Comments Add Comment

विदेशबाट फर्किएकालाई सीप अनुसारकाे उद्यम गर्न १० लाख कर्जा

२६ कात्तिक, काठमाडौं । वैदेशिक रोजगारीमा सिकेको सीप अनुसार स्वदेशमै व्यवसाय गर्न चाहनेलाई सरकारले १० लाख रुपैयाँ कर्जा दिन थालेको छ ।  आर्थिक वर्ष २०७५/७६ मा बजेटमा व्यवस्था गरे अनुसार सरकारले कर्जा दिन थालेको हो ।

‘सहुलियतपूर्ण कर्जाका लागि व्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि, २०७५’ स्वीकृत भइ कार्यान्वयनमा आएसँगै राष्ट्र बैंकले ११ कात्तिकमा नै बैंक तथा वित्तीय संस्थाहरुलाई परिपत्र गरेको थियो ।

राष्ट्र बैंकले विदेशबाट फर्किएर व्यवसाय कर्जा लिन चाहनेहरुलाई पायक पर्ने शाखाबाट सेवा लिन आग्रह गरेको छ भने सेवा उपलब्ध गराउन पनि बैंक तथा वित्तीय संस्थाहरुलाई परिपत्र गरिसकेको छ । विदेशमा सिकेको सीप अनुसारको व्यवसाय वा उद्यम गर्न सरकारले चालु आर्थिक वर्षको बजेटमा १० लाख रुपैयाँ दिने योजना समावेश गरेको थियो ।

कर्जाका लागि नेपाल राष्ट्र बैंकले आफ्नाे नजिकैको शाखाबाट सुविधा लिन सेवाग्राहीलाई आग्रह गरेको छ ।  कार्यविधि अनुसार वैदेशिक रोजगारीबाट फर्किएका युवाहरुले आफूले सिकेको सीपसँग सम्बन्धित व्यवसाय वा उद्यम गर्न परियोजना धितो राखेर वैदेशिक रोजगारीबाट फर्केका युवा परियोजा अन्तर्गत कर्जा लिन सक्नेछन् ।

कर्जा लिन राहदानी, भिसाको प्रतिलिपि तथा श्रम स्वीकृति प्राप्त भएको देशबाट फर्केकाको हकमा त्यसको प्रतिलिपि, आफू ६ महिना कुनै देशमा सम्वन्धित तालिम, पेशा व्यवसाय, क्षेत्रमा काम गरेको कागजात र कुनै पनि देशको स्थायी बसोवास स्वीकृति नभएको स्वःघोषणा गर्नुपर्ने भनिएको छ ।

वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति प्राप्त गरेका वा नगरी कुनै पनि देशमा कम्तीमा ६ महिना सम्वन्धित तालिम, पेशा, व्यवसाय वा क्षेत्रमा काम गरी स्वदेश फर्केको व्यक्तिले यस्तो कर्जा पाउने व्यवस्था कार्यविधिले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment