Comments Add Comment

सपनामा डार्बिनलाई प्रश्न ! नेपाली नेता किन यस्ता ?

म बेलायतको केन्ट शहर कसरी पुगें, होस भएन । तर, त्यहाँ पुगेर मैले जे देखें, त्यसले मेरो होश भने पक्कै उडायो ।

हरियो जंगलको माझमा एउटा सुन्दर घर । घरको वरिपरि थरीथरीका जनावर र चराचुरुङ्गी । सबै आफ्नै धुनमा मग्न । अलि पर खहरे बगिरहेको । बडा मनोरम दृश्य थियो ।

मैले विस्तारै त्यो सुन्दर घरको ढोकामा पुगें र ढक्ढकाएँ । घरबाट दाह्री पालेका करीब ६० बर्षे पुरुष निस्किए । उनले मलाई हेरेर भने ‘म चाल्र्स डार्बिन । तपाईं को नि ? मैले भनें, ‘म एउटा दृष्टि बिराएको यात्री हुँ । नेपालबाट आएको ।

तपाईं त्यही डार्विन हो ? महान जीव वैज्ञानिक ? उनले भने, महान त थाहा भएन, तर जीव विज्ञान मेरो पेशा भने पक्कै हो । तपाईं नेपालबाट आउनु भएको रहेछ, बडा सुन्दर देश छ है ? मैले भनें, सुन्दर त छ, तर नेताहरुले खत्तम पारे । उनी मुस्कुराए र मलाई घरभित्र आउन आग्रह गरे ।

भित्र पुगेपछि तातो चिया बनाए । र, हामी एउटा कुनामा बसेर गफिन थाल्यौं ।

म- तपाईंलाई जीव विज्ञान बाहेक अरु बिषयको ज्ञान छ ?

डार्बिन- मलाई जीव विज्ञान मात्र आउँछ । तपाईंलाई नि ?

म- पेशाले त म विज्ञापनकर्मी हुँ । तर, मलाई विज्ञापनभन्दा राजनीति धेरै आउँछ । हाम्रो देशमा राजनीति सबैलाई आउँछ । आफ्नो पेशाभन्दा कयौं गुणा बढी । जीव विज्ञान त मलाई आउँदैन । त्यसैले बातचित अघि बढाउन राजनीतिकै गफ गरौं न त । नेपाली नेताहरुको ।

डार्विन- खबरहरुबाट बेखबर छु भनेर त भन्दिनँ । तर, पनि मलाई राजनीति आउँदैन । त्यसमाथि नेपाली राजनीति ? बुझी नसक्नु छ ।

म- यसो गरौं न त । तपाईंको कालजयी सिद्धान्तको प्रयोग नेपाली राजनीतिमा गरांै । के तपाईंको ‘इभोलुसनरी थ्यौरी’ राजनीतिमा लागु हुन सक्छ ?

डार्विन- अवश्य हुन सक्छ । मेरो सिद्धान्त सबै जैवीक प्रणालीहरुमा लागु हुन्छ । तर, तपाईंले सर्वप्रथम त ‘इभोलुसन’ को सिद्धान्त बुझ्नुपर्ने हुन्छ ।

म- बुझाउनुस् न त ।

डार्बिन- म संक्षिप्त र सरलीकृत रुपमा बताउँछु । तपाईंले बहुचर्चित बाक्यांश ‘सर्भाइभल अफ द फिटेस्ट’ सुन्नुभएकै होला । प्रकृतिमा जीवहरु निरन्तर संघर्षरत हुन्छन्, आफ्नो अस्तित्व निरन्तर कायम राख्न । यो संघर्ष केवल आफू बाँच्नका लागि मात्र हुँदैन, आफ्नो बंश (बंशाणु ) फैलाउन पनि हुन्छ । यो संघर्ष एउटै प्रजातिका सदस्यहरुवीच मात्र होइन, प्रजाति प्रजातिवीच पनि हुन्छ । यो संघर्षमा त्यही जीव बाँच्दछन् र आˆनो बंश फैलाउँछन्, जो त्यस वातावरणमा बाँच्न सबै भन्दा ‘फिट’ हुन्छन् । ‘सर्भाइभल अफ द फिटेस्ट्’ यसैलाई भनिएको हो । यद्यपि, यसका बारेमा जनमानसमा रहेको भ्रम तोड्न चाहन्छु ।

सर्वप्रथम त यो बाक्यांशको रचनाकार म होइन, हर्बर्ट-पेन्सर नामक अर्थशास्त्री हुन् । मैले पछि सापटी लिएको हुँ । दोस्रो, ‘सर्भाइभल अफ द फिटेस्ट’ को अर्थ सबैभन्दा बलियो बाँच्ने भनेको होइन । बाघ जति सुकै बलियो जनावर भए पनि नर्थ पोलमा बाँच्न सक्दैन । तर, बाघभन्दा धेरै कमजोर आर्टिक ˆयाउरो चाँही बाँच्छ । बाघ यस कारण बाच्दैन, किनकि नर्थ पोलको जलवायु बाघको अस्तित्वका लागि उपयुक्त हुँदैन । त्यो वातावरणमा बाँच्न बाघ ‘फिट’ हुँदैन ।

म- कुनै वातावरण विशेषमा ‘फिट’ राख्ने शारीरिक र मानसिक गुणहरु कसरी जीवमा विकसित हुँदै जान्छन् ?

डार्विन- यसका दुई प्रकृया छन् । ‘रेन्डम भेरिएसन’ र ‘नेचुरल सेलेक्सन’ । छोराछोरीहरु ठ्याकै आफ्ना आमाबुवा जस्ता हुँदैनन् । न शारीरिक, न मानसिक रुपमा । यो आमाबुवाको बंशाणुहरु सन्ततिमा पुस्तान्तरण हुने क्रममा हुने रेन्डम भेरिएसन (उत्परिवर्तन) का कारणले गर्दा हो ।

म- अनि नेचुरल सेलेक्सन भनेको नि ?

डार्विन- रेन्डम भेरिएसनको परिणामस्वरुप, कुनै पनि प्रजातिको जनसंख्याभित्र हरेक बंशाणुको विविध प्रकार भेटिन्छन् । त्यसमध्ये जुन प्रकारको बंशाणु, त्यस बातावरणमा जीवको अस्तित्वका लागि उपयुक्त (फिट) हुन्छ, त्यो बंशाणुलाई प्रकृति, अथवा भनौं, वातावरणले छनौट गर्दछ । त्यसलाई नेचुरल सेलेक्सन भनिन्छ ।

म- उदाहरण दिनुस् न ।

डार्विन- गलापगस द्वीपसमूहमा मैले गरेको अध्ययनको निष्कर्ष अनुसार त्यहाँ कुनै टापुमा आहार भुइँमा भेटिँदैन । त्यसैले त्यस टापुमा त्यस्ता कछुवाहरु मात्र भेटिन्छन्, जसको बाहिरी आवरण अघिल्तिरबाट उठेको हुन्छ । यसले गर्दा उनीहरु आफ्नो घाँटी र खुट्टामाथि तन्काउन सक्छन् र बोटबिरुवामा झुन्डिएका आहारको सेवन गर्न सक्छन् । खुट्टा र घाँटी माथि तन्काउन नसक्ने कछुवाहरुको बंश नाश भयो, आहार नपाएर ।

त्यस टापुको विशेष बातावरणले घाँटी तन्काउन सक्ने कछुवालाई ‘सेलेक्ट’ गर्‍यो भने घाँटी तन्काउन नसक्ने कछुवालाई ‘रिजेक्ट’ गर्‍यो । तर, गलापगसकै अन्य टापुमा पाइने कछुवाको घाँटी सानो हुन्छ । किनकि, त्यहाँ आहार बोट बिरुवामा झुन्डिने होइन कि भुइँमा नै पाइन्छ । स्वाभाविक रुपमा त्यस टापुमा शरीरको अघिल्तिरको भाग उठेको कछुवा भेटिँदैनन्, किनकि त्यस्ता कछुवा त्यहाँ बाँच्न सक्दैनन् ।

म- के तपाईंको सिद्धान्त शारीरिक विशेषतामा मात्र लागु हुन्छ कि मानसिक विशेषतामा पनि ?

डार्विन- दुबैमा लागु हुन्छ ।

म- ठीक छ । तपाईंले अघि भन्नु भो, तपाईंको सिद्धान्त सबै जैबिक प्रणालीमा लागु हुन सक्छ । हाम्रा नेताहरुका यस्ता चरित्र कसरी ‘सेलेक्ट’ भयो त ? यसको एभोलुसनरी व्याख्या के छ ?

डार्विन- कस्ता चरित्र ?

म- देश विकास गर्छु भनेर गफमात्र दिने तर देश बिकास नगर्ने । आˆनो र आफन्तका बारेमा मात्र सोच्ने । रुपान्तरणमा होइन, लेनदेनमा विश्वास राख्ने । भ्रष्टाचार गर्ने । झूठो आश्वाशन दिने आदि ।

डार्विन- हामी जब राजनीतिको कुरा गर्छौं भने प्राकृतिक वातावरणको होइन, सामाजिक मनोबैज्ञानिक वातावरणको कुरा गरिरहेका हुन्छौं । यदि प्राकृतिक बातावरणले जीवमा छनौट गर्ने इकाइ बंशाणु हो भने, सामाजिक मनोबैज्ञानिक वातावरणले नेताहरुमा छनौट गर्ने इकाइ भनेको चरित्र (क्यारेक्टर ) हो ।

बंशाणु जस्तै, नेताको कुनै खास चरित्र कुनै खास वातावरणमा बाँच्न उपयुक्त हुन्छ । जसरी कुनै एक बंशाणुको विविध प्रकार पाइन्छन, त्यसरी नै नेताको मानसिक चरित्रको बिभिन्न भेरिएसन हुन्छ । समाजका सबै नेता भ्रष्ट वा सबै इमान्दार हुँदैनन् । कुनै नेता भ्रष्ट चरित्रका हुन्छन् भने अर्काथरी नेता इमान्दार चरित्रका हुन्छन् । कुनै नेता आत्म केन्द्रित हुन्छन् भने अर्का थरी नेता राष्ट्र केन्ऽित हुन्छन् । कुनै लघु दृष्टि वाला हुन्छन् भने कुनै दुर दृष्टि वाला पनि हुन्छन् । तर यीमध्ये कुन-कुन चरित्रको छनौट हुन्छ, त्यो वातावरणले निर्धारण गर्छ ।

म- यो वातावरणमा के के पर्छ ?

डार्विन- सामाजिक, आर्थिक, भूराजनैतिक अवस्था र मतदाताको मानसिकता । पहिलो, समाज आत्म केन्द्रित छ भने नेता पनि त्यस्तै छनौट गर्छ । तपाईंका ‘अव्यक्त’ चाहना यदि मै खाउँ, मै लाउँ, मेरो छोराछोरी, मेरो परिवार, मेरो सुख सुविधा, मेरो, मेरो, मेरो, भन्नेखालको छ भने नेता पनि त्यस्तै छनोट गर्नुहुन्छ, जसले तपाईंका निजीस्वार्थ पूरा गरी दिने आश्वासन दिन्छ । दोस्रो, जुन देशमा गरीबी बढी हुन्छ/छ, त्यहाँ भ्रष्टाचार पनि बढी नै हुन्छ । तेस्रो, भूराजनैतिक अवस्था जस्तो भए पनि तपाईं चाहनुहुन्छ कि नेता छिमेकीसँग दिनदिनै कुस्ति नै खेली राखुन् ।

वा सधैं पाउँ परी राखुन् । यस्तो वातावरणमा त्यस्ता नेता मात्र बाँच्न सक्छन् जस्ता अहिले छन् । भिन्न चरित्र भएका नेता बाँच्नै सक्दैनन् ।

चौथो, तपाईंका अव्यक्त स्वार्थ एउटा छ भने व्यक्त बिचार चाँही अर्कै छ । अव्यक्त स्वार्थ नितान्त आत्म केन्द्रित छ भने ब्यक्त बिचार चाँही राष्ट्र केन्द्रित हुन्छ । नेताले देश बिकास नै गरेन भन्दै बिचार ब्यक्त गर्दै हिँड्नु हुन्छ । यस्तो वातावरणमा त्यस्ता नेता छनौट हुन्छन्, जसले तपाईंका निजीस्वार्थ र सार्वजनिक बिचार दुबै पुरा गर्ने आश्वासन प्रदान गरोस् ।

कुनै इमानदार र सुझबुझ भएको नेताले त यस्तो आश्वासन दिँदैन । त्यसैले त्यस्तो नेताको छनौट हुँदैन । गल्तीले छनौट भैहाले पनि आफूजस्ता वा आफू भन्दा राम्रा नेताहरु पैदा गर्न (बंशाणु फैलाउन ) नपाउँदै मासिएर जान्छन् । ठीक त्यसरी जसरी छोटो घाँटी भएका कछुवाको प्रजाति गलापगसको एउटा टापुमा मासिएर गए ।

म- त्यसोभए कुनै आशा छैन त ?

डार्विन- अवश्य छ । हेर्नुस्, आज हामी आफूलाई सभ्य मानिस मान्दछौ । तर, हामी त्यही असभ्य बाँदरका पुस्ता हौं,जो अहिले पनि जंगलमा एउटा रुखबाट अर्को रुखमा हाम्फालिरहेका भेटिन्छन् । हामी आकाशबाट झरेका नितान्त नौलो जीव होइनौं । संयोगले एक जमात बाँदरहरुको भौगोलिक वा वनस्पतीय वातावरण बदलियो । परिवर्तित् वातावरणमा उनीहरु बाँदर नै रहेर बाँच्न सकेनन् । उनीहरु रेन्डम भेरिएसन र नेचुरल सेलेक्सनको माध्यमबाट विस्तारै हालको मानव प्रजाति (होमो सेपिअन्स ) मा परिणत भए । भोलिका जुन ‘राम्रा’ नेता आउनेछन्, ती आकाशबाट झरेका नौला जीव हुने छैनन् । आजकै कथित खराब नेताहरुको चरित्र पुष्तान्तरण हुने क्रममा हुने उत्परिवर्तन (रेन्डम भेरिएसन) का परिणामवाहक मात्र हुनेछन् । उनीहरुको बंशाणु र आजका नेताको बंशाणुमा तात्विक भिन्नता हुने छैन ।

याद राख्नुस्, आज जसलाई तपाईं नराम्रा नेता भन्नुहुन्छ, उनीहरुमा राम्रा चरित्र पनि छन् । तर, उनीहरु जुन वातावरणमा बास गर्छन्, त्यहाँ उनीहरुका राम्रा चरित्र होइन, नराम्रा चरित्र छनौट हुन्छन् । उनीहरुले पनि त्यही चरित्र प्रदर्शन गर्छन्, जुन दिन वातावरण परिवर्तन हुनेछ, त्यस दिन उनीहरुका राम्रा चरित्र अभिब्यक्त हुनेछन् । यदि उनीहरुमा राम्रो चरित्र छँदै छैन भने उनीहरु मासिने छन् र नयाँ नेता आउनेछन् । तर, वातावरण नबदलेसम्म नयाँ नेता आए पनि केही हुने छैन । चित्रबहादुर केसीलाई तपाईंहरु राम्रो नेता मान्नुहुन्छ, तर आफू जस्ता अरु नेताहरु वहाँले किन पैदा गर्न सक्नुभएन ? कहिले सोच्नुभएको छ ?

म- त्यसो भए आश अझै नमारे हुन्छ होइन त ?

डार्विन- इभोेलुसन भनेको धीमा गतिमा चल्ने प्रकृया हो । जीवको करोडौं बर्ष लामो इतिहासमा एकपटक मात्र इभोलुसनले आˆनो गति छाडेको प्रमाण छ । ‘केम्बि्रयन युग’ को दौरानमा । हेर्नुस् , बाँदरबाट मान्छे हुन हामीलाई ८० लाख बर्ष लाग्यो । मानिसको चरित्र बदलिन त्यति समय त लाग्दैन, तर समयचाँहि पक्कै लाग्छ । रातारात राजनैतिक प्रणाली बदलिन सक्छ । तर, देशको सामाजिक आर्थिक अवस्था र समाजको चरित्र बदलिन सक्दैन । राजनैतिक प्रणाली रिभोलुसनले बदलिन्छ, नेत्रित्व इभोलुसनले बदलिन्छ ।

आफ्नो अभ्युदयदेखि लिएर अहिलेको स्वरुपमा आइपुग्न लोकतन्त्रलाई करिब २५०० बर्ष लाग्यो । औद्योगिक क्रान्ति हुँदा मेरो देशमा भ्रष्टाचार व्याप्त थियो । आज कम भइसकेको छ । तपाईं भन्नु होला, ‘त्यो त दुई सय वर्षअघिको कुरा हो । एक्काइसौं सताप्दीमा पनि भ्रष्टाचार ?

सुशाशनको कमी ? कमजोर नेतृत्व ? यस्तो पनि हुन्छ ? कुरा के हो भने, नेपाल र बेलायत क्यालेन्डरका हिसाबले मात्र समकालीन हुन् । तर, बिकासको इभोलुसनको हिसाबले एउटै कालखण्डी होइनन् । एउटा ३६ बर्षको मानिस र ५ बर्षको बालक दुबै समकालीन भए पनि सहकर्मी हुन सक्दैनन् ।

५ बर्षको बालक पूर्णरुपले विकशित हुँदैन, जब कि ३६ बर्षको मानिस हुन्छ । ५ बर्षको बालकले ३५ बर्षे युवकजस्तो काम किन गर्न सक्दैन ? भनेर प्रश्न गर्न मिल्दैन । यी दुईवीच शारीरिक वा मानसिक क्षमताको तुलना गर्नु अन्याय हुन्छ । किनकि यी दुईले आफ्नो बिकासको यात्रा इतिहासको अलग-अलग बिन्दुबाट शुरु गरेका हुन्छन् ।

बेलायत र नेपालले आफ्नो विकासको शुरुवात इतिहासको अलग-अलग बिन्दुबाट गरेका हुन् । त्यसैले नेपालले बेलायत जति बिकास किन गरेन ? भनेर प्रश्न गर्नु न्यायपूर्ण हुँदैन । भारत र चीनको बिकासको इतिहास त झन हजारौं बर्ष पुरानो छ । नेपालका नेता, बेलायत वा अमेरिकाका जस्ता किन हुँदैनन् भनेर प्रश्न गर्नु पनि न्यायपूर्ण हुँदैन । राजनैतिक चरित्रको इभोलुसनमा यी दुईथरी नेता अलग- अलग कालखण्डमा उभिएका छन् ।

यति भनेपछि उनी मुस्कुराए त मलाई पीठमा थप्थपाउँदै भने- हेर्नुस्, आजको गरीब मुलुक भोलि माथि उठ्न सक्छ । तर, आजको निराश मुलुक भोलि माथि उठ्न सक्दैन । त्यसैले आफ्नो निजी आकांक्षालाई मारेर भए पनि आशालाई जीवित नै राख्नुस् ।

उनले यति भनेपछि मेरो निद्रा खुल्यो । सपनाको यथार्थबाट विपनाको भ्रममा आइपुगें ।

नेपालका नेता एक दिन अवश्य बदलिने छन् । यही मीठो सपना बोकेर म चिया पिउन थालेँ । तर, डार्विनले पिलाएको चिया मैले बनाएको चियाभन्दा मीठो थियो । सत्य, भ्रमभन्दा मीठो हुन्छ । शायद त्यसकारणले हुन सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment