Comments Add Comment

स्याङ्जामा सुरु भयो प्याराग्लाईडिङ एक्युरेसी विश्वकप

पोखरा । नेपालमै पहिलो पटक आयोजना भएको प्याराग्लाईडिङ एक्युरेसी विश्वकप प्रतियोगिता बिहीबारदेखि शुरु भएको छ । स्याङ्गजाको स्वरेक मैदान (भिरकोट) र डौंवाफाँटमा नेपालमै पहिलो पटक प्याराग्लाईडिङ एक्कुरेसी (स्पट ल्याण्डिङ) विश्वकप २०१८ शुरु भएको हो ।

नेपाल पाराग्लाईडिङ तथा हृयाण्ड ग्लाईडिङ संघ (नेफा), नेपाल हवाई खेलकुद संस्था (ना), बाबु एड्भेन्चर क्लब स्याङ्गजाको संयुक्त आयोजनामा भएको प्रतियोगिताको युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्माले पानसमा वत्ति बालेर उद्घाटन गरे ।

प्रतियोगिता १८ गतेसम्म सञ्चालन हुनेछ ।

प्रतियोगिताको पहिलो दिन बिहीबार प्रतियोगितात्मक प्रतिष्पर्धा नभई अभ्यास खेल मात्र भएको छ ।

प्रतियोगितामा महिला पुरुष दुबै इभेन्टमा प्रतिष्पर्धा हुँदैछ । प्रतियोगितामा पुरुष र महिलाको टिम तथा ब्यक्तिगत एक्कुरेसी गरी ४ स्वर्ण पदकका लागि प्रतिष्प्रर्धा हुने मुल समारोह समितिका संयोजक एवम् जिल्ला समन्वय समिति स्याङजाका प्रमुख सीताकुमारी सुन्दासले जानकारी दिइन् ।

शुक्रबारदेखि मात्र प्रतियोगितात्मक प्रतिष्पर्धा हुनेछ । प्रतियोगिले एकै दिनमा दुई राउण्ड अर्थात दुई वटा फ्लाईट गर्नुपर्ने हुन्छ । टिम प्रतिस्पर्धामा प्रत्येक समूहमा पुरुषतर्फ ५ र महिलातर्फ ३ खेलाडीहरुको समूह हुनेछ । प्रतियोगितामा प्रत्येक समूह तथा ब्यक्तिले ६ पटकसम्म ल्याण्डिङ गर्नु पर्नेछ ।

प्रतियोगितामा २१ देशका १२० जना प्याराग्लाईडिङ पाइलटहरु प्रतिष्पर्धामा उत्रिदैछन् । प्रतियोगितामा मित्र राष्ट्र भारत, चीनसहित एसिया तथा अमेरीकालगायतका देशका पाईलटहरुले सहभागिताको लागि नाम दर्ता गराएको सुन्दासले जानकारी दिइन् । यसअघी ३० देशका पाइलटहरुले सहभागिता जनाउने भनिएपनि सबैले नाम दर्ता नगराएको प्रतियोगिता संयोजक शैलेन्द्र राउतले जानकारी दिए ।

प्रतियोगिता सम्पन्न गर्न प्याराग्लाईडिङको सर्बोच्च निकाय एफ.ए.आई.का प्रतिनिधिहरुको ३ सदस्यीय टोलीसमेत स्याङजा आएको संयोजक राउतले बताए । उनका अनुसार एफ.ए.आई.का प्रतिनिधि ईण्डोनेसियाका उगा र मुनिर तथा मलेसियाका नादिया आएका छन् ।

प्रतियोगितामा हुनसक्ने दुर्घट्नालाई मध्यनजर गरेर सुरक्षाको प्रबन्ध गरिएको आयोजकले जनाएको छ । प्रतियोगितामा सहभागि पाइलटहरुको सुरक्षाका लागि रेस्क्यू टिम, एम्बुलेन्स र हेलिकोप्टरसमेत तयारी अवस्थामा राखिएको सचिवालय प्रमुख अनन्तकुमार श्रेष्ठले जानकारी दिए ।

प्रतियोगिताको उद्घाटन गर्दै युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्माले स्याङ्जाले प्याराग्लाईडिङको वल्र्डकप गर्न पाउनु देश, खेलकुदकर्मी तथा सम्पूर्ण नेपालीको लागि गौरवको कुरा भएको बताए । उनले सबै स्थानिय तहमा खेलकुद मैदान बनाउन सरकार लागिपरेको र त्यसका लागि स्थानियको ३० प्रतिशत र सरकारको ७० प्रतिशतको लगानीमा मैदान बनाइने बताए ।

संघीय सांसद नारायणप्रसाद मरासिनीले प्याराग्लाइडिङ वल्र्ड कपले समृद्ध नेपाल र सुखी नेपाली अभियानका लागि कोशेढुंगा सावित हुने बताए ।

नेपाल प्याराग्लाईडिङ तथा हृयाण्ड ग्लाईडिङ संघका अध्यक्ष रुपनारायण श्रेष्ठले पोखरामा प्याराग्लाईडिङ बिस्थापन हुने क्रममा रहेकाले स्याङजाको स्वरेक विकल्प बन्ने बताए । उनले स्वरेकमा प्याराग्लाईीडङको विश्वविद्यालय बनाउने घोषणा गर्दै बिदेश पलायन हुने क्रमका युवाहरुलाई प्याराग्लाईीडङ सिकाएर एक पटकको २ हजार कमाउनसक्ने बनाउने बताए ।

पोखरामा यसअघि १७ औं संस्करणसम्म खुल्ला नेपाल प्याराग्लाईडिङ र पोखरा तथा स्याङजाको स्वरेकमा पि्र-वल्र्ड कप गरिएको थियो ।

१८ औं एशियाली खेलकुदमा नेपालले प्याराग्लाईडिङको क्रस कन्ट्रीतर्फ रजत पदक हात पार्न सफल भएको थियो ।

जिल्ला समन्वय समित स्याङ्गजाको सहयोगमा हुने प्रतियोगिताको समूहतर्फ स्वर्ण पदक बिजेताले १५ सय, रजत पदक बिजेताले २ सय र काश्य पदक बिजेताले ७ सय युरो प्राप्त गर्ने छन् । त्यस्तै व्यक्तिगततर्फ स्वर्ण पदक बिजेताले १ हजार, रजत पदक बिजेताले ७ सय ५० र काश्य पदक बिजेताले ५ सय युरो प्राप्त गर्नेछन् ।

प्रतियोगिता सम्पन्न गर्न करिब १ करोड ६० लाख रुपैयाँ लाग्ने अनुमान गरिएको संयोजक शैलेन्द्र राउतले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment