Comments Add Comment

आजका पत्रपत्रिकाः ‘साइकलमन्त्री’ लालबाबुसँग गाडीको लस्कर

२० कात्तिक, काठमाडौं । संघीय राजधानी काठमाडौंबाट आज प्रकाशित राष्ट्रिय दैनिक पत्रिकामा जीप दुर्घटनामा १० जनाको मृत्यु भएकोदेखि कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले छुट्टै भेला बोलाएको, केन्द्र परिवर्तनको होडबाजीमा स्थानीय तह लागिपरेको सम्मका समाचारले स्थान पाएका छन् ।

त्यसैगरी, देशकै प्रदूषित सहरमा काठमाडौं दरिएको, कतारसँग श्रम सम्झौता नवीकरणका लागि सरकारले तयारी थालेको, सरकारको प्रिन्टिङ मेसिन थन्क्याएर स्मार्ट लाइसेन्स छाप्ने जिम्मा निजीलाई दिइएको लगायत खबरलाई पनि आजका पत्रपत्रिकाहरुले उत्तिकै महत्त्व दिएर पहिलो पृष्ठमा समेटेका छन् । साथमा साइकलमन्त्रीको परिचय बनेका लालबाबु पण्डित गाडीमन्त्रीमा परिणत भएको खबर पनि छ ।

‘साइकलमन्त्री’सँग गाडीको लस्कर

कान्तिपुर दैनिकले आज आफ्नो पहिलो पृष्ठमा प्रस्तावित निजगढ विमानस्थल क्षेत्र निरीक्षण उपसमितिले दिएको सुझावलाई मुख्य समाचारको रुप दिएर छापेको छ । समाचार अनुसार उपसमितिले वन फाँडेर शहर बनाउनु जायज नहुने सुझाव दिएको छ ।

‘घना जंगल फँडानी गरेर शहर बसाउनु आवश्यक छैन’, विमानस्थल अध्ययन उपसमितिका संयोजक माधवकुमार नेपाललाई कोट गर्दै कान्तिपुरले लेखेको छ, ‘कमभन्दा कम क्षतिमा विमानस्थल बनाउनुपर्छ भन्नेमा हामी छौं ।’

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले निर्माण शुरु हुनुअगावै २४ लाख रुख काट्ने तयारी गरेपछि यसको पक्ष र विपक्षमा चर्को बहस भइरहेको छ । उत्पन्न विवादबीच त्यसको निरुपण गर्न उपसमिति टोलीले विज्ञ, सरोकारवाला तथा सम्बन्धित मन्त्रीसँग द्रुतमार्गको माथिमाथि निजगढसम्म पुगेर विमानस्थलको साँधसीमाना हेरेको हो ।

कान्तिपुरमै साइकलमन्त्रीका रुपमा चिनिने लालबाबु पण्डित ‘गाडीमन्त्री’मा परिणत भएको अर्को सामग्री पनि छ ।

सम्पत्ति विवरण बुझाउँदा सवारी साधनका नाममा एउटा साइकल मात्रै उल्लेख गरेका यिनै मन्त्रीको निवासदेखि सचिवालयसम्म गाडीको लस्कर छ ।

मन्त्री नहुँदा सार्वजनिक बस, टेम्पो तथा साइकल प्रयोग गरेका उनै पण्डितले पत्नीदेखि स्वकीय सचिव, निजी सचिव र कार्यकर्तासम्मलाई सरकारी गाडी उपलब्ध गराएको समाचारमा उल्लेख छ । उनको घरायसी काममा समेत सरकारी गाडी, इन्धन र चालक छन् ।

कान्तिपुर लेख्छ– उनी मन्त्रालयले उपलब्धत्र गराएको फोर्डको सुविधायुक्त गाडीमा हुँइकिन्छन्, जसको चालक रमेश लम्साल छन् । यसबाहेक उनलाई गृह मन्त्रालयले बा २ झ १०७५ नम्बरको कार पनि दिएको छ । यो गाडी अधिकांश समय मन्त्रीकै निवासमा हुन्छ । मन्त्रीपत्नी विमला महतले मन्त्रालयकै नाममा रहेको बा १ झ ९८४७ नम्बरको गाडी प्रयोग गरिरहेकी छन् ।

देशकै प्रदूषित शहरमा काठमाडौं पहिलो

नेपालको शहरमध्ये सबैभन्दा बढी प्रदूषित काठमाडौं रहेको राजधानीले लेखेको छ ।

विभाजन पदार्थ अर्थात् पार्टिकुलर म्याटर (पीएम) २ दशमलव ५ का अनुसार काठमाडौंपछि नेपालगञ्ज र दाङ बढी प्रदूषित छ ।

पीएम २ दशमलव ५ अनुसार काठमाडौंमा सोमबार ७६ दशमलव ५ माइक्रोग्राम प्रतिक्युबिक मिटर प्रदूषण रहेको वातावरण विभागको प्रदूषण तथा नियन्त्रण शाखालाई उद्धृत गर्दै राजधानीले खबर लेखेको छ ।

राधजानीमै बिचौलियामार्फत् घुस सेटिङ मिलाएर मालदार अड्डामा कर्मचारी सरुवा हुने गरेकोदेखि कांग्रेस सभापति शेरबहादुर देउवाले विजय गच्छदारलाई उपसभापति बनाउने तयारी गरेकोसम्मका खबर पनि छन् । नेकपाको एकतामा देखिएको भद्रगोललाई राजधानीले एंकर बनाएको छ ।

सरकारको प्रिन्टिङ मेसिन थन्क्याएर निजीलाई जिम्मा

स्मार्ट लाइसेन्स छपाइ बेथितिबारे कारोबारले आज खोजबिन गरेको छ । सरकारले आफ्नो प्रिन्टिङ मेसिन थन्क्याएर स्मार्ट लाइसेन्स छपाइको जिम्मा निजीलाई दिएको छ ।

समाचार अनुसार सरकारले निजी कम्पनी मालिका इन्कर्पोरेट प्रालिलाई थर्मल प्रिन्टिङ विधिबाट ५ लाख कार्ड ४५ दिनभित्र प्रिन्ट गर्नेगरी सम्झौता गरेको हो । उसले कार्ड छपाइसमेत शुरु गरिसकेको समाचारमा उल्लेख छ ।

११ वर्षमा ९१ हजार दुर्घटना, २० हजारको ज्यान गयो

११ वर्षमा भएका ९१ हजार दुर्घटनामा २० हजारले ज्यान गुमाएका छन् ।

नयाँ पत्रिका दैनिकका अनुसार दुर्घटनाको दर घट्नुको साटो हरेक वर्ष बढ्दै गइरहेको छ । मृतकको संख्या पनि दुर्घटना जस्तै बढिरहेको छ ।

सडक इन्जिनियरिङको असफलतालगायत कारणले दुर्घटना भइरहे पनि यसमा राज्य गम्भीर नदेखिएको विश्लेषण नयाँ पत्रिकाले गरेको छ । नयाँ पत्रिका लेख्छ– जीवनको मूल्य समान हो । तर हवाई दुर्घटनाको छानबिन गर्ने सरकारले सडक दुर्घटनाको भने बेवास्ता गर्ने गरेको छ ।

नयाँ पत्रिकाकै पहिलाे पृष्ठमा रामचन्द्र पाैडेल पक्षले छुट्टै भेला गरेकाे , राजपा महामन्त्रीलार्इ भ्रष्टाचार मुद्दा लागेकाेलगायत समाचार छापेकाे छ ।

१० जनाको ज्यान जानेगरी भएको डोल्पा जीप दुर्घटनाको खबरलाई मुख्य समाचार बनाएर छापेको अन्नपूर्णले स्थानीय तहमा देखिएको केन्द्र परिवर्तनको होडबाजीलगायत विषयमा समाचार लेखेकाे छ ।

नागरिकमा तिहार लाेडसेडिङमुक्त हुने समाचार छ भने गाेरखापत्रले प्रस्तावित निजगढ विमानस्थलकाे निरीक्षणमा गएकाे उपसमितिले हेलिकप्टरबाट त्यसकाे अनुगमन गरेकाे लेखेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment