Comments Add Comment

नेपाल संवतको अवसरमा पोखरामा बृहत भिन्तुना र्‍याली

२२ कात्तिक, पोखरा । नेपालीको मौलिक तथा राष्ट्रिय सम्वत नेपाल सम्वत ११३९ को स्वागतार्थ पोखरामा विहीबार बृहत भिन्तुना र्‍याली निकालिएको छ । नेवा खलः कास्कीको आहृवान तथा तेर्सापट्टी कचा खलः, तेर्सापट्टी मिसा पुचः र तेर्सापट्टी ल्याम्हः पुचःको संयुक्त आयोजनामा न्हुँ दया भिन्तुना र्‍याली निकालिएको हो ।

नेपाल सम्वतको स्वागतार्थ भिन्तुना र्‍याली निकाल्ने चलनको शुरुवातकर्ता तथा आदिवासी जनजातिका अगुवा पद्मरत्न तुलाधरको निधनको शोकमा काठमाडौंमा भिन्तुना र्‍याली ननिकाले पनि पोखरामा भने भव्य रुपमा र्‍याली निकालिएको हो । भिन्तुना र्‍याली निकाल्दा तुलाधर प्रति झनै सम्मान र श्रद्धा बढ्ने विश्वासका साथ र्‍याली निकालिएको नेवा खलः कास्कीका अध्यक्ष अशोक पालिखेले जानकारी दिए ।

नेवार समुदायमा प्रचलित म्हः पुजाको दिनदेखि नेपाल सम्वतको नयाँ बर्ष प्रारम्भ हुने हुँदा नेपाल सम्वतको स्वागतार्थ हरेक बर्ष पोखरामा भिन्तुना र्‍याली निकालिन्छ । र्‍यालीमा झाँकीसहित विभिन्न जाति जनजातिहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

र्‍यालीमा सहभागीहरुले न्हुँ दया भिन्तुना लेखिएको ब्यानर, प्लेकार्ड तथा नेपाल सम्वतका प्रवर्तक संखधर साख्वाको फोटो राखेको प्लेकार्ड बोकेका थिए । कार्यक्रममा नेवार समुदायका पुरुषले दौरा सुरुवाल (कोथ्य लः) र महिलाले हाकुपटासी लगाएका थिए । पोखरामा नेवारी भेषभूषा लगाएर कार्यक्रममा सहभागी बिरलै मात्र देख्न सकिन्छ । जुन विहीबारको भिन्तुना र्‍यालीमा देखियो ।


कार्यक्रममा विभिन्न सांस्कृतिक झाँकी प्रदर्शन गरिएको थियो भने नेवारी संस्कृति झल्कने लाखे तथा लाठी नाचसहित मुरली बजाउँदै सहभागी भएका थिए । आफ्नो मौलिक पहिचान झल्काउँदै संस्कृति संरक्षण गर्ने उद्देश्यले नेपाल सम्वतको अवसरमा नेवारी संस्कृति प्रदर्शन गरिएको नेवाः खल कास्कीका उपाध्यक्ष तथा संस्कृतिकर्मी तीर्थ श्रेष्ठले बताए ।

र्‍यालीमा नेवारबाहेक गुरुङ, मगर, थकाली, तामाङ, हृयोल्मो, क्षेत्री, ब्राहृमण समुदायको पनि सहभागीता थियो ।

पोखराको पुरानो टुँडिखेलबाट शुरु भएको र्‍याली बिन्ध्यबासिनी, मोहरियाटोल, भीमसेनटोल हुँदै नेवा छेँ भवनमा पुगेर शुभकामना आदानप्रदान कार्यक्रममा परिणत भएको थियो ।

संखधर साख्वाको शालिक अनावरण

यसैबीच, नेवा छेँ भवन प्राङ्गणमा निर्माण गरिएको नेपाल सम्वतका प्रवर्तक तथा राष्ट्रिय विभूति संखधर साख्वाको शालिकको अनावरण गरिएको छ । शालिकको कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले पर्दा हटाएर अनावरण गरे । सो अवसरमा प्रमुख जिसीसहित नेवा खलः कास्कीका अध्यक्ष अशोक पालिखे, उपाध्यक्षद्वय गणेशबहादुर श्रेष्ठ, तीर्थ श्रेष्ठलगायतले शालिकमा माल्यार्पण गरेका थिए ।


समापन कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले नेपाली मौलिकता मासिएमा नेपाली जाति र संस्कृति पनि मासिने चेतावनी दिए । उनले सामाजिक सद्भावका लागि संस्कृति महत्वपूर्ण हुने बताउँदै यसैको माध्यमबाट समृद्धीसमेत हाँसिल गर्न सकिने बताए । उनले संस्कृतिलाई आधुनिकताको नाममा बढी रिमिक्स गर्न नहुने धारणा व्यक्त गरे ।

तमु धिँ नेपालकी अध्यक्ष कर्मा तमुले नेपाल सम्वतलाई नेपाली क्यालेण्डरमै उल्लेख गर्नुपर्ने र यो सम्वतलाई सवैले स्वीकार्नुपर्ने बताइन् । नेवा खल कास्कीका उपाध्यक्ष तीर्थ श्रेष्ठले नेपालको पुरानो सम्वत नेपाल सम्वतलाई व्यवहारिक प्रयोगमा ल्याउनुपर्नेमा जोड दिए ।

यसैबीच, न्हुँ दयाः भिन्तुना र्‍यालीमा कुडहर नेवाः कचः खल प्रथम भएको छ । प्रतियोगितात्मक रुपमा भएको र्‍यालीमा नेपाल राष्ट्रिय खड्की समाज दोश्रो र तेर्सापट्टी नेवाः पुचः तेश्रो भए । र्‍यालीमा झाँकी सहित भेषभूषामा सजिएका ३२ वटा समुहले सहभागिता जनाएको र्‍याली निणर्ायक संयोजक सुविन्द्र श्रेष्ठले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment