Comments Add Comment

तिहारका लागि तयार हुँदैछ मखमलीको माला (फोटो फिचर)

१५ कात्तिक, काठमाडौं । हिन्दूहरुको दोस्रो ठूलो पर्व तिहार अर्को हप्ता सुरु हुँदैछ ।

तिहारमा सप्तरंगी टीकाजस्तै फूलको पनि विशेष महत्व हुन्छ । त्यसैले बजरमा फूलको माग पनि उच्च हुन्छ । काठमाडौं उपत्यका आसपासका किसानले तिहारमा केही आर्थिक उपार्जन गर्ने उद्देश्यले फूल खेती गरेका हुन्छन् ।

भक्तपुर गुण्डुका किसानलाई अहिले त्यही तिहारको चटारोले छपक्कै छोपेको छ । फूल टिप्ने, माला उन्ने र बिक्री गर्ने उनीहरुको दैनिकी बनेको छ । खेतबारीमा मखमली ढकमक्क फुलेको छ । गुण्डुका महिलाहरु वाल्टी, डाली आदिमा फूल टिपेर ल्याउँछन्, त्यसलाई घरमा बसेर माला उन्छन् ।

गुण्डुका घरहरुमा काठको लौरोमा उनेर लहरै माला झुण्ड्याएको देख्न सकिन्छ । काठमाडौं उपत्यकामा तिहारमा लगाउने धेरै माला यहीँ बन्छन् । ती माला ब्यापारीहरुले गुण्डुबाट किनेर ल्याई काठमाडौंको मुख्य बजार क्षेत्रमा बिक्री गर्छन् ।

भाइटीकामा दिदीबहिनीले दाजुभाइको लामो आयुको कामना गर्दै मखमलीको माला लगाइदिन्छन् । कहिल्यै नओइलाउने भएकाले यसलाई स्वस्थ जीवन र दीर्घायुको प्रतीक मानिन्छ । मखमली फूल सेतो, हल्का रातो र गाढा कलेजी रङमा फुल्छ । संस्कृतमा यसलाई रक्त मल्लिका भनिन्छ ।

सयपत्रीको पनि आफ्नै महत्व छ । अहिले बजारमा महंगो मूल्य तिरेर फूल किन्नुपर्छ । तर, ग्रामीण क्षेत्रका किसानले भने खासै यसको मूल्य पाउन सक्दैनन् । फूलमा पनि बिचौलिया हावी छन् । किसानले एउटा मखमलीको मालाको १८ रुपैयाँ मात्रै पाइरहेका छन् ।

तर, मुख्य बजारमा तिनै माला सय रुपैयाँदेखि डेढसय रुपैयाँसम्ममा बिक्री हुन्छन् । काठमाडौं उपत्यकामा भक्तपुरको गुण्डु लगायतका ठाउँमा गरिने फूल खेतिबाट स्थानीय समुदायले चाडपर्व खर्च जुटाउँछन् । तर, उनीहरुको मिहिनेतले उचित लाभ भने पाउन सकेको छैन ।

हेर्नुस् भक्तपुरको गुण्डुमा कसरी तयार हुँदैछ माला 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment