+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

सात वर्षभित्र कर्णालीमै १० लाख पर्यटक पुर्याइने

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक १७ गते १७:२३

१७ कात्तिक, जुम्ला ।  प्राकृतिक सुन्दरता, भौगोलिक विविधता तथा धार्मिक दृष्टिकोणले महत्वपूर्ण जुम्ला पर्यटनको आकर्षक गन्तव्य बनेको छ । कर्णाली प्रदेशकै नमूना पर्यटकीय गन्तव्यको रुपमा रारा, शे–फोक्सुण्डोपछि जुम्लालाई प्रवर्द्धन गर्न सङ्घीय सरकारले विशेष प्राथमिकता दिएको छ ।

जुम्लालाई देशकै महत्वपूर्ण पर्यटकीय गन्तव्यका रुपमा विकास गरी आगामी सात वर्षभित्र १० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले पर्यटकीय पूर्वाधार विकास गर्दै अबको पाँचदेखि सात वर्षभित्रमा कर्णालीमा १० लाख विदेशी पर्यटक पुर्याउने अठोट व्यक्त गरे ।

चन्दननाथ नगरपालिमा नवनिर्मित बोधिचैत्यको गत बुधबार उद्घाटन तथा प्राण प्रतिष्ठान कार्यक्रममा मन्त्री अधिकारीले कर्णाली प्रदेशलाई महत्वपूर्ण पर्यटकीय क्षेत्रका रुपमा विकास गरिने उल्लेख गरे । द हिमालयन पिस एशोसिएशनले निर्माण गरेको बोधिचैत्य पर्यटकको बसाई अवधि लम्ब्याउने नयाँ गन्तव्य बनेको छ ।

सरकार तथा स्थानीयको सहयोगमा करीब आठ करोडको लागतमा यो चैत्य बनाइएको हो । यहाँ आकर्षक पार्क, पाहुना घर, वनभोज स्थल आदि निर्माण गरिनेछ । मन्त्री अधिकारीले कर्णालीमा पर्यटकको चाप बढे पनि पूर्वाधार अभावलाई पूर्ति गर्न सरकारले कुनै कसूर बाँकी नराख्ने भन्दै यसमा निजी क्षेत्र र स्थानीय समुदायले सक्रियताको खाँचो औँल्याए ।

उहाँले भन्नुभयो, “पहिले मुस्ताङमा पनि पर्यटक आउँदा बस्ने ठाउँ हुँदैनथ्यो । अहिले कर्णालीमा त्यस्तै समस्या आएको छ । यसलाई हटाउनुपर्छ, अबको सात वर्षपछि कर्णालीमा आउने पर्यटक १० लाख हुन्छन् । हिमालको काखमा यस्तो भर्जिन, स्वर्गीय आनन्द कहीँ पनि छैन ।”

पहिले मुस्ताङलाई पनि पत्याउने अवस्था नभएको भन्दै मन्त्री अधिकारीले केही वर्षमै कर्णालीको अवस्था पनि मुस्ताङ जस्तै हुने बताए । चैत्यलाई कर्णाली र जुम्लाको महत्वपूर्ण पर्यटकीय क्षेत्रको रूपमा विकास गर्नुपर्ने उल्लेख गर्दै उनले कम्तीमा तीनदिन पर्यटक जुम्ला बस्ने गरी पर्यटकीय क्षेत्रको विकास गर्नुपर्ने धारणा राखे ।

जुम्ला उपत्यका, सिङ्जा, गोठीचौरलाई सर्किटका रुपमा जोड्न सकेमा जुम्लामा अधिक पर्यटक आकर्षण गर्न सकिने सम्भावना छ । पर्यटन प्रवद्र्धनलाई मध्यनजर गर्दै सरकारले कर्णाली सडकखण्डको स्तरोन्नतिलाई प्राथमिकता दिएको उल्लेख गर्दै मन्त्री अधिकारीले सङ्घ, प्रदेश र स्थानीय सरकार मिलेर पर्यटन प्रवद्र्धनको संयुक्त अभियान चलाइनुपर्नेमा जोड दिए ।

उनले पर्यटकीय सम्भावनालाई दृष्टिगत गरी सरकारले जुम्ला विमानस्थलको स्तरोन्नति गरी ठूला विमान लैजानका लागि अध्ययन गरिरहेको र यसमा राजनीतिक दल तथा स्थानीयको साथ चाहिने बताए ।

पूर्वराज्यमन्त्री बलबहादुर महतले बोधिचैत्यलाई कर्णाली प्रदेशकै धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास गर्नुपर्ने धारणा राखे । जुम्लाको पाताराशी, काञ्जीरोवा, सुर्खेतको काक्रेविहार, रारा, चन्दननाथ आदि धार्मिक क्षेत्रलाई समेटेर पर्यटकीय सर्किट घोषणा गरिनुपर्नेमा उनको जोड थियो ।

मुगुका सांसद गोपाल बमले बोधिचैत्यले कर्णालीको धार्मिक तथा पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने बताउनुभयो । प्राकृतिक तथा परापूर्वकालदेखिको धार्मिक दृष्टिकोणले महत्वपूर्ण जुम्लामा चन्दननाथ र भैरवनाथको मन्दिर हिन्दू धर्मावलम्बीको आकर्षण बनेको छ भने चैत्य बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्र हो । स्याउ, सिमी, मार्सी धान आदि उत्पादनले जुम्लालाई चिर परिचित तुल्याएको छ ।

कर्णाली प्रदेशका १० वटा जिल्ला पर्यटकीय आकर्षण छन् । नेपालगञ्जबाट जुम्ला हुँदै रारा पुगिन्छ भने हुम्लाबाट मानसरोवर जाने भारतीय पर्यटक बढी पुग्छन् । जुम्लालाई सिङ्जा राज्यदेखि ऐतिहासिक थलो सबैको पुर्खेली मातृभूमि पनि भनिन्छ ।

चन्दननाथ नगरपालिकाका प्रमुख कान्तिका सेजुवालले जुम्लालाई पर्यटकीय केन्द्र बनाउने योजनाअनुरुप गुरुयोजना तयार गरेको जानकारी दिँदै विमानस्थल र सडकको स्तरोन्नतिलाई सरकारको ध्यानाकर्षण गराए ।

नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक हिक्मतसिंह ऐरले जुम्लाको बोधिचैत्य धार्मिक पर्यटनको नयाँ ‘प्रडक्ट’ लाई जुम्लादेखि हुम्ला हुँदै रारासम्म जोड्न सके कर्णाली प्रदेशको पर्यटनले नयाँ फड्को मार्ने सम्भावनालाई बोर्डले विशेष प्रवद्र्धन गर्ने उल्लेख गरे ।

केही महीनाअघि कर्णाली प्रदेश सरकारले २०७५ लाई कर्णाली पर्यटन वर्ष घोषणा गरेको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले रारामा उद्घाटन गर्नुभएको यो अभियानपछि त्यहाँ पर्यटक उल्लेख्य सङ्ख्यामा पुगेका छन् । निजी क्षेत्रले होटल तथा होमस्टे विस्तार थालेका छन् ।

रारा राष्ट्रिय निकुञ्जका अनुसार असोज महीनामा मात्र करीब पाँच हजार आन्तरिक पर्यटक रारा घुम्न आएका छन् । रारा पर्यटन विकास समितिले रारामा पर्यटक बढे पनि पर्यटकीय पूर्वाधार नहुँदा समस्या पुग्ने गरेको छ । अहिले रारा अवलोकन गर्ने मौसम उपयुक्त दैनिक २०० भन्दा बढी आन्तरिक पर्यटक रारा घुम्न जाने गरेका छन् । रारा पुग्ने विदेशी पर्यटकको सङ्ख्या पनि बाक्लै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?