहीबारदेखि हेटौंडामा शुरु भएको अभिमुखीकरण एवं कार्ययोजना निर्माण गोष्ठीमा मुख्यमन्त्री पौडेलले समृद्धिका लागि उत्पादनसंग जोडिनुपर्ने बताए ।

देशमा राजनीतिक परिवर्तनको युग सकिएर समृद्धिको युग शुरु भएको बताउँदै उनले समृद्धिका लागि युवाहरुको भूमिका महत्वपूर्ण हुनेमा जोड दिए ।

सरकारले समृद्धिको मुद्धालाई प्राथमिकता दिएको भन्दै उनले आर्थिक समृद्धिका लागि सबै क्षेत्रलाई उत्पादनमा जोडिन सुझाव दिए । आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले सानातिना भनिएका काममा युवाहरुको चासो नरहेसम्म मुलुकको विकास सम्भव नहुने बताए ।

कपाल काट्ने, कोट सिउनेजस्ता साना काममा रहेको लुकेको धन जबसम्म छिमेकी राष्ट्रका मानिसले लान्छन् त्यतिबेलासम्म विकास असम्भव हुने उनको भनाइ छ ।

सामाजिक विकास मन्त्री युवराज दुलालले आफू भन्दा पछिल्लो पुस्तालाई विश्वास गर्ने पक्षमा देखिएको संकिर्णता हटाउनुपर्ने बताए ।

राष्ट्रिय युवा परिषदका उपाध्यक्ष माधवप्रसाद ढुंगेलले योजना बनाउँदा युवाहरुको मुद्दालाई प्राथमिकतामा राखेर बनाउनुपर्ने बताए । गोष्ठीमा प्रदेश नम्बर १, २ र ३ का सामाजिक विकास मन्त्रालय र स्थानीय तहका युवा क्षेत्र हेर्ने शाखा प्रमुखहरुको सहभागिता रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment