१९ कात्तिक, काठमाडौं । तिहारको पहिलो दिन आज धनवन्तरी त्रयोदशी, जसलाई धनतेरस पनि भनिन्छ । पञ्चाङ्ग बमोजिम प्रत्येक वर्ष कार्तिक कृष्ण पक्षको त्रयोदशी अर्थात काग तिहारका दिन यो पर्व मनाइन्छ ।
यस दिन कुनै न कुनै धातु घर भित्राउनै पर्ने मान्यता छ जनमानसमा । तिहार एक अवसर पनि हो, धनसम्पति जोड्ने । तिहारमा लक्ष्मी पूजा गरिन्छ, जो धनको प्रतिक हो ।
यही मेसोमा बहुमूल्य धातु लगायत सरसामान, गाडी आदि खरिद गर्ने चलन छ । यसैकारण पनि साेमबार काठमाडौंको सुन्धारा, न्युरोड, खिचापोखरी, असन, भोटाहिटी क्षेत्रका गरगहनाका पसल सञ्चालकलाई पनि भ्याइ नभ्याइ थियो ।
अरु दिनको तुलनामा साेमबारको विक्रिले सन्तुष्ट देखिन्थे उनी । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला ६० हजार र तेजाबी सुन प्रतितोला ५९ हजार ७०० सय रुपैयाँ छ भने चाँदी ७ सय ४५ रुपैयाँ प्रतितोला छ ।

महंगो भएकाले सामान्य उपभोक्ताले सुन, चाँदीका औँठी, सिक्री, सिक्का खरिद गर्दै थिए । अाज साना-साना गरगहनाको विक्रि बढी भएकाे न्युरोडको ऋद्धि सिद्धी ज्वेलर्सका प्रवन्ध सञ्चालक नरेन्द्र कुमार गुप्ताले बताए ।
धनतेरसमा धातु भित्र्याउनै पर्ने मान्यताका कारण न्युरोडका मुख्य सुन पसलदेखि भित्री बजार क्षेत्रमा पनि सर्वसाधारणको भिड रहेको महासंघका पूर्व अध्यक्ष माणिकरत्न शाक्यले बताए ।

धनतेरसलाई लक्षित गरी सुन पसल सञ्चालकहरुले विभिन्न अफर समेत ल्याएकाले उपभोक्ताको आकर्षण बढेको उनको भनाइ छ । औसतमा काठमाडौंमा दैनिक २० किलो सुन खपत हुन्छ ।
तर, आज माग र विक्रि हृवात्तै बढेको छ । साेमबार दिनभरमा ३५ किलो सुन खपत भएको शाक्यको अनुमान छ । तर, यकिन तथ्याकं आउन भने केहि दिन लाग्ने उनले बताए ।


फाेटाेहरूः चन्द्र अाले/अनलाइनखबर
प्रतिक्रिया 4