Comments Add Comment

‘किताब व्यापारी’सँग वार्ताः अस्पताल र जेलमा पुस्तक नदेख्दा दुःख लाग्छ

१७ कात्तिक, काठमाडौं । डेढ दशकअघि विश्वचर्चित कम्पनी माइक्रोसफ्ट छाडेर नेपालका गाउँगाउँमा पुस्तकालय खोल्ने अभियान चलाएका थिए अमेरिकी नागरिक जोन उडले । त्यही अभियानअन्तरगत ‘रुम टु रिड’ नामक संस्था खुल्यो र त्यसले बालबालिकाहरुका लागि पुस्तक प्रकाशन गर्न थाल्यो ।

यसअघि नेपालमा बालबाहित्यका पुस्तक थोरै निस्कन्थे । ती पुस्तकका छपाइ पनि बालबालिकालाई आकषिर्त गर्ने खालका थिएनन् । ‘रुम टु रिड’को स्थापनापछि आकर्षक चित्रसहितका पुस्तक गाउँगाउँमा स्थापना भएका पुस्तकालयहरुमा पुगे ।

निजी तथा सामुदायिक विद्यालयहरुमा पनि ती पुस्तकहरुको माग हुन थाल्यो । यो अभियान कति प्रभावकारी भयो भने कुनैबेला पाठ्यक्रम बाहिरको पुस्तक पढ्न नदिने अभिभावकहरु अहिले आफ्ना सन्तानका लागि बाहिरी पुस्तकको खोजी गर्न थालेका छन् ।

मोवाइल र टेलिभिजनको लतबाट आफ्ना सन्तान र विद्यार्थीलाई बचाउन पनि शिक्षक र अभिभावकहरु उनीहरुका रुचीका पुस्तक खोजी गर्न थालेका छन् । नेपाली पठन संस्कृतिमा बालसाहित्य अभियानले महत्वपूर्ण भूमिका खेलेको थियो । यो अभियान अहिले पनि जारी छ ।

प्ाठन संस्कृतिको दोस्रो मोड नेपालका निजी प्रकाशन गृहहरुले ल्याए । दिक्दार र पट्यारलाग्दो पुरातन शैलीका साहित्यिक विषय भन्दा युवा पुस्तालाई मन पर्ने शिल्प र शैलीलाई निजी प्रकाशन गृहहरुले पछ्याएका छन् । पब्लिकेसन्सहरुले पुस्तकको विषयवस्तु मात्र होइन, वाह्य र आन्तरिक सजावटमा पनि ध्यान दिन थालेपछि पुस्तक किन्ने संस्कृतिको विकास भएको छ ।

पठन संस्कृति बढेसँगै एउटै पुस्तक ५० हजारसम्म बिक्री भएको इतिहास बन्न थाल्ोको छ । प्रकाशन संस्थाहरुमा करोडौंको लगानी हुनु र दर्जनौं लेखक पूर्णकालीन भएर बाँच्नु नेपाली साहित्यले पाएका केही उपलब्धि हुन् ।

यसरी पठन संस्कृति मौलाइरहेका बेला ‘किताब यात्रा’का सहयात्री ऋषिराम अधिकारी र कृपेश किशोर घिमिरेले नयाँ दिल्लीमा चार्टड एकाउन्टेनको पढाइलाई बीचैमा छाडेर घर-घरमा पुस्तक वितरण गर्न थालेका छन् । उनीहरुलाई विकेश भट्टराईले पनि साथ दिएका छन् ।

‘किताब यात्रा’ नाम दिइएको संस्थाले सबै किसिमका पुस्तकहरु पाठकको घरदैलोमा पुर्‍याउने अभियान सुरु गरेको छ । संस्थाले एक वर्ष नपुग्दै विश्वका ५८ देश र नेपालका २८ सहरमा बस्ने नेपालीलाई घरमै किताबहरु पुर्‍याउन थालेको दाबी गरेको छ । नेपालभित्र फोन गरेको केही घन्टा र विदेशका दुरदराज क्षेत्रमा अनलाइन अर्डर गरेको केही दिनभित्रै पुस्तक उनीहरुले दिएको ठेगानामा पुग्न थालेको अधिकारी बताउँछन् ।

यिनै किताब यात्राका अभियन्ता ऋषिराम अधिकारीसँग पठन संस्कृति र उनको अभियानका विषयमा कुराकानी गरिएको छ ।

घरघरमा पुस्तक पुर्‍याउने सोच कसरी आयो ?

म सर्लाही जिल्लाको लालबन्दी भन्ने गाउँको हुर्के, पढेको राम्रै विद्यार्थी थिएँ । हाम्रो गाउँमा पढ्ने मानिसले कोर्सको बाहेक अरु पुस्तक पढ्नुहुँदैन भन्ने मान्यता थियो । तर, पाठ्यपुस्तकहरुमा धेरै कवि-लेखकका पुस्तकको प्रसंसा गरिएको हुन्थ्यो । बजारमा त्यस्ता साहित्यिक पुस्तक किन्न पाइन्नथ्यो । तर, भारतीय अश्लील पुस्तकलाई स्टिच लगाएर बेच्न राखिन्थ्यो । धेरै साथीहरु ती पुस्तक आफ्ना पाठ्यपुस्तकमा लुकाएर पढ्ने गर्थे ।

जब म चाटर्ड एकाउन्ट पढ्न दिल्ली पुगेँ, त्यहाँको पठन संस्कृति देखेर छक्कै परेँ । हरेक उमेर समूहका लागि लाखौं पुस्तक निस्कँदा रहेछन् । विदेशमा निस्किएका पुस्तकहरु पनि दक्षिण एसियाली संस्करणका रुपमा दिल्लीमा छापिँदा रहेछन् ।

अमेजन डटकमजस्ता व्यवसायिक संस्थामार्फत ती पुस्तक छापिएको केही दिनभित्रै अफिस-अफिसमा, विद्यालयहरुमा र घरघरमा पुर्‍याइने व्यवस्था गरिएको रहेछ । पुस्तकको यति ठूलो भोक र ब्यापार देख्दा मलाई लाग्यो- नेपालमा पनि अब यसको वातावरण बनेको छ ।

नेपालमा यस किसिमको ब्यापारको अध्ययन गर्नुभयो कि अन्दाजका भरमा सुरु गर्नु भएको हो ?

म व्यवस्थापनको विद्यार्थी हुँ र चाटर्ड एकाउन्टेन्सी त्यसको मुख्य पाटो हो । काठमाडौंमा प्लस टु पढ्दादेखि नै नेपालमा पठन संस्कृति बढिरहेको अनुभव गर्न थालेको थिएँ । राम्रा प्रकाशन गृहहरुले पुस्तक छाप्न थालेका थिए र हाम्रा रुचीका पुस्तक राम्रो कलेवरमा छापिन थालेका थिए । तर, त्यसको बजारशास्त्रबारे म अनविज्ञ थिएँ ।
दिल्लीको पठन संस्कृतिमा त्यहाँका प्रकाशन गृह, लेखक र अनलाइन व्यवशायिक संस्थाहरुको योगदान देखिसकेपछि मैले नेपालमा यसको सम्भावना भएको अनुभव गरेँ । अब परीक्षण गर्नुथियो । त्यसका लागि बुकहोलिक्स नामक साहित्यप्रेमी पाठकहरुको समूहसँग मिलेर काम सुरु गरेँ । पहिलोपटक त्यो समूहलाई दिल्लीबाट आवश्यक पुस्तक नेपाल ल्याएँ ।

आफूले मगाएका पुस्तक समयमै उचित मूल्यमा पाएपछि नेपाली पाठकहरु साह्रै खुसी हुनुभयो । उहाँहरुले नै आफूहरुले यस्तै सेवा खोजिरहेको बताउनुभयो । यो सफलताले नै बजारमा यस किसिमको संस्थाको आवश्यकता भएको अनुभव भइहाल्यो ।

तर, म एक्लैले यति ठूलो अभियान पूरा गर्न सकिँदैनथ्यो । यसका लागि मैले चाटर्ड एकाउन्ट पढ्दै गरेको साथी कृपेश किशोरलाई मेरो ब्यवसायमा पार्टनर बन्न आग्रह गरेँ । मेरो योजना सुनेपछि उनले तुरुन्तै पढाइ छाड्न मञ्जुर गरे ।

नेपाल आएपछि यो अभियानका लागि नेपालमै अवसर खोजिरहेका उपयुक्त पार्टनरको खोजी सुरु गर्‍यौं । यस्तै अवसर खोजिरहेका विकेश भट्टराई हाम्रो योजनाबाट साह्रै खुसी भए । यसरी तीन जनाको समूह यसमा जुटेर काम सुरु गरेका हौं ।

कति पाठकलाई सेवा दिन थाल्नुभएको छ ?

रुसबाहेक नेपालीको बसोबास भएका सबै देशमा हाम्रो सेवा सुरु भएको छ । हजारौं नेपाली पुस्तक विदेश पठाइरहेका छौं । रुसमा भने अन्त्ार्राष्ट्रिय कुरियर सेवाले पुस्तक पुर्‍याउन नसक्ने बताएकाले त्यहाँ सेवा दिन सकिएको छैन ।

ठूलो समूहमा नेपाली बसोबास गर्ने विश्वका ५८ देशमा भने उहाँहरुलाई आवश्यक परेको नेपाली पुस्तक र कतिपय अन्य भाषाका पुस्तक पनि उहाँको घर-अफिससम्मै पुर्‍याउन थालेका छौं । हाम्रा पाठकहरुलाई कुन पुस्तक कहिले आउँदैछ र उहाँलाई कति दिनभित्र त्यो पुस्तक चाहियो भन्नेसम्मको सूचना दिने गर्दछौं ।

यही सूचनाका आधारमा उहाँहरुलाई मनपरेको पुस्तक मगाउनुहुन्छ । विदेशमा रहनु भएका पाठकहरुले नेपालमा पुस्तक बिमोचन भएकै दिन उहाँहरुको हातमा पुग्ने वातावरण मिलाएका छौं । काठमाडौंमा पुस्तक मगाएको एक घन्टाभित्र पुर्‍यादिन्छौं । बाहिरी जिल्लामा दुई-तीन घण्टादेखि एक दिनसम्म लाग्छ । तर, त्यो समयलाई पनि घटाउने योजना छ ।

तपाईंको अभियानले पुस्तक विक्रेता र प्रकाशकहरुलाई असर परेको छैन ?

प्रकाशकहरुलाई हाम्रो अभियानले सजिलो भएको छ । देशका सबै कुनामा र झण्डै आधा विश्वमा छरिएका नेपालीहरुलाई विमोचन भएकै दिन पुस्तक पुर्‍याउने उहाँहरुको चाहाना पूरा भएको छ ।

हामी लेखकले हस्ताक्षर गरेको पुस्तक विमोचनको दिन नै पाठकसम्म पुर्‍याउने प्रयास गर्छौ । यसले लेखक र प्रकाशक धेरै नै खुसी हुनुहुन्छ । खासमा लेखक र प्रकाशकहरुको ठूलो प्रेरणा प्राप्त भएको छ । उहाँहरुको उत्साहकै कारण हामी जतिसक्दो छिटो पाठकसम्म पुगौं भन्ने योजना बनाइरहेका छौं ।

तर, पुस्तक विक्रेतालाई चाहिँ यो अभियानले असर पर्ने देखियो । कतिपय विक्रेता असन्तुष्ट छन् भन्ने पनि सुनिएको छ । के भन्नुहुन्छ ?

यो अभियानमा पुस्तक विक्रेतालाई पनि समेटिरहेका छौं । हामी आफैंले काठमाडौंको अफिसबाट पुस्तक पुर्‍याउनुभन्दा स्थानीय विक्रेतामार्फत पुर्‍याउन सजिलो हुन्छ । उहाँहरुलाई हामी ग्राहक दिन्छौं र प्रत्यक्ष सम्पर्क गराइदिन्छौं । यो उहाँहरुका लागि निकै राम्रो कुरा हो । त्यसैले उहाँको व्यवसायलाई सजिलो हुन्छ, असर पर्दैन ।
आजको अनलाइनको जमानामा परम्परागत व्यवसाय र सोचबाट माथि उठ्नु पनि यस्ता अभियानसँग जोडिनुको फाइदा हो ।

अनलाइनमार्फत पुस्तक ब्यापारसँगै अरु व्यवसाय सुरु गर्ने योजना छ कि ?

हामी हजारौं पाठकसम्म पुगिरहेका छौं । तर, उहाँहरुलाई अरु सामग्री बेच्ने कुनै योजना छैन । कारण यो होइन कि हामी उहाँहरुका अन्य आवश्यकताका सामाग्री बेच्न सक्तैनौं । कारण यति मात्रै हो, हामी अरु सामाग्री बेचेर पठन संस्कृतिका नाममा ब्यापार गर्न चाहन्नौं ।

रक्सी बेचेर लाखौं रुपैंया कमाउनुभन्दा पुस्तक बेचेर हजार बचाउनु उपयुक्त हो । मैले मेरा साथीहरुलाई पनि यो कुरा भनिसकेको छु । हामी पैसा कमाउनेतिर होइन, पठन संस्कृति बढाउने काममा लाग्दैछौं र यहाँ ठूलो पैसा कमाइ हुँदैन । यो कुरामा साथीहरु सहमत भएका कारण नै हामी लगनशील भएर यही काममा एकाग्र हुन सकेका हौं ।

एकोहोरो पठन संस्कृतिमै लाग्छु भन्नुका पछाडि कुनै कारण छ कि ?

मेरा बुवा ७५ बर्षको हुँदा म जन्मिएको हुँ । उहाँले दुई विवाह गर्नुभएको थियो । परिवारको म सबैभन्दा कान्छो हुँ । उहाँले राणाको चाकडी गरेर सर्लाहीमा सयौं विगाहा जमिन प्राप्त गर्नुभएको थियो । उहाँ ८९ वर्षको उमेरमा बित्नुभयो । त्योबेला मेरो उमेर १४ वर्षको थियो । त्यति बेलासम्म मेरो बुवालाई मैले चिन्न सकेको थिइनँ । तर जसै ठूलो हुँदै गएँ, के थाहा पाएँ भने उहाँले सर्लाहीमा ५ वटा विद्यालयलाई आफूले बिर्ता पाएको जग्गा बाँडेर शिक्षामा योगदान पुर्‍याउनुभएको थियो । उसो त उहाँले विद्यालयलाई जति जग्गा दिनुभयो, त्योभन्दा बढी जग्गाजमिन गाउँ बसाउन र अन्य सेवाका लागि दान दिनुभएको थियो । आज विद्यालयलाई दिएको जग्गाका कारण उहाँको नाम अमर भएको छ ।

आज उहाँका सन्तानसँग धेरै सम्पती छैन । तर, बुवाका नामका कारण हामी समाजमा इज्जतिलो मानिस मानिन्छौं । उहाँले शिक्षाका लागि त्यति योगदान नगर्नुभएको भए हामी समाजका सामान्य मानिसका रुपमा रहन्थ्यौं । जीवनमा पैसा होइन, नाम महत्वपूर्ण कुरा हो भन्ने उहाँको सोचको प्रभाव मलाई परेको छ ।

आज धेरै मानिसको समय फेसबुक जस्तो अत्यन्तै सामान्य ठाउँमा समय खर्च भइरहेको छ । त्यो समय पुस्तकमा लगाउने हो भने मानिसको सोच्ने शैली नै फरक हुन्छ । यो मैले किन भनेको भने संसारका कुनै पनि ठूला मानिसले पुस्तक अध्ययन गरेर माथि जान्छन् र सामान्य मानिस सामान्य काममा समय बर्बाद गर्छन् ।

ठूलाठूला संस्थाले गरेको सर्वेक्षणले देखाएको नतिजा थाहा पाएर म पनि छक्क परेको छु । त्यो के भने हरेक महान मानिस र माथि पुगेको मानिसले नियमित पुस्तक पढ्दा रहेछन् । त्यसैले म मानिसका लागि विशेष खुराक जुटाउने काम गरिरहेको छु भनेर गौरब लाग्छ र भविष्यको पुस्ताले यसको महत्व बुझ्नेछ भन्ने लाग्छ । त्यसैले मैले यो अभियान सुरु गर्नुको मुख्य कारण नै त्यही हो ।

पठन संस्कृतिलाई विस्तार गर्ने थप योजना पनि छन् कि ?

जब काठमाडौंका ठूला ठूला घर र अफिसहरुमा पुस्तकको कमी देख्छु, मेरो मुटु निचोरिएर आउँछ । कम्तिमा एउटा कुनामा बजारमा आएका नयाँ पुस्तक देखिउन् । टेबलकोे एक छेऊमा नेपालका चर्चित लेखकको कृति राखिएको होस् । त्यस्तो दृश्य बिरलै देख्न पाइन्छ ।

सबैभन्दा चिन्ताजनक अवस्था नेपालका अस्पतालहरुमा छ । त्यत्रो अस्पतालमा सयौं कुरुवाहरु हुन्छन् । उनीहरु मध्ये केही त महिनौं दिनसम्म अस्पतालमा कुरुवा भएर बस्नुपर्छ । यस्ता वार्डहरुको कुनामा एउटा सानो लाइब्रेरी राखिदिने हो भने ती कुरुवाहरुले पुस्तक पढ्न पाउँथे ।

जर्मनीमा अस्पताल आएको बिरामीलाई औषधिसँगै दुई-चारवटा पुस्तक लगेर दिइन्छ । त्यसमध्ये बिरामीले एउटा पुस्तक छानेर पढ्ने चलन छ । नेपालमा अस्पताल खोल्नेहरुलाई यस्ता दृश्यले किन छोएन भनेर म छक्क पर्छु । त्यसैगरी कारागारहरुमा पनि पुस्तकको अभाव महसुस गरिरहेको छु । यी सबै काम हाम्रो संस्थाले गर्छ । यसका लागि हामी जति पनि दुःख गर्न तयार छौं ।

तपाईंहरुको चाटर्ड एकाउन्टको पढाइ अपूरो भयो, दुःख लागेको छैन ?

हामी दुबैजनाको अन्तिम वर्षको परीक्षा पास गर्न बाँकी छ । यो पढाइ दुई-चार वर्षमा पनि पूरा गर्न सकिन्छ । तर, दुई चार वर्षपछि म यो काम गर्छु भन्दा यो स्तरको सेवा गर्न सकिँदैन । किनभने, कुनै पनि क्षेत्र कसैका लागि पर्खेर बस्दैन । जब कुनै ठाउँमा आफ्नो आवश्यकता छ भन्ने तपाईंलाई लाग्छ, त्यो काम गरिहाल्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment