Comments Add Comment

राजनीतिमा मात्रै संघीयता आएको छः मन्त्री शाह

१८ कात्तिक, डोटी । सुदूरपश्चिम प्रदेशमा आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाश बहादुर शाहले राजनीतिक क्षेत्रमा मात्रै संघीयता आएको बताएका छन् ।

मन्त्रालयले आइतवार डोटीमा आयोजना गरेको द्वन्द्व ब्यवस्थापन तथा न्यूनीकरण सम्बन्धी गोष्ठीमा बोल्दै मन्त्री शाहले सो कुरा बताएका हुन् । ‘देशका बिभिन्न कालखण्डमा भएका राजनीतिक द्वन्द्वहरुले देशमा ठूलो राजनीतिक परिवर्तन भइ संघीय शासन व्यवस्था आएको छ’ मन्त्री शाहले भने, ‘तर प्रशासनमा, बित्तीय क्षेत्रमा, कानुनी क्षेत्रमा संघीयता आउन बाँकी नै छ ।’

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका लागि नयाँ व्यवस्था भएको हुँदा नयाँ व्यवस्थामा हिड्दा केही समस्याहरु हुने गरेको बताए ।

संघीयता व्यवस्थालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न सबैको भूमिका महत्वपूर्ण रहेको बताउँदै उनले भने, ‘प्रदेश सरकारले आवश्यक सबै कानून छिट्टै निर्माण गर्न प्रयास गरिरहेको छ ।’

स्थानीय तह, प्रदेश र केन्द्रबाट प्रदान गर्ने सेवा सुविधाले जनतालाई सरकारको अनुभूति गराएको छ ।
देशमा शान्ति, अमन चैन र विकासको अनुभुति श्रृजना गर्न संघीयता कार्यान्वयनमा हामीले खलनायक नभइ नायकको भूमिका निर्बाह गर्नु पर्ने मन्त्री शाहको भनाइ छ ।

कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधिहरुले संघ, प्रदेश र स्थानीय तहबीच द्वन्द्व बढ्ने खतरा रहेको उल्लेख गर्दै प्रदेश सरकारले कानुन निर्माण गर्दा बिचार पुर्‍याउनु पर्ने वताएका थिए ।

‘प्रदेशले कानुनहरु नवनाएकाले हामीले अहिलेसम्म कानुन वनाउन सकेका छैनौं,’ दिपायल सिलगढी नगरपालिका प्रमुख मञ्जु मलासीले भनिन्, ‘प्रदेशको कानुन नआई हामीले कानून बनायौं भने फेरि बाँझ्न सक्द र बिवाद हुन्छ भन्ने सोचेर हामीले कानून वनाएका छैनौं ।’

प्रदेश सरकारले छिटो कानून ल्याउनु पर्ने जनप्रतिनिधिहरुको माग छ ।

परिवर्तित र रुपान्तरित समाजको लागि द्वन्द्व आवश्यक रहेको डोटीका निमिक्त प्रमुख जिल्ला अधिकारी टेक नारायण पौडेलले बताए । उनले भने, ‘दुई पक्ष, दुई समूह, दुई विचारबीच द्वन्द्व हुन आवश्यक छ तर त्यो द्वन्द्वको परिणाम सकारात्मक हुनु पर्छ ।’

कार्यक्रममा प्रदेश सभा सदस्य अर्चना गहतराज र पूर्व संबिधान सभा सदस्य गौरी वली लगायतले द्वन्द्व व्यवस्थापनका लागि सवैले समयमै पहल गर्नु पर्ने बिचार व्यक्त गरेका छन् ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयका उपसचिव निलम कुमार न्यौपानेले सेवाग्राही र सेवा प्रदायकबीचमा हुने द्वन्द्व व्यवस्थापन गर्न सहयोग पुर्‍याउने उद्देश्यका साथ यो कार्यक्रम आयोजना गरिएको जानकारी दिए ।

कार्यालय थपियो

डोटीमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयको स्थापना भएको छ ।

संघीय खाद्य प्रबिधि तथा गुण नियन्त्रण विभागको मातहतमा रहने गरी स्थापना भएको सो कार्यालयको आइतवार आन्तरिक मामिला तथा कानून मन्त्री शाहले साइनबोर्ड अनावरण गर्दै स्थापना भएको जानकारी गराएका हुन ।

कार्यालयले डोटी, अछाम र बाजुरा गरी तीन जिल्ला हेर्ने कार्यालयका निमित्त प्रमुख नारायण सिंह रावतले जानकारी दिए ।

कार्यालय साविकको जिल्ला कृषि विकास कार्यालयको भवनमा स्थापना भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment