Comments Add Comment

म्यानचेस्टर डर्बी : अंक मात्र होइन आत्मविश्वासको जित !

काठमाडौं । इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडमा प्रशिक्षक सर एलेक्स फर्गुसनको एउटा समय थियो, साना क्लब त भइ नै हाले ठूला भनिएका क्लब पनि खेलअघि एकपटक झस्कन्थें । अहिले त त्यो इतिहास नै बनिसक्यो ।

ट्युरिनमा गएको बुधबार राति म्यानचेस्टर युनाइटेडले धेरैपछि सम्झनलायक जित निकाल्यो । च्याम्पियन्स लिगमा युभेन्टसलाई २–१ ले हराएपछि युनाइटेड धेरैपछि जितका कारण चर्चामा आयो ।

उक्त जितलाई १९९९ पछि युरोपियन फुटबलमा अन्तिम पाँच मिनेटमा उलटपुलट भएको खेलका रुपमा युनाइटेडको सम्झना गरियो । १९९९ को च्याम्पियन्स लिग फाइनलमा छैठौं मिनेटमा बायर्न म्युनिखले गरेको गोललाई पछि पार्दै इन्जुरी समयमा दुई गोल गरेर म्यानचेस्टर युनाइटेडले हराएको थियो ।

यो सिजन प्रिमियर लिगमा ११ खेलमा ६ खेलमा जित, दुई बराबरी र तीन हारका साथ म्यानचेस्टर युनाइटेड आठौं स्थानमा छ । आइतबार राति सवा १० बजे म्यानचेस्टर सिटीविरुद्धको खेल युनाइटेडको परीक्षा नै हो ।

अपराजित रहेको युभेन्टसलाई च्याम्पियन्स लिगमा हराएर बलियो मनस्थितिमा रहे पनि युनाइटेडको प्रिमियर लिग सुखद भइरहेको छैन । उत्कृष्ट नयाँ खेलाडी ल्याउन नसक्नु साथै कप्तान र प्रशिक्षक विवाददेखि अनेक झमेलाले युनाइटेडको खेल उत्कृष्ट नदेखिएको हुनसक्छ ।

कुनै समय थियो, लिगको पुछारतिर हुने क्लबलाई म्यानचेस्टर युनाइटेडले ७/८ गोल हानिरहेको देखिन्थ्यो । तर, अहिले युनाइटेडले प्रिमियर लिग खेलमा पाँच गोल नगरेकै साढे पाँच वर्ष भयो ।

सन् १९९० को दशकमा म्यानचेस्टर युनाइटेडले १६ पटक पाँचभन्दा बढी गोल गरेको थियो । २००० देखि २०१३ सम्म २८ पटक एकै खेलमा पाँच भन्दा बढी गोल गरेको युनाइटेडले त्यसपछि कुनै खेलमा पनि त्यो लय देखाएको छैन । जुन २०१३ पछिको समयमा म्यानचेसटर सिटीले २१ पटक एकै खेलमा पाँच भन्दा बढी गोल गरिसकेको छ ।

यो सिजन प्रिमियर लिगमा वेस्ट ह्यामसँग ३–१ ले, ब्राइटनसँग ३–२ ले र टोटनह्यामसँग ३–० ले हारेको म्यानचेस्टर युनाइटेडले वुल्भ्स र चेल्सीसँग बराबरी खेलेको छ । आइतबार राति सिटीलाई हराउन सके युनाइटेडले तीन अंक मात्रै होइन, गुमेको आत्मविश्वास पनि जित्नेछ ।

म्यानचेस्टर सिटी यो सिजन प्रिमियर लिगमा ११ खेलमा ९ जित र दुई बराबरीसहित शीर्ष स्थानमा छ । प्रशिक्षक पेप गार्डिओला आफ्नो टिमसँग विश्वस्त पनि छन् ।

सबै प्रतियोगितामा गरेर म्यानचेस्टर सिटीले गएको तीन खेलमा १८ गोल गरेको छ भने म्यानचेस्टर युनाइटेडले ६ गोल गरेको छ । यसैले प्रिमियर लिगमा ९ अंकले पछि रहेको जोस मोउरिन्होको युनाइटेडले सिटीलाई हराउन सके म्यानचेस्टर डर्बीको जित उत्सवमात्रै होइन अरु धेरै कुरा पाउने छ ।

हुन त सिटी प्रशिक्षक गार्डिओलाले प्रिमियर लिगमा युनाइटेडसँगको खेल सधैँ महत्वपूर्ण हुने भए पनि यसभन्दा पछिको खेलले धेरै अर्थ राख्ने बताएका छन् । ‘दाबेदारसँगको खेल जहिल्यै महत्वपूर्ण हुन्छ, किनकी हामीले जितेपछि उनीहरु हार्छन् ! तर योभन्दा महत्वपूर्ण उनीहरुको दोस्रो भेटमा हुनेछ जतिबेला जितले प्रिमियर लिगकै विजेतामा ठूलो अर्थ राख्नेछ ।’

म्यानचेस्टर युनाइटेडका प्रशिक्षक मोउरिन्होले आफूहरुले सुरुवात राम्रो गरेर केही समय रोक्नुपर्ने बताउँछन् । ‘हामीले पहिले गोल खाएमा खेलमा फर्कन अप्ठेरो हुने छ । यसैले टिमले सुरुवातदेखि नै राम्रो गर्नुपर्ने छ । पछि लयमा आए पनि सुरुवात खराब भयो भने सिटीसँग मुस्किल हुन्छ ।’

मोउरिन्होले भनेजस्तै प्रिमियर लिगमा युनाइटेडले यो सिजन धेरै गोल खाइरहेको छ । ११ खेलमा नै १८ गोल खाइसकेको युनाइटेडले सिटीसँग दुई गोल खाएमा १९६६ को कीर्तिमान तोडिने छ । जतिबेला युनाइटेडले १२ खेलमा २१ गोल खाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment