Comments Add Comment

क्रिकेट संघले भन्यो-मन्त्रीको हेलिकप्टर सहमतिमै अवतरण भएको हो, पिच भत्केको छैन

१९ कात्तिक, काठमाडौं । जिल्ला क्रिकेट संघ बारा र कलैया क्रिकेट संघले आफूहरुसँगको पूर्वसहमति अनुसारनै गत शनिबार उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको हेलिकोप्टर खेल मैदान नजिक अवतरण गरिएको बताएको छ । त्यसबाट कुनै क्षति नभएको पनि दुबै क्रिकेट संघले प्रष्ट पारेका छन् ।

मन्त्री पोखरेल सवार नेपाली सेनाको हेलिकोप्टर ल्याण्ड गर्दा क्रिकेट मैदानको पिच भत्किएको र खेलहरु रद्द भएको समाचार आएपछि आयोजकले प्रष्टिकरण दिएका हुन् । कलैया क्रिकेट क्लबका अध्यक्ष तसिरुद्दिन मिया मन्सुर र जिल्ला क्रिकेट संघका कोषाध्यक्ष सुभाष जैसवालले सोमवार संयुक्त विज्ञप्ति जारी गरी गलत हल्ला चलाइएको दावी गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ ‘मैदानमा रहेको क्रिकेट मिचको ३० यार्ड दूरीभन्दा बाहिर पर्ने गरी हेलिकप्टर ल्याण्ड भएको र पिचमा यसबाट कुनै पनि क्षति नपुगेको स्पष्ट पार्न चाहान्छौं । यस विषयमा आवश्यक जानकारी तथा अवलोकन खेलस्थलमा प्रत्यक्ष आएर लिन सकिनेछ ।’

जिल्ला प्रशासन कार्यालयले आयोजकलाई अगि्रम जानकारी गराई शनिबार साढे ११ देखि साढे ३ बजेसम्म मैदान प्रयोग गर्न मागेको र सोही सहमति अनुसार खेल तालिका संशोधन गरिएको समेत विज्ञप्तिमा जनाइएको छ । शनिबार रोकिएका नियमित खेल आइतबार सोही मैदानमा भइसकेको आयोजकले जनाएका छन् ।

किन गएका थिए पोखरेल ?

रक्षामन्त्री पोखरेल नेपाली सेनाको ‘प्रतिविद्रोह तथा जंगल वारफेयर शिक्षालय’ बारा (अमलेखगंज) मा निरीक्षणका शनिबार बारा पुगेका थिए । हाल त्यहाँ नेपाली सेनालगायत चीन, दक्षिण कोरिया, म्यान्मार तथा पाकिस्तानका सैनिक अधिकृतहरू तालिम लिइरहेका छन् ।

निरीक्षणपछि बारा सदरमुकाम कलैयामा जिल्ला प्रशासन कार्यालयमा सुरक्षा निकाय तथा विभिन्न सरकारी कार्यालयका प्रमुखहरूसँग जानकारी लिने तथा निर्देशन दिने काम भएको उनको सचिवालयले जनाएको छ ।

सोही दिन नेकपा सचिवालय सदस्यसमेत रहेका पोखरेलले पार्टी कार्यालय भवन उद्घाटन तथा कार्यकर्ता भेलालाई सम्बोधन गरेका थिए ।

मन्त्री पोखरेलको कार्यक्रमबारे पूर्व जानकारी अनुसारनै जिल्ला प्रशासनले क्रिकेट मैदानमा हेलिकप्टर अवतरण गराउन आयोजकसँग सहमति गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment