Comments Add Comment

ओली र प्रचण्डमाथि बैठक टार्दै ‘पाँडे पजनी’ गर्न खोजेको आरोप

१६ कात्तिक, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले पटक-पटक बैठक तथा छलफलबाट भाग्न खोजेको भन्दै नेताहरुले असन्तुष्टि जनाएका छन् ।

स्थायी कमिटीको पछिल्लो बैठकसमेत अनिश्चितकालका लागि स्थगित भएपछि पार्टी पंक्तिमा निराशा छाएको उनीहरुले बताएका छन् ।

दुई पार्टीवीच एकता भएको ६ महिना बितिसक्दा पनि कमिटी एकीकरण हुन नसकेकाले कार्यकर्तामा निराशा बढेको छ भने पार्टी प्रणाली पनि लथालिंग भएको छ । दशैंअघि विवादका बीच चयन भएका प्रदेश कमिटीका पदाधिकारीले स्थायी तहको एकीकरण प्रक्रिया अघि बढाए बाहेक केन्द्रबाट कुनै गतिबिधि नभएको नेताहरु बताउँछन् ।

पार्टीका सबै कमिटीको एकीकरण टुंगो लगाउने गरी असोज १२ र १३ गते नेकपा स्थायी कमिटी बैठक बोलाइएको थियो । माधवकुमार नेपाल लगायतका बरिष्ठ नेताहरुको दबावमा बोलाइएको बैठक बिनाकारण अनिश्चितकालका लागि स्थगित गरिएपछि स्थायी कमिटी सदस्यहरुले सार्वजनिकरुपमै आपत्ति जनाएका छन् ।

स्थायी कमिटी सदस्य योगेश भट्टराईले बैठक पटक-पटक स्थगित गर्दा समस्या तत्कालका लागि पन्छाउन सकिए पनि समाधान नहुने बताए । उनले पार्टीको मूल नेतृत्व गैरजिम्मेवार हुँदा यसले समग्र पार्टीलाई क्षति पुग्ने चेतावनीसमेत दिएका छन् । पटक-पटक बैठक स्थगन गर्नुको जवाफसमेत उनले मागेका छन् ।

नेकपाको विधान आफैंमा विवादित छ । विवादित विधान अनुसार पनि ३ महिनामा एकपटक स्थायी कमिटी बैठक बस्नुपर्ने हुन्छ । तर, ५ महिना पुग्न लाग्दा पनि अध्यक्षद्वय ओली र दाहालले बैठक राख्न नचाहेको आरोप नेताहरुको छ ।

नेकपाको स्थायी कमिटीको पछिल्लो बैठक असार २१ गते बसेको थियो । विधान अनुसार असोज २१ भित्र कम्तिमा एकपटक बैठक बस्नुपर्ने हो । तर, यसबीचमा पाँच पटकसम्म बैठकको मिति तोकेर स्थगित गरिएको छ । स्थायी कमिटीलाई कार्यकारी बनाउन आवश्यक परे महिनामा दुई तीनपटक पनि बैठक बस्नुपर्ने सुदुरपश्चिम प्रदेश इञ्चार्ज भीम रावलले बताए ।

नेकपामा केन्द्रीय सचिवालयलाई कार्यकारी कमिटी बनाउन खोजिएकोमा ठूलो अशन्तुष्टि छ । ९ सदस्यीय सचिवालयलाई तत्कालीन राजनीतिक निर्णय गर्ने बाहेक अरु अधिकार स्थायी कमिटीमा हुनुपर्ने रावलले बताए । नेकपा स्थायी कमिटी ४५ सदस्यीय छ ।

पछिल्लो बैठक अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली बिरामी हुनुभन्दा अघि नै स्थगित गरिएको हो । पछिल्लो सचिवालय बैठकले कमिटीहरु एकीकरणको प्रस्ताव ल्याउन महासचिव बिष्णु पौडेल र गृहमन्त्री रामबहादुर थापा बादलको कार्यदल गठन गरेपछि स्थायी कमिटी बैठक स्थगित गरिएको हो ।

मूल नेतृत्वमा बैठकहरुमा विषयवस्तुमाथि छलफल गराउने र समस्याको समाधान खोज्ने भन्दा पनि बहस छलफल पन्छाउने प्रवृत्ति देखिएको स्थायी कमिटी सदस्यहरु बताउँछन् । बैठक पन्छाउने र दुईजना सल्लाह गरेर पाँडे पजनी शैलीमा पार्टी चलाउने सन्दर्भमा दुबै अध्यक्ष मिलेको उनीहरुको आरोप छ ।

पूर्वमाओवादी पृष्ठभूमिका एक स्थायी कमिटी सदस्यले भने- दुबै अध्यक्षमा पार्टीलाई प्रालिको रुपमा चलाउने भुत सवार भएको छ । बैठकहरु राख्दा छलफल हुने र प्रश्नको जवाफ दिनुपर्ने भएकाले उनीहरु सकेसम्म बैठक नै नराख्ने र राखे पनि छलफलको वातावरण नबनाई निर्णय लाद्ने ढंगले आएका छन् । यो पार्टी विघटनको खतरा हो ।

महासचिव बिष्णु पौडेलले कात्तिक महिनाभित्र कम्तिमा जिल्ला कमिटीसम्मको एकीकरण टुंगो लगाउने र प्रदेश तथा जिल्लाले स्थायी तहको एकीकरण टुंग्याउने अनौपचारिक प्रस्ताव अध्यक्षद्वय सामु राखेका थिए । तर, उनको प्रयास सफल भएन । एकीकरण ढिलो हुँदै जाँदा कार्यकर्तामा निराशा र पलायनको अवस्था आएको भन्दै तीब्र आलोचना भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment