Comments Add Comment

कांग्रेसको चियापानमा नेकपा नेता हावी, देउवाले भने : मिलेर जानुपर्छ

१६ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा शुक्रबार निक्कै भीड देखिन्थ्यो । त्यो खचाखच भीडमा कांग्रेस कार्यकर्ता र शुभेच्छुकमात्रै थिएनन् ।

विभिन्न राजनीतिक दलका नेता, सांसद, संवैधानिक अंगका प्रमुख, कुटनीतिक नियोगका प्रमुख, उद्योगपति, पेशाकर्मी, नागरिक समाजका अगुवा पनि थिए ।

कांग्रेसले दशैं, तिहार, छठपर्वको अवसरमा गरेको चियापान कार्यक्रमको उपस्थिति हेर्दा लाग्थ्यो सिंगो देशको प्रतिनिधित्वि थियो । चियापानमा आएका शीर्ष नेताहरुले छोटो-छोटो प्रतिक्रिया दिए । तर, कांग्रेस नेताहरुको भन्दा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका नेताहरुका भाषण सञ्चारमाध्यममा हावी भए ।

जब नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चियापान समारोहमा उपस्थित भए, तब त्यो कार्यक्रमको माहोल नै फेरियो । पत्रकारले घेरे र प्रतिक्रिया मागे । सुरुमा प्रचण्डले पत्रकारको आग्रह इन्कार गरे ।

चियापान प्रवेश स्थलमा लाइनबद्ध उभिएका शेरबहादुर देउवा, रामचन्द्र पौडेल, बिमलेन्द्र निधि, चित्रलेखा यादवलगायतका कांग्रेसका शीर्ष नेताहरुसँग शुभकामना साटासाट गरेपछि प्रचण्डले विगतमा पनि कांग्रेस-कम्युनिस्ट मिल्दै आएको र अब पनि मिलेरै आर्थिक समृद्धि हासिल गर्नुपर्ने बताए । ‘सानो चित्त गर्न भएन । नेपाली कांग्रेससँगै मिलेर शान्ति प्रक्रियामा आएका हौं’, अब देशको आर्थिक समृद्धि पनि सबै मिलेर गर्नुपर्छ’, प्रचण्डले भने ।

उनले राजनीतिक दलहरुले मिलेर ल्याएको परिवर्तन अझै संस्थागत भइनसकेकाले यसलाई अघि बढाउन अझै मेलमिलाप र एकता आवश्यक भएको उल्लेख गरे । ‘हामी सबैले ठण्डा दिमागले सोचेर राष्ट्रिय एकता र समृद्धिको यात्रामा जान नेपाल कम्युनिस्ट पार्टीको तर्फबाट अपिल गर्न चाहन्छु’ उनले भने ।

चियापानमा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष प्रचण्ड, सचिवालय सदस्यहरु झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, महासचिव विष्णु पौडेल, सुवास नेम्वाङ पुगेका थिए । राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना, राजपा नेपालका अध्यक्ष मण्डलका सदस्यहरु महन्थ ठाकुर, शरदसिंह भण्डारी, अनिल झा, नेता लक्ष्मणलाल कर्ण, राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशम्शेर जबरा, राप्रपा राष्ट्रवादीका नेता डा. प्रकाशचन्द्र लोहनी पनि चियापानमा पुगेका थिए ।

कांग्रेस सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइराला, नेता कृष्णप्रसाद सिटौला, गोपालमान श्रेष्ठ, प्रकाशशरण महतलगायतले चियापानमा सहभागी हुन आएका पाहुनाको स्वागत गरेका थिए ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विपीको मेलमिलापको नीति नै देश अगाडि बढिरहेको जिकिर गरे । ‘अहिले पनि देशमा मेलमिलापको आवश्यकता छ’, देउवाले भने, मिलेरै जानुपर्छ ।’

यो पनि पढ्नुहोस कांग्रेस खोजिरहेको थिएँ, सानेपाको चियापानमा भेटेँ : झलनाथ

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिलेको सरकार निकै अनुकुल अवस्थामा रहेको भन्दै नेकपाले समयको सदुपयोग गर्न सक्नुपर्ने बताए ।

‘अहिलेको स्थिरताको सरकार बनेको बेला राम्रो विकास हुन सकेन भने भविष्य अन्धकारतिर जान्छ । सरकारले समयको सदुपयोग गर्न सकोस्, कम्युनिस्ट पार्टी नेतृत्वको सरकरा समयको दुपयोग गर्न सक्षम हुनुपर्छ’ उनले भने ।

नेपाल कम्युनिस्ट पार्टीका नेता झलनाथ खनालले कांग्रेसलाई बल्ल चियापानमा भेटेँ’ भनेर टिप्प्णी गरे । ‘अपोजिसन पार्टी कता हरायो भन्ने लागिरहेको थियो । आज सानेपामा आयाँदा भव्यताका साथ चियापान कार्यक्रम गरिरहेको भेटेँ, मलाई खुशी लागेको छ’ उनले भने ।

कांग्रेस महामन्त्री डा. शशांक कोइरालाले पार्टीमा आन्तरिक कलह चुलिएको स्वीकार गरे । ‘पार्टी एक हुनुपर्छ भन्ने धारणा पहिलेदेखि नै हो, महाधिवेशन भन्दा पहिले पार्टी मिलाउने सम्भावना कम देखिएको छ । मेरो निरन्तर प्रयास छ । महाधिवेशनपछि एक भएर जान्छ’ उनले भने ।

यो पनि पढ्नुहोस महाधिवेशनअघि कांग्रेस मिल्ने सम्भावना कम छ : महामन्त्री कोइराला

नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले चियापानमा फरक फरक दलका प्रतिनिधिहरु भेटघाट गर्नु सकारात्मक संस्कृति भएको बताए । ‘यसले आˆनो पन विकास गर्न सहकार्यको विकास गर्न सहयोग गर्छ’ उनले भने ।

नेपाल आर्थिक क्रान्ति र समृद्धिको युगमा प्रवेश गरेको भन्दै नेता श्रेष्ठले भिन्नताका बीचमा पनि एकतावद्ध भएर आर्थिक क्रान्ति र समृद्धितिरको दिशामा अघि बढाउन यस्ता चियापानले मद्दत गर्ने बताए ।

२०३३ सालमा बी.पी. कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केपछि २०३५ सालदेखि प्रत्येक वर्ष नेपाली कांग्रेसले जलपान समारोह गरी शुभकामना आदान-प्रदान गर्ने परम्परा कायम राख्दै आएको छ ।

कांग्रेसले उपत्यकाबाहिरका सबै जिल्लामा पनि चियापान कार्यक्रम गरेको छ । तर केही दिनअघि पार्टीका कार्यकर्ता रामविलास महतोको गोली लागी मृत्यु भएको विरोधमा सर्लाहीमा भने चियापान कार्यक्रम राखेन ।

यो पनि पढ्नुहोस कांग्रेसको चियापानमा को को पुगे ? तस्वीरमा हेर्नुहोस् यो पनि पढ्नुहोस कांग्रेसको चियापानमा कार्यकर्ताको गुनासो : नेताहरु स्वार्थी भए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment