+
+

उच्चपदस्थको सम्पत्ति छानबिन गर्ने उद्देश्यसहित ‘नेपालका लागि नेपाली’ अभियान

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक १५ गते १६:५८

१५ कात्तिक, काठमाडौं । अधिवक्ता डा. सुरेन्द्र भण्डारीको अगुवाईमा ‘नेपालका लागि नेपाली’ अभियान सुरु हुने भएको छ । अभियानले नागरिक आयोग बनाएर पञ्चायतकालदेखि अहिलेसम्मका उच्च ओहदामा बसेकाहरुको सम्पत्ति छानविन गर्नेछ ।

शनिबार एक होटलमा हुने भेलाले समन्वय समिति बनाएर अभियानलाई औपचारिकता दिने भण्डारीले बताए । लगत्तै नमुना नागरिक आयोग बनाइनेछ । आयोगमा १०/११ जना हुनेछन् र यसले केही भ्रष्टाचार वा आपराधिक घटनाको अनुसन्धान गर्ने बताइएको छ ।

‘यसले नागरिक आयोग बन्यो भने कसरी काम गर्छ भनेर मोडल स्थापित गर्छ’ भण्डारी भन्छन्, ‘सुरुमा हामी ३/४ वटा मुद्दामा अनुसन्धान गर्छौं । त्यो निर्मला हत्याकाण्ड पनि हुनसक्छ, वाइडबडी विमान खरिद वा अरु कुनै हुनसक्छ ।’

यसक्रममा देशभर कार्यक्रम गरेर ७७ वटै जिल्लामा अभियानका कमिटीहरु पनि बनाउने योजना छ । नागरिक आयोग बन्न भने डेढदेखि २ वर्षसम्म लाग्ने अभियान्ताहरु बताउँछन् ।

के हो नागरिक आयोग ?

‘नेपालका लागि नेपाल’ अभियानले पाँच मुद्दा अगाडि सारेको छ, जसमा भ्रष्टाचार पहिलो नम्बरमा छ ।

राजनीतिक नेतृत्वले सत्ता र शक्तिको दुरुपयोग गरेको तर, अख्तियार मात्र होइन अदालतसमेत भ्रष्टाचारको मुद्दामा नरम भएको ठहर गर्दै अभियानले नागरिक आयोगमार्फत उच्च तहमा पुगेकाहरुको छानविन गर्ने बताएको छ । आयोग निर्माण गर्नुअघि देशभर आन्दोलन गरेर यसको माग उत्पन्न गराउने उनीहरु बताउँछन् ।

आयोगमा ‘समाजले पत्याएका’ व्यक्तिहरु हुन्छन्, जसले राजनीतिक नेतृत्व, उच्च पदमा पुगेकाहरु, न्यायाधीश लगायतलाई सम्पत्तिको स्रोत खुलाउन आहृवान गर्नेछ । अनि त्यसमाथि छानविन गर्छ र दोषी देखिएकालाई कारबाही गर्न सरकारलाई आग्रह गर्छ ।

त्यसो त सरकारले आयोगलाई स्वीकार नगर्न पनिसक्ने अभियान्ता डा. भण्डारी स्वीकार गर्छन् । उनले भने, ‘सरकारले स्वीकार गरेन भने त्यस्ता व्यक्तिहरुलाई चुनावमा हराउन नागरिकलाई आहृवान गर्छौं ।’

राजनीतिक रुपमा प्रेरित भएको आरोप

अभियन्ताहरुले यसमा सहभागी हुन धेरैलाई प्रस्ताव गरेका छन् । तर, अहिलेसम्म भण्डारी, रत्नसंसार श्रेष्ठ, अधिवक्ता बालकृष्ण न्यौपाने, पत्रकार आदित्यमान श्रेष्ठ लगायतका केही सिमित व्यक्ति मात्र पर्दाअगाडि देखिएका छन् ।

आफूलाई पनि अभियानमा सहभागी हुन प्रस्ताव आएको तर राजनीतिक रुपले प्रेरित देखिएकाले आफू नगएको एकजनाले बताए ।

अभियानको दोस्रो मागका रुपमा संविधान संशोधन गर्नुपर्ने र संघीयताको यो मोडल देशले नधान्ने उल्लेख छ । यसले अभियान राजनीतिक उद्देश्यले पनि प्रेरित रहेको देखिन्छ । अभियन्ता भण्डारी पनि शंका गर्नु ठीकै भएको बताउँछन् ।

उनले भने, हामीले गणतन्त्र मान्ने, राजा चाहिन्छ भन्ने सबैलाई आउनुस् तर दलभन्दा माथि उठेर भनेका छौं । दलभन्दा माथि उठेर नेपाली भएर बसौं भनेका छौं ।’ राम्रा राजनीतिक उपलब्धीहरुलाई जोगाउँदै कमजोरी सच्याउन संशोधन गर्नुपर्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?