Comments Add Comment

तिहारमा कुकुरको पूजा किन गरिन्छ ? यस्तो छ धार्मिक कारण

झिलिमिली उज्यालो बत्तिहरु, आँगनमा मगमगाँउदै फूलेका सयपत्री र मखमली फूल, सेलरोटी लगायत विभिन्न प्रकारका स्वादिला मिठाईहरु तथा देउसी भैलोको रोमाञ्चक नाचगानमा मात्रै तिहार पर्वको परिचय सीमित छैन् ।

हिन्दू धर्मावलम्बीहरुले हर्षोल्लासपूर्ण रुपमा मनाउने तिहार दशैं सकिए लगत्तै आँउछ । कात्तिक कृष्ण त्रयोदशी देखि कात्तिक शुल्क द्वितीया तिथिसम्म गरि पाँच दिन मनाइने यस पर्वमा प्रकृति र मानव जीवनसँग जोडिएका विभिन्न जीवहरुको समेत पूजाआजा गर्ने चलन रहेको छ ।

तिहार पर्वको पाँच दिनलाई यमपञ्चक पनि भनिन्छ । यमपञ्चकमा क्रमैसँग काग, कुकुर, गाई, गोरुको पूजा गर्ने गरिन्छ र अन्तिम दिनमा दिदीबहिनीहरुले आफना दाजुभाईलाई टिका लगाइदिइ दिर्घायुको कामना गर्ने गरिन्छ ।

तिहारमा कुकुरको पूजाआजा किन गरिन्छ ?

यमपञ्चकको दोस्रो दिन अर्थात कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुर तिहार मनाईन्छ ।

यो दिनमा प्राचिन कालदेखि नै मानवजातीसँग प्रगाढ र बलियो सम्बन्ध भएको जीवको रुपमा मानिने कुकुरको पूजाआजा गरिन्छ । हिन्दू धर्ममा कुकुरलाई आज्ञापालक र बफादार मानेर विशेष स्थान दिइएको छ ।

हिन्दू धर्मशास्त्रमा कुकुरलाई सुरक्षाकर्मीको साथै यमराजको दूतका रुपमा वर्णन गरिएको छ । मृत्यूपर्यन्त पनि मोक्षको द्वारमा कुकुरले नै पहरा दिएको धर्मशास्त्रमा उल्लेख छ । यस्तै कुकुरलाई भगवान भैरवको बाहनको रुपमा पनि चिनिन्छ ।

मानव सभ्यताको सुरुवात देखिनै कुकुरले हरेक समयमा मानवहरुलाई सहयोग गरेको पाइन्छ । कुकुरले घरको रेखदेख गरेर चोर डाँकाबाट बँचाउने गर्छ । कुकुरको निन्द्रा पातलो हुने भएकाले यो हरक्षण चनाखो हुन्छ र यो थोरै खाएर पनि सन्तुष्ट हुने प्राणिका रुपमा चिनिन्छ ।

कुकुर तिहारको दिन कुकुरलाई पूजाआजा गरि माला लगाइदिने चलन रहेको छ । त्यसपछि कुकुरलाई मन पर्ने खानेकुरा खान दिइन्छ ।

ऋगवेदमा देवकुकुर्नी शरमाले इन्द्रको दूत बनेर असुर व्यापारीहरूसित वार्ता गरेको प्रसङ्ग छ । यस्तै अर्को पौराणिक प्रसङ्गमा शरमाका छाउरालाई सानो गल्तीका कारण यज्ञकर्ताहरूले कुटेकाले कुकुर्नीले उनीहरूलाई श्राप दिएको प्रसंग उल्लेख छ ।

यस्तै महाभारतमा पाण्डवहरू स्वर्ग जाने बेलामा युधिष्ठिरले आफ्नो कुकुरलाई पनि सँगै लिएर स्वर्ग गएको कथा छ । उक्त कथामा कुकुरलाई यमराज वा धर्मराजकै स्वरूपको रुपमा वर्णन गरिएको छ ।

कुकुर तिहारको दिनलाई नरक चतुर्दशी पनि भनिन्छ । यो दिन सबै पाप नाश गर्न नर्के नुहाउने चलन रहेको छ । यस दिन मासको पात खाने चलन पनि रहेको छ । यस दिन मासको पातको साग खाए मानिसका सबै पाप नाश हुन्छ भन्ने विश्वास रहेको छ ।

कुकुर तिहारको दिन कुकुरको पूजाआजा गरी खाना खान दिने मानिसहरुलाई पूण्य प्राप्त हुने धार्मिक विश्वास रहेको छ । त्यसैले कुकुर तिहारको दिनमा आफ्नो घरमा पालेका मात्रै नभई सडकका कुकुरहरुलाई पनि माला लगाइदिइ टिका लगाइदिएर खाना खान दिइन्छ ।

पूजा गरेर माला लगाई खाना खान दिने यस विशेष कार्यले कुकुरलाई मानव सभ्यता र संस्कारमा विशेष महत्व दिएको मान्न सकिन्छ । कुकुर तिहारको दिन मानव समाज र कुकुरहरु बीचको प्रगाढ सम्बन्धको अर्चना गरिन्छ ।

कुकर तिहारको दिन कुकुरलाई खान नदिईकन भोजन गर्ने मानिसले यमराजबाट दण्ड पाँउछन् भन्ने विश्वास रहि आएको छ । त्यसैले यस दिन विहान सबेरै उठेर नित्यकर्म र स्नान गरिसकेपछि कुकरको पूजाआजा गर्ने चलन छ ।

हाम्रो समाजमा कुकुरको किन धेरै महत्व रहेको छ ?

विशेष गरी कुकुरहरु हाम्रो गाँउघरमा सुरक्षा र हेरचाहको लागि पालिने गरिन्छ । गोठहरुमा धेरै पशुपालन गर्ने कृषकहरुले गोठालोको रुपमा पनि कुकुर पाल्ने गर्छन् ।

त्यस्तै कुकुरले प्राकृतिक प्रकोप आउनुपूर्वनै केही समयअगाडि नै थाहा पाउँछ र भुकेर यस्ता कुराहरुको पूर्वसूचना दिने गर्छन् । जति सुकै दुःख कष्ट आइपरे पनि कुकुरले आफ्नो मालिकको साथ छोड्दैन । त्यसैले मानिसले कुकुरलाई आफ्नो भरपर्दो साथीको रुपमा लिने गर्छन् ।

कुकुरलाई आज्ञापालक र रक्षक मात्र मानिँदैन यसले विभिन्न अपराध गर्ने अपराधीहरू पत्ता लगाउने, अध्ययन/अनुसन्धानको कार्यमा पनि सघाउँछ । कुकुरको सुँघ्नसक्ने क्षमता असाधारण हुन्छ । त्यसैले सेना, प्रहरीहरुले अपराधी पत्ता लगाउन पनि तालिमप्राप्त कुकुरको सहायता लिने गर्छन् ।

यमपञ्चकले पृथ्वीमा रहेका सबै जीव जनावरहरुलाई हामीले माया र संरक्षण गर्नुपर्छ भन्ने कुरा सिकाँउछ । त्यसै अनुसार मानवसभ्यताको सुरुवातदेखि नै मानवहरुलाई साथ दिँदै आएको कुकुरलाई विशेष महत्व दिएर पूजाआजा गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment