Comments Add Comment

पद्मरत्न जातिवादी हैन, मानवतावादी !

पद्मरत्न तुलाधरलाई मैले ०४६ को जनआन्दोलनदेखि चिनेको हुँ । यद्यपि उहाँका विषयमा पहिलादेखि नै सुनेको थिएँ । ०४३ सालको आम चुनावमा जनपक्षीय उम्मेदवारका रुपमा उहाँले गरेको भाषण क्यासेटमा भूमिगत शैलीमा सुनेको थिएँ । उहाँलाई मैले एकजना रोलमोडल नेताका रुपमा र अविभावकका रुपमा मान्छु ।

म राजनीतिक क्षेत्रमा बढी सक्रिय मान्छे भए पनि उहाँको प्रेरणाले मानवअधिकार र सामाजिक न्यायको आन्दोलनमा सक्रिय भएर उहाँकै सल्लाहमा राजनीति र मानवअधिकार आन्दोलन सँगसँगै लैजाने निश्कर्षमा पुगेको हुँ ।

मैले चिनेको र जीवनका झण्डै तीन दशक उहाँसँगको सहकार्यमा बिताएको अनुभवका आधारमा उहाँमा सामाजिक आन्दोलनलाई राजनीतिकरण गर्न सक्ने, सांगठनिक क्षमता र कार्यकुशलता, परिवर्तनको भोक जगाउन सक्ने, सरल व्यवहार र शालीन व्यक्तित्व हुनुहुन्थ्यो ।

उहाँ बहुआयामिक, सृजनशील, बौद्धिक र कहिल्यै नथाक्ने योद्धा हुनुहुन्थ्यो । भोलि के हुन्छ भन्ने कुरा आज देख्न सक्ने दुरदर्शिताका साथै हरेक अन्तरविरोधका बीचमा विश्वासको वातावरण बनाउन सक्ने क्षमता उहाँमा थियो ।

यसैले उहाँ शान्ति प्रक्रियाको प्रमुख सहजकर्ता र नेपालका हरेकखाले बहिस्करणमा पारिएका समुदायको हुलाकी बन्न सफल हुनुभयो । यसका अलावा उहाँ विवेकलाई बन्धक नराख्ने, स्वाभिमानलाई सौदाबाजी नगर्ने र आस्थामाथि सम्झौता नगर्ने नेता मात्रै नभई सरल, निडर, आस्थाको धरोहर र परिवर्तनको वाहक अनि सधैं हिंसाविरोधी परिपक्व बटुवा र मानवअधिकार र सामाजिक न्यायको आन्दोलनका भीष्मपितामह एवं स्वतन्त्रताको सेनानी हुनुहुन्थ्यो ।

दलितलाई सम्झेर रुने नेता

पद्मरत्न नेपाली दलित मुक्ति आन्दोलनको एकजना अविभावक, भरोसायोग्य नेता र एकजना असल अभियन्ता हुनुहुन्थ्यो । उहाँले नेतृत्व गरेको मासमलाई दलितहरुमाथि देशव्यापीरूपमा भएका थुप्रै ज्यादती र विभेदविरुद्ध तत्कालीन दलित मुक्ति समाजले अभियानहरु आयोजना गरेको थियो ।

जस्तै- मन्दिर प्रवेश आन्दोलन, काभ्रेको पानी उगाउ आन्दोलन, नवलपरासीको दूध भराउ आन्दोलन, स्याङजाको उदियाचौर दुग्ध काण्ड, सिन्धुपाल्चोकको कुवापानी उघाउ सङ्घर्ष, काभ्रको कटुञ्जे पँधेरो पानी उघाउ सङ्घर्ष, गैँडाकोट दूध भराउ सङ्घर्ष र सिंहदरबार घेराउ सङ्घर्ष लगायतमा उहाँको अतुलनीय योगदान रहेको थियो ।

उहाँसँग मेरा पटक-पटकका सम्झन लायक घटना छन् ।

एकपटक नेपाल आदिवासी जनजाति महासंघले काठमाडौं बसन्तपुरमा ०५० तिर आमसभाको कार्यक्रम राखेको थियो । आमसभामा ऐक्यवद्धताका लागि दलित मुक्ति समाजको प्रतिनिधिका हैसियतले म वक्ताका रुपमा गएको थिएँ । सो सभाको बक्तामा पद्मरत्न दाइ पनि हुनुहुन्थ्यो ।

कार्यक्रम सकिनेवितिकै जनजाति नेता सुरेश आलेमगरहरुलाई प्रहरीले पक्राउ गर्‍यो । तर, हामी पद्मरत्न दाइसँग उहाँको आफन्तको घरमा गयौं । केहीछिन चियापान गरेर उहाँको सल्लाह अनुसार प्रहरीबाट बच्ने गरी फर्कियौं ।

अर्कोपटक जब माओवादीहरु शान्ति प्रक्रियामा आएका थिए । त्यसबेला माओवादीहरुले आम जनताका बीचमा आफ्ना नीतिहरुको सार्वजनिकीकरण गर्ने अभियान नै चलाएका थिए ।

काठमाडौंको सिद्धार्थ वनस्थली स्कुलमा दलित मुक्ति मोर्चाको आयोजनामा दलित आन्दोलनबारेको नीति सार्वजनिक गर्ने गरी बहस राखिएको थियो । कार्यक्रममा दलित नेता तिलक परियारबाट कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम थियो ।

परियारको कार्यपत्रमाथि टिप्पणी गर्न हामी दलित नेता बाहेक जनजाति तथा मानवअधिकार र नागरिक समाजका अगुवाहरु समेत हुनुहुथ्यो । कार्यक्रममा पद्मरत्न तुलाधरले तिलक परियारको कार्यपत्रमाथिको टिप्पणी गर्दै १०/१० वर्ष जनयुद्ध गरेको दलित नेताको कार्यपत्रको स्तरले जनअपेक्षा बोक्न नसकेको भन्दै उहाँ भावुक मात्र होइन, रुनै थाल्नुभयो । हरेक दलितले आफ्नो मुक्तिको सपना देखेको जनयुद्धको १० वर्षको संश्लेषण खुला पार्टीको जस्तो क्रान्तिकारी नहुने भन्दै उहाँले टिप्पणी गर्नुभएको थियो ।

मैले एकपटक मेरो नेतृत्वमा रहेको राष्ट्रिय दलित नेटवर्कको आयोजनामा आयोजित दलित संसद कार्यक्रममा उहाँलाई आमन्त्रण गरेको थिएँ । सो कार्यक्रममा पनि उहाँ अत्यन्तै भावुक भएर सबै मिलेर ल्याएको प्रजातन्त्र सबैको बनाउन नसक्दाको परिणाम यो ‘दलित संसद’ गर्नुपरेको होला भन्दै रुनुभयो । उहाँले भन्नुभयो, यदि राज्यले हरेकको आवाज सुनेन भने हरेक समुदायले यस्तैखाले विद्रोह गर्ने चुनौति दिनुभएको थियो ।

मानवअधिकारवादी अभियानका अथक योद्धा

सबैजसो सामाजिक आन्दोलनमा सक्रीय पद्मरत्न तुलाधर ०३६ को जनमत संग्रहको परिणामपश्चात जनताको बहुदलप्रतिको विश्वासलाई जगाउन र आन्दोलनलाई थप उचाइमा पुर्‍यााउने अभियानमा सक्रिय हुनुभयो ।

०३७ सालमा नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता पुष्पलालको मृत्यु भारतमा भयो । उनको शव तत्कालीन पञ्चायती सरकारले नेपाल ल्याउन दिएन । नेपाली जनताको नेताको दाहसंस्कार पशुपति आर्यघाटमा गराएरै छोड्ने अठोटका साथ पद्मरत्न सक्रिय हुनुभयो । हजारौं जनसमुदायलाई त्रिभुवन विमानस्थलमा जम्मा हुन आह्वान गरियो । तर, पुष्पलालको अस्तु वीरगञ्ज हुंदै पशुपति आर्यघाटमा ल्याइयो । सो कुराको चालसमेत पाएन तत्कालीन सरकारले । यी सबै प्रक्रियाको अगुवाइ पद्मरत्न दाइले गर्नुभएको थियो ।

मोहनचन्द्र अधिकारीलगायतका राजबन्दीको रिहाइका लागि उहाँको अगुवाइमा ०४१ मा राजबन्दी रिहाई गराउन राजबन्दी विमोचन समिति गठन भएको थियो । त्यसपछि देशव्यापीरुपमा यसखाले कामको नेतृत्व गर्न एक मानवअधिकारवादी संस्थाको आवश्यकता महशुस गर्दै मानवअधिकार संरक्षण मञ्च -मासम) ०४१ श्रावण १३ गते स्थापना गरियो । सो संस्था गठन गर्दा उहाँको ठूलो भूमिका थियो । त्यसैगरी ०४५ मा गठन भएको नेपाल मानवअधिकार संगठनको उहाँ उपाध्यक्ष हुनुभयो । उहाँ ०५४ मा मासमको अध्यक्ष हुनुभयो ।

पद्मरत्न तुलाधरले तत्कालीन नेकपा मालेका पक्षमा अभिव्यक्ति दिएको भन्दै विवादमा ल्याइयो । मासम नेपालको चौथो राष्ट्रिय सम्मेलनमा म पनि प्रतिनिधि थिएँ । तत्कालीन एमाले विभाजनका बेला भएको सम्मेलन विवादरहित हुने कुरै भएन । केही साथीहरु महाधिवेशनको प्रक्रियामा असहमति देखाउँदै हल बाहिर जानुभयो । धेरै प्रयत्न गर्दा पनि सफल नभएपछि पद्मरत्न नै मासमको निर्विरोध अध्यक्ष हुनुभयो । म पनि सो केन्द्रीय समितिको सदस्य तथा सुदुरपश्चिम इञ्चार्जमा निर्वाचित भएँ र उहाँसँग काम गर्ने सौभाग्य प्राप्त भयो ।

उहाँको अगुवाइमा मानवअधिकारको विश्वव्यापी अवधारणाको माध्यमबाट नेपाली जनमत तयार गर्नु, मानवअधिकार पञ्चायत इतर राजनीतिक शक्तिलाई संयुक्त आन्दोलनमा आउन मद्दत पुर्‍याउनु, झापालीलगायत राजबन्दी रिहाईलाई मानवअधिकार आन्दोलनको मुख्य मुद्दा बनाउनु, मानवअधिकार हननको सत्यतथ्य संकलन र त्यसलाई व्यवस्थित किसिमले संग्रह गरी राख्ने कामको शुरुवात गर्नु, नेपाली मानवअधिकार तथा प्रजातान्त्रिक आन्दोलनलाई अन्तराष्ट्रिय आन्दोलनहरुसँग जोड्नु, नेपाली जनआन्दोलनलाई अन्तराष्ट्रिय ऐक्यवद्धताको शुरुवात गर्नु र निश्पक्ष, धाँदलीरहित र स्वतन्त्र निर्वाचनका लागि राष्ट्रिय प्रयवेक्षणको शुभारम्भ गर्नु लगायत मासमका प्रमुख कामहरु थिए । राष्ट्रिय मानवअधिकार आयोग बन्नुपर्छ भनेर उहाँकै अगुवाइमा काठमाडौंमा बाजागाजा सहितको जुलुस निकालिएको थियो ।

लोकतान्त्रिक आन्दोलनका सेतु

पद्मरत्न तुलाधर नेपाली राजनीतिका जिउँदा शहिद अनि हरेक परिवर्तनका साक्षी हुनुहुन्थ्यो । उहाँले हरेक घट्नाक्रमलाई नजिकबाट अध्ययन र अनुभव गर्नुभएको थियो । वि.सं.०४६ सालमा वामपन्थी एवं प्रजातान्त्रिक शक्तिबीच निरकंुश पञ्चायती व्यवस्थाविरुद्ध एक भई आन्दोलन गर्न नसकेको स्थितिमा उहाँकै सहजीकरणमा गणेशमान सिंह र तत्कालीन कम्युनिष्ट पार्टीका नेताहरुलाई एकै थलोमा पुर्‍याउने काममा भएको थियो । यसबाहेक उहाँले ०४६ प्रजातन्त्र र मानवअधिकारको बहालीका लागि खेलेको भूमिका उल्लेखनीय छ ।

त्यसैगरी तत्कालीन नेकपा माओवादीको नेतृत्वमा ०५२ फागुन १ देखि सञ्चालन भएको जनयुद्धका नाममा भएका निर्दोषहरुको हत्या हिंसा, सर्वसाधरणमाथिको ज्यादतिविरुद्ध पद्मरत्न तुलाधरले एक्लैले भए पनि हरेक ठाउँमा एक व्यक्तिको होइन, संस्थाको अर्थात आन्दोलनको भूमिका निर्वाह गर्नुभएको थियो ।

नेपालको राजतन्त्रको जरा उखेल्ने आन्दोलनको एकजना सुत्रधारका रुपमा उहाँलाई लिन सकिन्छ । उहाँले ऐतिहासिक १२ बुँदे सहमति, त्यसअघि रोल्पा बैठक, बृहत शान्ति सम्झौता, नेपालको अन्तरिम संविधान ०६३, विभिन्न सहमति तथा सम्झौताहरुको निर्माण तथा कार्यान्वयनका पक्षमा उहाँको नाम अग्रभागमा आउँछ ।

यसरी हरेक परिवर्तनको पक्षमा र अन्याय अत्याचारका विरुद्ध लडिरहने हाम्रा अग्रज पद्मरत्न तुलाधरको नाम सुनौलो अक्षरले लेखिने छ । समग्रमा ०४६ को संयुक्त जनआन्दोलन निर्माणमा गणेशमान र पद्मरत्नको संयुक्त पहलकदमी ऐतिहासिक थियो ।

शान्तिका अग्रदूत : पद्मरत्न तुलाधर

नेपाली समाजमा रहेका जातीय, लैगिक, वर्गीय तथा क्षेत्रीय विभेदहरुको हल नभई सही मानेमा शान्ति स्थापना हुन सक्दैन भन्ने मान्यतामा पद्मरत्न सधैं दृढ हुनुहुन्थ्यो । उहाँले नेपालका दलित, महिला, मधेसी, मुस्लिम, आदिवासी जनजातिको पक्षमा सधै बोलेकै हुन्थ्यो ।

यही कारणले उहाँमाथि कहिलेकाहिँ जातिवादी भएको आरोपसमेत लाग्ने गर्दथ्यो । ०५२ देखि नै सञ्चालन भएको जनयुद्धका क्रममा भएका ज्यादतिको उहाँले खुलेर विरोध गर्नुभयो । उहाँको एउटै मान्यता थियो जुनसुकै बहानामा पनि मान्छे मार्न पाइँदैन । उहाँले सरकार र माओवादीबीचमा विश्वासको वातावरण बनाउन उल्लेखनीय योगदान गर्नुभएको थियो ।

उहाँले ०५९ सालमा सरकार र माओवादी वार्ताका लागि दबाव समूहमा पनि सदस्य भई काम गर्नुभएको थियो । ०६२ सालमा ‘शान्तिका लागि नागरिक ऐक्यवद्धता’को केन्द्रीय कार्याकारिणी सदस्य हुनुभयो भने पछि नागरिक शान्ति आयोग, शान्तिका लागि सहकार्य, नागरिक आन्दोलनका अगुवा र ०६२ सालमा युद्धविराम नागरिक अनुगमन समितिको सदस्यको जिम्मेवारी कुशलतापूर्वक पूरा गर्नुभयो । उहाँले शान्ति र लोकतन्त्रका लागि नागरिक आन्दोलनका संस्थापक भएर काम गर्नुभयो ।

शान्ति, संविधान र राज्य पुनःसंरचनाका सहजकर्ता

नेपाली राजनीति र समाजको संरचनाप्रति असन्तुष्टि व्यक्त गर्दै तत्कालीन नेकपा माओवादी सशस्त्र युद्धमा होमिएको थियो । एकपटक जातीय भेदभावविरुद्ध राष्ट्रिय मञ्च, जसको अध्यक्ष अहिले म छु, यो संस्थाको संस्थापकको हैसियतले उहाँले दलित, महिला, जनजाति, मधेसी, मुस्लिम, कणर्ालीवासीका तर्फबाट संयुक्त राष्ट्र संघमा बैकल्पिक प्रतिवेदन निर्माण गर्न देशका अधिकांश भागमा पुगेर सुझाव संकलन गर्नुभयो । यस अभियानमा सक्रिय मध्येका उपेन्द्र यादवले त एनकार्डमा आवद्ध संस्थालाई नै पार्टी घोषणा गरेर मधेस आन्दोलनको निर्माण गर्नुभयो ।

पद्मरत्न तुलाधरको संयोजकत्वमा संविधान निर्माणमा जनताको प्रतिक्रिया र भूमिका के छ भन्ने विषयमा सन् १९९९ देखि नै ५ विकास क्षेत्रमा म लगायतका १० जना साथीहरु प्रतिनिधिका रुपमा सक्रिय थियौं । यही रिपोर्टिङका आधारमा हामीले ०६२ मा तयार पारेको संविधानसभामार्फत बन्ने संविधानका अन्तरवस्तु नामक हाते पुस्तिका माओवादी नेता डा.बाबुराम भट्टराईलाई होटल हायातको अति गोप्य कोठामा भेटेर बुझाएका थियौं ।

संविधानसभाको प्रथम निर्वाचनपश्चात त एनकार्डले १४ दिनको नमूना संविधानसभाको आयोजना गरेको थियो । जसमा उहाँको ऐतिहासिक भूमिका थियो । त्यसैगरी उहाँले राज्यको संरचना जाति, भाषा, धर्म, राजनीति, आर्थिक र सामाजिक हिसाबले विभेदकारी भएकाले यसको पुनःसंरचना हुनुपर्छ भन्ने सम्झौताहीन माग लिएर विभिन्न मञ्चमार्फत उठाउनुभएको थियो । यस मुद्दामा उहाँले दलित, जनजाति, मधेसी, मुस्लिम तथा दुर्गम क्षेत्रका जनतालाई जोड्न अत्यन्तै सफल हुनुभयो ।

संविधानसभाको पक्षमा मानवअधिकार र सामाजिक न्यायको झण्डा बोकेर दमाननाथ ढंगाना र उहाँको अगुवाइले दशैभरि काम गर्ने राजनीतिज्ञ, मानवअधिकारकर्मी र संचारकर्मीलाई विश्वास जगाउने काम गरेको थियो । संविधान जारी हुने बेलामा जनजाति आन्दोलन कमजोर जस्तो भएको महसुस गर्दै जनजाति नेताहरुले उहाँकै अध्यक्षतामा जनजाति आन्दोलन गठनसमेत गरेका थिए ।

आवाजविहीनहरुका आवाज

नेपालको हलिया मुक्ति आन्दोलन, वादी समुदायको आन्दोलन, मधेसका मुसहरहरुको आन्दोलन, चमारहरुको बहिस्कार आन्दोलन, बाग्लुङको बालीघरे प्रथाविरुद्धको आन्दोलन, राजधानीको नेवार दलितहरुको आन्दोलन, महिलाहरुको आन्दोलन, दलितहरुको आन्दोलन तथा कमैया मुक्तिको आन्दोलनमा समर्थन मात्र होइन, शासकहरुलाई यसको महसुस गराउने काम उहाँले गर्नुभयो । यसबाहेक महिला मुक्ति, आदिवासी/जनजाति, मधेसी, मुस्लिम, दुर्गमक्षेत्रका जनताको न्यायपूर्ण आन्दोलनमा उहाँको अहम भूमिका रहेको थियो ।

व्यवस्था परिवर्तन तथा लोकतन्त्रको आन्दोलन जस्ता राजनीतिक मुद्दा र काममा सधैं गरिव र पीडितको आवाज बन्दै गरेको कुरामा दुईमत छैन । उहाँ ती आवाजहीनहरुको आवाज बनेर जनपक्षीय उम्मेदवार भएर काठमाडौंबाट सांसद निर्वाचित हुनुभयो । ०४६ को जनआन्दोलनपछि उहाँ श्रम तथा स्वास्थ्यमन्त्री समेत हुनुभयो । त्यसबेला मैले उहाँलाई भेट्ने मौका पाएको थिए । भेटका क्रममा उहाँले मैले के गर्न सक्छु सुझाव दिनु होला भन्नुभएको थियो । उहाँको सुझावका आधारमा मैले १०० जना मधेसी दलित युवाहरुलाई कपाल काट्ने तालिममा एक साथ पठाएको थिएँ । साथै हरेक अस्पतालमा दलितका लागि एक बेड फ्री गर्ने र ठूला बिरामको सरकारले निःशुल्क उपचार गर्नुपर्ने सुझाव दिएको थिएँ ।

काठमाडौंमा पूर्वप्रधानमन्त्री टंकप्रसाद आचार्यको रथयात्राको नेतृत्व उहाँले नै गर्नुभएको थियो । रथयात्रा धर्मभक्त माथेमाको घरबाट शुरुवात गरिएको थियो । यसरी कुनै एक समुदाय वा जाति विशेषका लागि मात्रै होइन, आम नेपाली उत्पीडित समुदायका मागहरु सम्बोधन गर्नेखालको संविधान र स्वामित्व ग्रहण गरेको राज्य पुनःसंरचनाको कुरा उठाउनुभएको थियो

सत्य, त्याग र समर्पणको प्रतिमूर्ति

पद्मरत्न तुलाधरलाई थुप्रै लोभलालच देखाइए होलान्, सबैकुरा उहाँले भन्न सक्नुहुन्थ्यो । उहाँले कुनै पद र प्रतिष्ठासँग लोकतन्त्र र मानवअधिकार अनि सामाजिक न्यायको मुद्दा कहिल्यै साट्नुभएन ।

शान्ति प्रक्रियामा आएपछि नेकपा माओवादीका नेता प्रचण्डले एकपटक मुलुकको प्रथम राष्ट्रपति हुन प्रस्ताव गर्नुभएको थियो । पद्मरत्न दाइले सो पद अस्वीकार गर्दै गणतन्त्रका लागि राजनीतिको मोर्चा समालेका साथीहरुलाई दिनुहोस् भन्दै अस्वीकार गर्नुभयो ।

त्यसैगरी नेकपा एमालेका तत्कालीन महासचिव मदनकुमार भण्डारीको रहस्यमय हत्या भएपछि सो पार्टीका केही युवा नेताहरु पद्मरत्न तुलाधरलाई महासचिवको पद सम्हालेर नेतृत्व गरिदिनुहोस भन्दै प्रस्ताव गर्न आउनुभएको थियो । त्यसबेला पनि उहाँले सुझबुझका साथ महासचिवको पद अस्वीकार गर्नुभयो ।

नेपालमा कम्युनिष्ट पार्टीको स्थापना काठमाडौंजस्तो शिक्षित ठाउँ अनि सचेत नेवार समुदायकाबीचबाट भएको थियो । पद्मरत्न तुलाधर सोही समुदायको सचेत व्यक्तित्व हुनुहुन्थ्यो । त्यसैले उहाँलाई पनि आफू जन्मेको समुदाय र भूमिबाट केही गर्नुपर्छ भन्ने चेत आउनु स्वाभाविक हुन्छ । पद्मरत्न दाइ परिवर्तनका लागि सधै संघर्षरत योद्धाको नाम हो ।

मैले चिनेको र सुनेको पद्मरत्न तुलाधर एक कुशल पत्रकार, कुशल राजनितिज्ञ, मानवअधिकारवादी नेता, द्वन्द्व रुपान्तरणको सहजकर्ता, कुशल संयोजनकारी, आदिवासी जनजाति आन्दोलनका प्रणेता, नागरिक आन्दोलनका अगुवा, वामपन्थी नेताका रुपमा चिन्छु । मैले उहाँसँग ०४६ देखि लगातार मानवअधिकार आन्दोलनमा काम गर्ने सौभाग्य प्राप्त गरें ।

उमेरका हिसाले उहाँ मभन्दा ३० औं वर्ष जेठो भए पनि उहाँले मसँग कहिल्यै जेठोपन देखाउनुभएन । उहाँको नेतृत्व र पथप्रदर्शनले मलाई मानवअधिकार र सामाजिक न्यायको आन्दोलनमा लागिरहन विश्वास जगाएको थियो ।

गत वर्ष उहाँले मासमबाट विदा लिएपछि म मासमको महासचिवका रुपमा उहाँको पथप्रदर्शक अर्थात उत्तराधिकारीको हैसियतमा कार्यरत छु । उहाँ आजको दिनसम्म पनि लोकतान्त्रिक संस्कारलाई पूर्ण सदुपयोग गर्दै प्राप्त भएको परिवर्तनलाई संस्थागत गर्न रातोदिन लाग्नुपर्दछ भन्ने मान्यतामा हुनुहुन्थ्यो । हरेक अन्तरविरोधको समाधान वार्ता अनि वार्ता र वार्ता नै भएको उहाँको विश्वास थियो ।

तर, पद्मरत्न दाइलाई नर्भिक हस्पिटलमा भेट्न जाँदा मैले सधैंझै नमस्ते गर्दा उहाँ गणेशजी भनेर बोल्नुभएन । बोल्दै बोल्नुभएन । उहाँको भरपर्दो सपना र सतिशालजस्तो अठोट लिएर समाज बदल्ने विश्वासका धनी आदरणीय पद्मरत्न तुलाधर दाइप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेर म घरतिर फर्किएँ ।

अलविदा दाइ ।

(नेकपाका नेता बि.के. मासम नेपालका महासचिव हुन्)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment