Comments Add Comment

झिमरुक नदीको मुहान गौमुखीमा मिडिया सम्मेलन हुने

२३ कात्तिक, प्यूठान । धार्मिक तथा पर्यटकीय गन्तव्य गौमुखीको प्रवर्द्धनका लागि प्यूठानमा ‘गौमुखी मिडिया सम्मेलन’ हुने भएको छ । नेपाल पत्रकार महासंघ जिल्ला शाखा प्यूठान र गौमुखी गाउँपालिकाको संयुक्त आयोजनामा आगामी मंसिर १४ र १५ गते गौमुखीमा मिडिया सम्मेलन हुन लागेको हो ।

झिमरुक नदीको उद्गम स्थल गौमुखीको प्रचार प्रसारका लागि मिडिया सम्मेलन गर्न लागिएको पत्रकार महासंघ प्यूठानका अध्यक्ष महावीर रानाले बताए । ‘प्यूठान पर्यटनको प्रसस्त सम्भावना भएको जिल्ला हो,’ उनले भने, ‘प्रमुख पर्यटकीय गन्तव्य स्वर्गद्वारीको मिडिया सम्मेलनपछि गौमुखीमा गर्न लागेका हौं ।’ २०७३ मा स्वर्गद्वारी मिडिया सम्मेलन भएको थियो ।

सम्मेलनमा पत्रकारहरु, पर्यटन क्षेत्रमा क्रियाशिल सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधि, पर्यटन व्यवसायी, पर्यटन तथा संस्कृतिविद लगायतको जमघट हुने आयोजकले जनाएको छ । सहभागीहरुले गौमुखीको अध्ययन अवलोकन गर्नेछन् । त्यहाँ हुने अन्तरक्रिया कार्यक्रममा गौमुखी पर्यटन क्षेत्रको प्रवद्र्धनका लागि हुँदै आएका प्रयास, सम्भावना, मिडियाकर्मीको भूमिका विषयमा कार्यपत्रहरु प्रस्तुत हुनेछन् ।

‘पर्यटन प्रवद्र्धनका लागि सरोकारवालाहरुको मिलन, गौमुखी मिडिया सम्मेलन’ भन्ने मूल नाराका साथ हुने कार्यक्रममा स्थानीय कला संस्कृतिको समेत प्रदर्शन गरिनेछ । गौमुखीको पर्यटन सम्भावनासँगै यहाँ स्थानीय उत्पादन र जीवन शैलीको समेत प्रवद्र्धन गरिने गौमुखी गाउँपालिकाका अध्यक्ष विष्णु कुमार गिरीले बताए । गौमुखी गाउँपालिकाको अर्खा ठूलाचौरमा हुने सम्मेलनका सहभागीहरुलाई कोदोको ढिँडो, मकै, भट्ट, फापरको रोटी, सिलटिमुरको अचार लगायत स्थानीय परिकार खुवाइने गाउँपालिकाका अध्यक्ष गिरीले बताए ।

उनले गौमुखी प्रशस्त पर्यटकीय सम्भावना बोकेको क्षेत्र भएको बताए । ‘दाङको भालुवाङ, प्यूठानको बाग्दुला हुँदै बाग्लुङको भिमगिठे जोड्ने स्तरीय सडक निर्माणका लागि संघीय सरकारले २ सय करोडको टेण्डर गरिसकेको छ,’ अध्यक्ष गिरीले भने, ‘ढोरपाटन क्षेत्रसँग जोडिएको गौमुखी, सडक निर्माणसँगै पोखरासँग जोडिने भएकाले पर्यटकीय सम्भावना बोकेको क्षेत्र हो ।’

प्रचार प्रसारले ओझेलमा परेको गौमुखीको पर्यटन प्रवद्र्धनका लागि मिडिया सम्मेलन शुरुवाती कोशेढुंगा हुन सक्ने उनले उल्लेख गरे ।

कहाँ छ गौमुखी ?

प्राकृतिक तथा सांस्कृतिक सम्पदाले सम्पन्न गौमुखी प्यूठानको उत्तर–पूर्व गौमुखी गाउँपालिका वडा नं. २, गुल्मी तथा वाग्लुङ जिल्लाको उत्तर–पश्चिम क्षेत्रमा अवस्थित छ । झिमरुक नदीको उदगमस्थल यस स्थानको गुफाको कुनामा रहेको गाईको मुख जस्तो आकारबाट छङछङ गरी पानी निक्लने हुँदा यसलाई गौमुखी भनिन्छ । यस स्थानलाई पवित्र धार्मिक एवं सांस्कृतिक थलो मानि हजारौ भक्तजनहरु आउने गर्दछन् । माघे संक्रान्तिको अवसरमा यहाँ विशेष मेला लाग्ने गर्दछ ।

एकान्त स्थलमा अवस्थित गुफाको आसपासमा झुलेका लालीगुँरास, डाँफे र मुनाल, हिउँले सजिएको पञ्चासेको लेक आदि प्राकृतिक छटाले सुसम्पन्न अवस्थामा रहेको गौमुखी पुग्न जिल्ला सदरमुकाम खलंगाबाट करिव ४० किलोमिटरको कच्ची सडक र करिव एक घण्टाको पैदल यात्रा गर्नुपर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment