१६ काक्तिक काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले महाधिवेशनअघि पार्टी एकतावद्ध हुने सम्भावना कम रहेको बताएका छन् ।
शुक्रबार कांग्रेस पार्टीले गरेको चियापान कार्यक्रममा पत्रकारहरुसँग कुराकानी गर्दै उनले निरन्तर प्रयास गरे पनि महाधिवेशनअघि पार्टी मिलाउने सम्भावना कम रहेको बताएका हुन् ।
‘पार्टी एक हुनुपर्छ भन्ने धारणा पहिलेदेखि नै हो, महाधिवेशन भन्दा पहिले पार्टी मिलाउने सम्भावना कम देखिएको छ । मेरो निरन्तर प्रयास छ । महाधिवेशनपछि एक भएर जान्छ’ उनले भने । कांग्रेसमा अहिले पनि कोइराला परिवारको लिगेसी आवश्यक रहेको महामन्त्री कोइरालाले बताएका छन् । ‘(पार्टी) एकढिक्का बनाएर जाने क्षमता कोइराला परिवारको छ’ उनले भने ।
महामन्त्री कोइरालाले अरु दलसँग मिलेर जानुपर्छ, मेलमिलाप गरेर जानुपर्छ भन्ने नीतिअनुसार चियापान कार्यक्रम गरेको बताए ।
नेपालीहरुके ठूला पर्व दशैं, तिहार, छठपर्वको अवसरमा आयोजना गरिएको चियापान कार्यक्रममा विभिन्न दलका नेताहरु, कुटनीतिक नियोगका अधिकारीहरु पुगेका थिए ।
नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले चियापानमा फरक फरक दलका प्रतिनिधिहरु भेटघाट गर्नु सकारात्मक संस्कृति भएको बताए । ‘यसले आफ्नो पन विकास गर्न सहकार्यको विकास गर्न सहयोग गर्छ’ उनले भने ।
नेपाल आर्थिक क्रान्ति र समृद्धिको युगमा प्रवेश गरेको भन्दै नेता श्रेष्ठले भिन्नताका बीचमा पनि एकतावद्ध भएर आर्थिक क्रान्ति र समृद्धितिरको दिशामा अघि बढाउन यस्ता चियापानले मद्दत गर्ने बताए ।
प्रतिक्रिया 4