Comments Add Comment

नेपाल सम्वत परोपकारी भावना स्मरण गर्ने दिनः प्रधानमन्त्री

२२ कात्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सम्वतका प्रवर्तक एवम् राष्ट्रिय विभूति शंखधर साख्वा शताब्दीऔं पछि स्मृतिमा जीवित रहेको बताएका छन् ।

नेपाल संवतको नयाँ वर्ष ११३९ का अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । साख्वा कै योगदानका कारण नेपाली समाजको गौरवशाली विगत र मूल्य मान्यतालाई अक्षुण्य राख्नसमेत नेपाल सम्वतले झकझक्याउँदै आएको प्रधानमन्त्रीको भनाइ छ ।

नेपाल सम्वतको सुरुआतको घटना पनि हामी सबैका लागि प्ररणादायी रहेको प्रधानमन्त्री ओलीले बताएका छन् । उनले नेपाल सम्वतलाई परोपकारी भावना स्मरण गर्ने दिनको रुपमा समेत ब्याख्या गरेका छन् ।

राष्ट्रिय विभूति शंखधर साख्वाःले ११३८ वर्षअघि ऋणमा बाँधिएका गरिब किसानहरुलाई आफ्नै सम्पत्ति खर्च गरी ऋण मुक्त गराएको प्रसंग छ । सोही दिनदेखि उनले नेपाल सम्वत् चलाएको बताइन्छ । ‘नेपाल सम्वतले हामीलाई हरेक वर्ष नेपाली संस्कृतिमा विद्यमान परोपकारी भावना स्मरण गराउँदै आएको छ,’ प्रधानमन्त्री ओलीको शुभकामना सन्देशमा लेखिएको छ ।

उनले नेपाल सम्वत् ११३९ को प्रारम्भको अवसरमा स्वदेश तथा विदेशमा रहने सम्पूर्ण नेपाली दिदीबहिनी, दाजुभाइमा सुख, शान्ति एवं समृद्धिको शुभकामना व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment