Comments Add Comment

बार्सिलोनालाई अबको खेलमा मेस्सीको आवश्यकता !

२२ कात्तिक, काठमाडौं । ला लिगामा सेभिल्लासँगको खेलमा घाइते भएका लियोनल मेस्सी अहिले चोटमुक्त छन् ।

मेस्सी नहुँदा बार्सिलोनाले च्याम्पियन्स लिगमा इन्टर मिलानसँगको एक खेल २-० ले जित्यो भने अर्को खेल १-१ को बराबरी भयो । ला लिगामा रियल मडि्रडलाई ५-१ ले र रायो भालेकानोलाई ३-२ ले हरायो ।

च्याम्पियन्स लिगको इन्टर मिलानसँगको दोस्रो खेलमा मेस्सी लगभग ठीक भइसकेका थिए । अभ्यासमा पनि उनको उपस्थिति राम्रो थियो । मेस्सीलाई खेलाउने तयारी गरेको भए पनि प्रशिक्षक एर्नेस्टो भालभर्देले जोखिम मोलेनन् ।

एउटा हात जोगाएर अभ्यासमा लागेका मेस्सीलाई मिलान किन लगियो भन्नेमा लामो बहस पनि भएको थियो । हुन त मेस्सीलाई अहिले खेलाएर चोट बल्झिँदा हुनसक्ने लामो पर्खाइलाई भालभर्देले पनि बुझेका थिए ।

च्याम्पियन्स लिगमा भन्दा पनि मेस्सीको खाँचो ला लिगामा नै आइतबार हुने रियल बेटिससँगको र अर्को हप्ता हुने एथ्लेटिको मडि्रडसँगको खेलमा महत्वपूर्ण रहेको भालभर्दे बताउँछन् ।

मेस्सी नुहँदा बार्सिलोनाको नतिजा राम्रै देखिए पनि टिममा उत्कृष्ट लय भने छैन । मेस्सी नुहँदाको पहिलो खेलमा राफिन्हा र लुइस स्वारेज चम्किए । दोस्रो खेलमा मड्रिडविरुद्ध त टिमकै प्रदर्शन उत्कृष्ट रहृयो । स्वारेजले हृयाट्रिक नै गरे ।

त्यसपछिको खेलमा रायो भालेकानोसँग भने मेस्सीको कमी खट्किएको थियो । लुइस स्वारेजले १० औं मिनेटमा नै अग्रता दिलाएको भए पनि ८७ औं मिनेटसम्म बार्सिलोना २-१ ले पछि परेको थियो । अन्तिममा खेल ३-२ ले जितेपनि सोचेजस्तो खेल भएन ।

च्याम्पियन्स लिगमा इन्टर मिलानसँग १-१ को बराबरी हुँदा पनि पोस्टमा पुगेका धेरै अवसर खेर गएको थियो । माल्कोमले बार्सिलोनाको साख जोगाएको खेलमा डेम्बले, स्वारेज, कोउटिन्हो कसैले अवसर सदुपयोग गर्न सकेनन् ।

सबै खेललाई हेर्दा मेस्सीबिना पनि टिमले एकढिक्का भएर प्रदर्शन भने गर्‍यो । च्याम्पियन्स लिगमा अर्को चरणमा पुगिसकेको बार्सिलोना ला लिगामा ३ अंकले पहिलो स्थानमा छ । आइतबार रियल बेटिससँगको खेल अग्रता बढाउन महत्वपूर्ण छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment