Comments Add Comment

आफ्नै विद्यार्थीको उपचारमा मेडिकल कलेजले लापरवाही गरेको पुष्टि

२६ कात्तिक, बुटवल । आफ्नै विद्यार्थीको उपचारमा भैरहवाको मेडिकल कलेजले लापरवाही गरेको छानबिन समितिले ठहर गरेको छ ।

युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज भैरहवामा बीडीएस तेस्रो वर्षमा अध्ययनरत २४ वर्षका महादेव शाहको गत साउन २० गते मृत्यु भएको थियो ।

मृत्युपछि उपचारमा कलेजले लापरवाही गरेको दावी गर्दै विद्यार्थी आन्दोलित भएपछि छानबिन समिति बनेको थियो । घटनाबारे छानबिन गर्न जिल्ला प्रशासन कार्यालय रुपन्देहीले लुम्बिनी अञ्चल अस्पतालका मेडिसिन विभाग प्रमुख डा. विष्णु पौडेलको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो ।

उक्त समितिले करिब तीन महिना लगाएर तयार गरेको प्रतिवेदनले शाहको मृत्युमा मेडिकल कलेजले हेलचेक्र्याई गरेकाले मृत्यु भएको ठहर गरेको हो । प्रतिवेदनले मेडिकल कलेजलाई आगामी दिनमा उपचारमा हुनसक्ने कमी कमजोरी सुधार गर्न र शाहको परिवारमा हुन गएको अपुरणीय पारिवारिक क्षतिलाई मनन् गरी प्रचलित कानुनबमोजिम राहत दिनुपर्ने सुझावसमेत दिएको छ ।

बिरामीको चिरफार गरिएको घाउ अत्यन्त संवेदनशील स्थानमा रहेको र त्यसले बिरामीलाई पर्ने असरको बारेमा अस्पताल सजग नभएको प्रतिवेदनमा उल्लेख गरिएको संयोजक डा. विष्णु पौडेलले जानकारी दिए । पेट र छाती दुखेर इमर्जेन्सीमा चेकजाँच गराएका शाहको ईसीजी रिपोर्टमा मुटुमा समस्या भएको देखिए पनि बिरामीलाई डिस्चार्ज गरेका कारण मृत्यु हुन गएको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनले मुटुमा समस्या देखिएका शाहलाई निगरानीमा राखेर थप उपचार गराउनुपर्नेमा डिस्जार्च गर्दा मृत्यु भएको ठहर गरेको छ । समितिले दिएको प्रतिवेदन र मेडिकल कलेजलाई दिइएको पत्रको बोधार्थ स्वास्थ्य मन्त्रालयमा समेत पठाइएको छानबिन समितिका संयोजक डा. पौडेलले जानकारी दिए ।

गत साउन १४ गते पिलोको अपरेसन गरेका शाह केही दिनपछि छाती दुख्ने लगायतका सम्स्या देखिएपछि साउन १८ गते पुनः मेडिकल कलेजको इमरजेन्सीमा भर्ना भएका थिए ।

शाहको इसिजी रिपोर्टमा मुटुमा समस्या देखिए पनि चिकित्सकहरूले ग्याष्ट्रिकको औषधि दिएर पठाएका कारण बिरामीको मृत्यु भएको भन्दै कलेजमा आन्दोलन र तोडफोड भएको थियो ।

मेडिकल कलेजका प्रशासकीय अधिकृत सुशील गुरुङले छानबिन समितिको प्रतिवेदनलाई आत्मसात गरी आगामी दिनमा कलेजले गर्नुपर्ने सुधारमा कुनै सम्झौता नगर्ने अनलाइनखबरलाई बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment